महिला उद्यमी हस्तकला मेला सुरु

Read Time = 4 mins

काठमाडौं । महिला उद्यमी हस्तकला मेला २०७९ शुक्रबारदेखि काठमाडौंको वसन्तपुरमा सुरू भएको छ । नेपाल हस्तकला महासंघ र बागमती प्रदेशकोे उद्योग तथा वाणिज्य मन्त्रालयद्वारा संयुक्तरूपमा आयोजित मेला उद्घाटन गर्दै मन्त्री मिलनबाबु श्रेष्ठले पछिल्लो समय बागमती प्रदेश सरकारले हस्तकला क्षेत्रलाई उच्च महत्व दिँदै अध्यादेशमार्फत् प्रवद्र्धनात्मक कार्यक्रम अगाडि बढाएको बताउनुभयो । बागमती प्रदेशका १३ वटै जिल्लामा हस्तकला उत्पादन भएकाले हस्तकलाको बजारीकरणका लागि प्रदेश सरकारले हस्तकलाग्राम स्थापनामा जोड दिएको उहाँको भनाइ थियो ।

नेपाल हस्तकलामा आत्मनिर्भरोन्मुख भइरहेको भन्दै हस्तकलामार्फत् रोजगारी सिर्जनाका लागि प्रदेश सरकारले १३ वटै जिल्लामा तालिमका साथै अन्य प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने पनि उहाँले बताउनुभयो । राज्यमन्त्री रजनी अमात्यले हस्तकलाले नै नेपाल विश्वमा चिनिएको भन्दै हस्तकलालाई बागमती प्रदेशले उच्च प्राथमिकतामा राखेर कार्यक्रम बनाएको बताउनुभयो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले कलाकार र कलाकारिताको सम्मानबिना हस्तकला क्षेत्रको प्रवद्र्धन हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कलाकारलाई सम्मान गरिएन भने कलाकारिता रूपान्तरण हुन सक्दैन । सोही कारण हाम्रा कतिपय हस्तकला लोप भएका छन् भने कतिपय लोपोन्मुख अवस्थामा पुगेका छन् । आफ्नो रोजीरोटी गुम्ने डरले पुराना कलाकारहरू आफ्नो सीप अरूलाई हस्तान्तरण गर्न चाहँदैनथे तर पछिल्लो समय अरूलाई पनि सिकाउने र सिक्ने परिपाटीको विकास भएको छ ।’

नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले महासंघको स्वर्ण वर्षका अवसरमा महासंघले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्ने क्रममा महिला उद्यमी हस्तकला मेला आयोजना गरेको र आगामी मंसिर अन्तिम साता राष्ट्रियस्तरको हस्तकला मेला आयोजना हुन गइरहेको जानकारी दिनुभयो । उहाँले हस्तकलाको प्रवद्र्धनका लागि चाँडोभन्दा चाँडो हस्तकला नीति स्वीकृत गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले हस्तकलाका सीपमूलक कार्यक्रम बागमती प्रदेशका १३ जिल्लामा पुर्‍याउन सरकारसँग सहयोगको अपेक्षा रहेको बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्यले हस्तकलाको विकास, विस्तार र प्रवद्र्धनका लागि बागमती प्रदेशको सकारात्मक पहलकदमीले हस्तकला व्यवसायीलाई हौसला मिलेको बताउनुभयो ।

मेला संयोजक अमूल्यदेवी शाक्यले ४० स्टलसहित बागमती प्रदेशका १३ जिल्लाका उत्पादन महिला हस्तकला मेलामा राखिएको जानकारी दिनुभयो । कात्तिक २० गतेसम्म सञ्चालन हुने मेलामा रेसा, पस्मिना, ऊनी, सुती, काष्ठलगायतका वस्तुबाट बनेका हस्तकलाहरू राखिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?