बाराको चारवटै निर्वाचन क्षेत्रमा मन्त्रीहरूको भिडन्त

हिमालय टाइम्स
Read Time = 11 mins

संजीवकुमार मिश्रा/हिटा
बारा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाराबाट वर्तमान र पूर्व गरी पाँचजना संघीय सरकारका मन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सरकारका बहालवाला मन्त्री उमाकान्त चौधरी, पूर्वमन्त्री रामसहाय यादव, ज्वालाकुमारी साह, कृष्णकुमार श्रेष्ठ (किसान) र एकबाल मियाँ बाराका विभिन्न निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । बाराको चारवटै निर्वाचन क्षेत्रमा वर्तमान र पूर्वमन्त्रीहरूको चुनावी प्रतिस्पर्धाले निर्वाचनलाई रोचक बनाएको छ ।

बारा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल सरकारको बहालवाला खानेपानी मन्त्री उमाकान्त चौधरीको र नेकपा एमालेका अच्युत मैनालीसँग भिडन्त हुने भएको छ । चौधरीको बाहुल्यता रहेको यस क्षेत्रमा मैनालीसँगको भिडन्त भने रोचक बन्ने भएको छ । योभन्दा अगाडिको चुनावमा पनि चौधरीले मैनालीलाई लगभग दुई हजार पाँच सय मतको अन्तरले पराजित गर्न सफल हुनुभएको थियो । तर, यसपालिको चुनावमा दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने क्षेत्र नम्बर १ का मतदाताहरूले बताएका छन् । २०७४ को प्रनिनिधिसभाको चुनावमा चौधरीले २४ हजार ४५० मत, नेकपा एमाले र माओवादी एक भएर लड्दा मैनालीले २२ हजार ३० मत प्राप्त गर्नुभएको थियो भने राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार रामकिशोर यादवले २० हजार १४४ मत प्राप्त गर्नुभएको थियो । स्थानीय तह निर्वाचनमा समेत क्षेत्र नम्बर १ मा सिम्रौनगढ, कोल्हवी, बारागढी, आदर्शको तवाल र निजगढमा पाँच दलीय गठबन्धनका उम्मदेवारले जितेका थिए । यसैगरी, दोस्रोमा एमाले नै रहेकाले कडा भिडन्त हुने सम्भावना रहेको छ ।

यसैगरी, बारा निर्वाचन क्षेत्र नम्बर २ मा पूर्वमन्त्री रामसहाय यादव, पूर्वसंविधान सभासदस्य शिवचन्द्र कुशवाहा र स्वतन्त्र उम्मेदवार रामकिशोर यादवबीच रोचक भिडन्त हुने भएको छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका राधेचन्द्र यादवले केही गरेनन् भनेर विरोध हुँदै आएको थियो । कांग्रेसको विरोधमा जनलहर हुँदा रामसहाय यादव लगभग नेपाली कांग्रेसभन्दा दोब्बर मतले विजयी हुनुभएको थियो । २०७४ को चुनावमा संघीय समाजवादी फोरम नेपालबाट चुनाव लड्दा उहाँले २८ हजार १८५ मत प्राप्त गर्नुभएको थियो । एमाले संयुक्त रूपमा चुनाव लड्दा माओवादीका शिवचन्द्र कुशवाहाले १० हजार ५४६ मत प्राप्त गर्नुभएको थियो भने नेपाली कांग्रेसका राधेचन्द्र यादवले १५ हजार ७९० मत प्राप्त गर्नुभएको थियो । क्षेत्र नम्बर २ मा स्थानीय तहको निर्वाचनमा मिक्स परिणाम आएको छ । यस क्षेत्रमा जसपा छाडेर स्वतन्त्र उम्मेदवार बन्नुभएका रामकिशोर यादवले अहिले दुवै गठबन्धनलाई कडा टक्कर दिइरहनु भएको मतदाताहरूले बताएका छन् । रामकिशोर यादवको यो क्षेत्रमा पकड बलियो छ । जसपाले दुईवटा पालिका पनि जितेको छ । यसैगरी, नेपाली कांग्रेसले यस क्षेत्रको दुईवटा पालिकामा विजयी पाएको छ भने एउटा पालिकामा नेकपा एमालेको उम्मेदवारले जितेको छ । यसरी समग्र रूपमा हेर्दा यस क्षेत्रमा त्रिकोणात्मक टक्कर हुने जानकारहरू बताउँछन् ।

यता, यादव वनमन्त्री हुँदासमेत आफ्नो क्षेत्रको विकासमा खासै ध्यान नदिएको, चुनाव जितेर गएपछि जनतामाझ कहिल्यै नआएको क्षेत्र नम्बर २ का मतदाताहरूको आरोप छ । अहिले रामकिशोर यादवले टिकट नपाउने भएपछि जसपा छाडेर स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यसपालिको चुनावमा पाँच दलीय गठबन्धका शिवचन्द्र कुशवाहा, रामकिशोर यादव र रामसहायप्रसाद यादवबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

