दार्चुलाबाट सुरु भयो एमालेको चुनावी अभियान

लिपुलेक कालापानी र लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्छौँ : ओली

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 6 mins

दार्चुला । एमालेले भारतसँग मुख्य सीमा विवाद रहेको जिल्ला दार्चुलाबाट देशव्यापी ‘आक्रामक’ चुनावी अभियान सुरु गरेको छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले तय गरेको कार्यक्रमअनुसार अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दार्चुलाको खलंगाबाट अभियानको सुरुवात गर्नुभएको हो । पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने दाबी गर्र्नुभयो ।

शुक्रबार सदरमुकाम खलंगामा एमालेले आयोजना चुनावी सभालाई सम्बोधन गर्दै ओलीले राष्ट्रियताको सवालमा नेपाल एक इञ्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको उल्लेख गर्दै मिचिएको भूभाग फिर्ता ल्याएरै छाड्ने दाबी गर्नुभएको हो । ‘राष्ट्रियताको प्रश्नमा नेपालले एक इञ्च जमिन पनि कसैलाई छोड्नेवाला छैन । एक इञ्च जमिन पनि मिच्न दिनेवाला छैन । मिचिएको भए फिर्ता ल्याउँछ भनेर हामीले नक्सा जारी गरेका छौँ,’ ओलीले भन्नुभयो, ‘संसद्ले सर्वसम्मतका साथ पारित गरेको छ । त्यो कुराको फेरि ग्यारेन्टी गर्न चाहन्छु ।’ किर्ते खोल्सीलाई महाकाली उल्लेख गरेर भारतले ६० वर्षदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेको बताउँदै उहाँले मिचिएको भूभाग फिर्ता ल्याएर छाड्ने बताउनुभयो ।

भारतीय पक्षले सडक निर्माणका क्रममा खसेको ढुंगा लागेर १२ वर्षीय बालकको मृत्यु भएको घटनामा गठबन्धन सरकारले शीघ्र एक्सन नलिएको उहाँको आरोप छ । विकास, समृद्धि र स्थिरताका लागि एमालेलाई मत दिन आह्वान गरेका ओलीले एमालेले गरेको चुनावी गठबन्धन स्वार्थको गठजोड नभएर राष्ट्रिय शक्ति भएको दाबी गर्नुभयो ।

‘मंसिर ४ पछि परमादेशी सरकार रहँदैन’
एमाले अध्यक्ष ओलीले मंसिर ४ पछि परमादेशी सरकार नरहने जिकिर गर्नुभयो । नेकपा एमाले बैतडीले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले विकास र समृद्धिको पक्षमा काम गर्दागर्दै अदालतमा असंवैधानिक मुद्दा हालेर एमालेलाई सरकारबाट हटाइएको बताउँदै ओलीले परमादेशबाट बनेको अहिलेको सरकारलाई जनताले परास्त गर्ने जनाउनुभएको हो । उहाँले अगामी निर्वाचनपछि एमालेले फेरि जनादेशको सरकार बनाउने दाबी पनि गर्नुभयो ।

‘जनताको पक्षमा काम गरिरहेका बेला अहिले सरकारलाई अदालतमा किर्ते मुद्दा हालेर, असंवैधानिक मुद्दा लगाएर जनआदेशको सरकारलाई हटाएर परमादेशको सरकार बनाइयो,’ ओलीले भन्नुभयोे, ‘तर मंसिर ४ मा जनताले गठबन्धन बाइवाई एमाले हाइहाईको फैसला गर्नेछन् । त्यसपछि फेरि एमालेले केन्द्रदेखि प्रदेशसम्म सरकार बनाउनेछ ।’ प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै उहाँले विगतमा जनताको पक्षमा काम गर्दा मधु-कैटव कति उफ्रिएको तर अहिले उनीहरू शेरबहादुर देउवाको पछाडि गइसकेकाले समस्या नरहेको बताउनुभयो ।

ओलीले एमालेले जितेमा बैतडीको झुलाघाटमा पक्की पुल बनाउने, गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउने, महाकाली करिडोरको कामलाई तीव्रता दिने बताउनुभयो । उहाँले सीमाको रक्षा गर्दै पाँच वर्षमा देशलाई समृद्धिको बाटोमा लैजाने उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री देउवाले गेटा मेडिकल कलेज सञ्चालन नहुँदै डडेल्धुरामा मेडिकल कलेज बनाउँछु भनेर झुठो आश्वासन दिइरहेको आरोप लगाउनुभयो ।

‘एमसिसीमा प्रचण्डले दोहोरो भूमिका खेले’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसिसीबारे गठबन्धनसँग प्रश्न सोध्न आग्रह गर्नुभएको छ । कञ्चनपुरको प्रचार सभामा ओलीलाई एमसिसीबारे सहभागीले प्रश्न गरेका थिए । ‘एमसिसी गठबन्धनले ल्यायो । पास ग¥यो । त्यसो भएकाले हामीले केही भनिरहनु पर्छ जस्तो लाग्दैन’ मञ्चबाटै जवाफ ओलीले जवाफ दिनुभयो, ‘हामीसँग किन सोध्ने, गठबन्धनलाई सोध्नुहोस् । प्रचण्डलाई सोध्नुहोस् ।’

एमसिसीमा प्रचण्डले दोहोरो भूमिका खेलेको पनि ओलीले बताउनुभयो । ‘पोल भत्काउन लगाउने, सडक भत्काउन लगाउने । बाटो भत्काउन लगाउने, मान्छेलाई ढुंगा हान्न लगाउने’ ओलीले भन्नुभयोे, ‘अनि संसद्को अघिल्लो लाइनमा बसेर हुन्छ भन्दै पास गर्ने । लाज भएन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?