सुदूरपश्चिममाथि आर्मीको शान

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौ । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि १६९ रनको सानदार जित हात पारेको छ । शुक्रबार भएको खेलमा जितको लागि २८३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २९.४ ओभरमा सबै विकेट गुमाएर ११३ रनमै रोकियो । सुदूरका वसन्त खत्रीले ३७ बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक २५ रन जोड्नुभयो । यस्तै, गजेन्द्र भण्डारी १७ र टेक रावल १५ रनबाहेक अन्यको सम्झनलायक प्रदर्शन भएन ।

त्यसबाहेक कप्तान राजु रिजाल दुई, वीरेन्द्रनाथ शून्य, मिलन बोहरा १२, वसन्त कार्कीले १४ र नारायण जोशीले ४२ बलमा एक चौकासहित १९ रन थप्नुभयो । आर्मीका जितेन्द्र मुखियाले ६.४ ओभरमा एक मेडनसहित २३ रन खर्चेर तीन तथा विक्रम सोब र साहब आलमले दुई-दुई विकेट लिनुभयो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २८२ रन बनायो । आर्मीका ओपनर अर्जुन साउदले ७३ बलमा ६ चौका र दुई छक्कासहित सर्वाधिक ७३ रन बनाउनुभयो । त्यसबाहेक रोहित पौडेलले ५३ बलमा चार चौकासहित ५२ रन थप्नुभयो ।

आर्मीको दोस्रो विकेटका लागि भीम सार्की र अर्जुनले ९६ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाउनुभएको थियो । भीम ६२ बलमा तीन चौकासहित ३४ रनमा मिलन बोहराको बलमा कट एण्ड बोल्ड आउट हुनुभयो ।

कुशल मल्लले २६ बलमा पाँच छक्कासहित ४३ र सोनु तामाङ १२ बलमा दुई चौकासहित १६ रन रन थप्नुभयो । सुदूरका हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहराले दुई-दुई विकेट लिनुभयो । शेर मल्ल र मिलन बोहराले एक-एक विकेट लिनुभयो । आर्मी पहिलो खेलमा एपीएफसँग ५६ रनले पराजित भएको थियो । आर्मीले अब आइतबार गण्डकीसँग मूलपानीमा खेल्नेछ । सुदूरको यो लगातार तेस्रो हार हो । यो हारसँगै सुदूर समूह ‘ए’ बाट बाहिरिएको छ । सुदूरपहिलो खेलमा गण्डकीसँग ६९ रन र एपीएफसँग १० विकेटले पराजित भएको थियो । सुदूरले आफ्नो अन्तिम खेल सोमबार कर्णालीसँग मूलपानीमा खेल्नेछ ।

प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी कूल १० टोलीको सहभागिता छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेस र प्रदेश एक छन् । आयोजक नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रधानमन्त्री कपको विजेताले १० लाख र उपविजेता टोलीले पाँच लाख पाउनेछन् । सेमिफाइनलमा पुग्ने टोलीले ५०–५० हजार पाउनेछन् । त्यस्तै प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिता उत्कृष्ट ब्याटर र बलरले समान २० हजार पाउनेछन् । प्रतियोगिता उदीयमान खेलाडीले १० हजार प्राप्त गर्नेछन् । प्लेयर अफ द म्याचले पाँच हजार पाउनेछन् । प्रतियोगिताको अनुमाति कुल बजेट एक करोड ५० लाख छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ६० लाख सहयोग गर्नेछ भने बाँकी रकम क्यानले जुटाउँनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?