यसैगरी, क्षेत्र नम्बर ३ मा पूर्वकृषि मन्त्री ज्वाला साह, पूर्वसांसद रामबाबु कुमार यादव र पूर्वसंविधानसभा सदस्य लालबाबु सिंह भूमिहारबीच कडा प्रतिस्पर्धा हुने भएको छ । क्षेत्र नम्बर ३ मा त्रिकोणात्मक लडाइँ देखिए पनि अन्ततः पाँच दलीय गठबन्धनका उम्मेदवार लालबाबु सिंहले जित्ने बलियो आधार देखिएको नेपाली कांग्रेसका नेता शिवमंगल साहले जानकारी दिनुभयो । यो क्षेत्र कांग्रेसको बलियो पकड भएको क्षेत्र हो । तर पनि २०७४ सालको चुनावमा यहाँका मतदाताहरूले नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरलाई हराई रामबाबु कुमार यादवलाई जिताएका थिए ।

२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार रामबाबु कुमार यादवले २१ हजार ३३६ मत ल्याई विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यानन्द पाण्डेले १६ हजार ३६२ मत पाउनुभएको थियो भने नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १६ हजार ६२ मत पाउनुभएको थियो । यो क्षेत्रमा एमाले र जसपा अलग अलग भएर लडिरहेका छन् । यसले पाँच दलीय गठबन्धनका उम्मेदवार लालबाबु सिंहलाई विजयी हुन सहज हुने अनुमान गरिएको छ । स्थानीय निकायको निर्वाचनमा कलैया उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका विनोद साह विजयी हुनुभएको छ । स्थानीय निकायको निर्वाचनमा समेत पाँच दलीय गठबन्धनले हार व्यहोर्नु परेको थियो । स्थानीय निकायको निर्वाचनको परिणाम हेर्ने हो भने अधिकांश वडामा कांग्रेसका उम्मेदवारले जित हात पारेका छन् । तर, पनि गठबन्धनलाई जित हात पार्न हम्मेहम्मे पर्ने क्षेत्र नम्बर ३ का मतदाताहरूको भनाइ छ ।

रामबाबु यादव र ज्वाला साह पटक पटक कमिसनको खेलमा बदनाम हुँदै आउनुभएको छ । यादव सांसद हुँदासमेत आफनो क्षेत्रको कुनै पनि मतदाताको कुरा नसुन्ने उनीहरूको पीडा र समस्याको बारेमा सम्बोधन गर्न गराउन आनाकानी गरेको हुनाले यसपालिको चुनावमा उहाँको पक्षमा मतदाताहरूको खासै उत्साह नदेखिएको विश्लेषकहरूको भनाइ छ । यो क्षेत्रलाई जातीय समीकरणले बिगारेको छ । यो क्षेत्रमा यादवको पकड बलियो भए पनि यसपालिको चुनावमा भने जातीय समीकरण समाप्त हुने संकेत देखिएको स्थानीय बताउँछन् ।

यता, बारा निर्वाचन क्षेन नम्बर ४ मा नेकपा समाजवादीका पूर्वश्रममन्त्री कृष्णकुमार श्रेष्ठ (किसान), नेकपा एमालेको तर्फबाट पूर्व युवा तथा खेलकुदमन्त्री एकबाल मिया र व्यापारी इच्छाबहादुर वाग्लेबीच कडा प्रतिस्पर्धा देखिएको छ । एकबाल मियाले योभन्दा अगाडिको चुनावमा लोसपाबाट जित हासिल गर्नुभएको थियो । उहाँले २०७४ सालको चुनावमा २२ हजार २७५ मत ल्याई विजयी हुनुभएको थियो भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवनारायण थारूले २० हजार ६०७ मत पाउनुभएको थियो । यसैगरी, नेपाली कांग्रेसका लालबाबु सिंह भूमिहारले १४ हजार ५१६ मत पाउनुभएको थियो । तर, यसपालिको चुनावमा एमालेसँग माओवादी नरहेकाले समीकरणमा बदलाव हुने संकेत देखिएको छ । जितपुर सिमरा उपमहानगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादी केन्द्रका गठबन्धनका राजन पौडेल विजयी हुनुभएको थियो । गठबन्धनका दलहरूले इमानदारीपूर्वक सहयोग गरे किसान श्रेष्ठको पक्षमा जनाधार हुने देखिन्छ । तर, यो त्यति सजिलो पनि छैन ।

कांग्रेसमा देखिएको विवाद र केही समय अगाडि मात्र कांग्रेसीहरूले गठबन्धनलाई सहयोग नगर्ने भनी विज्ञप्ति नै जारी गरेका थिए । यदि इमानदारीपूर्वक गठबन्धनका नेता तथा कार्यकर्ताहरू नलागे परिणाम विपरीत हुन सक्ने क्षेत्र नम्बर ४ का नेता तथा कार्यकर्ताहरूको आँकलन छ । यो क्षेत्रमा उत्तरतिर माओवादी र कांग्रेसको पकड बलियो छ भने दक्षिणतिर मधेशवादी र नेपाली कांग्रेस पार्टीको पकड बलियो छ । स्थानीय तहको निर्वाचनमा देखिएको मत, संघ र प्रदेशको चुनावमा फरक आउन सक्ने आशंका विश्लेषकहरूको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?