मतपत्र छपाइ सकियो : अस्थायी मतदाताको अन्तिम सूची प्रकाशन गर्ने तयारी

डिबी शर्मा
Read Time = 7 mins
A A- A+

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सकिएको छ । पहिलो हुने निर्वाचन प्रणालीका लागि चार करोड तथा समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी करिब आठ करोड मतपत्र छपाइ गरिएको निर्वाचन आयोगले जनाएको छ । आठ करोड तीन लाख ९४ हजार ५०० मतपत्र छपाइ सकिएको र नमुना मतपत्र २२ लाख गरी कुल करिब आठ करोड २५ लाख मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।

हाल पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गतका मतपत्रहरू ढुवानी गरिरहेको आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो । कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको र प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा चाँडै मतपत्र ढुवानी हुने उहाँले बताउनुभयो । उहाँका अनुसार आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचन तर्फका मतपत्र छपाउन दिएको थियो । आयोगले दिएको २० गते सम्मको समय सीमाभन्दा दुई दिन अगावै जनकशिक्षा सामग्रीले मतपत्र छपाइ सम्पन्न गरेको उहाँले बताउनुभयो । समानुपातिक निर्वाचन प्रणाली तर्फको करिब चार करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । आयोगको पछिल्लो तथ्यांकअनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता छन् ।

एक लाख १५२ मतदाता अस्थायी नामावलीका लागि प्रमाणीकरण
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको अन्तिम सूची चाँडै प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले आफ्नो निर्वाचन क्षेत्रमा जान नपाउने तथा निर्वाचनमा खटिएका सरकारी कर्मचारी, वृद्धाश्रममा रहेका नागरिक, कैदीबन्दी र सुरक्षाकर्मीका लागि समानुपातिक प्रणालीतर्फ मतदान गर्ने अवसरका लागि अस्थायी मतदाताको व्यवस्था गरेको हो । सो प्रयोजनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले नामावली संकलन गरी आयोगको प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिनुभयो ।

अस्थायी मतदाता सूचीमा समावेश हुन सम्बन्धित व्यक्तिको नाम मतदाता सूचीमा रहेको हुनुपर्ने भएकाले संकलन भएका नामावलीको प्रमाणीकरण भइरहेको छ । हालसम्म एक लाख १५२ मतदाता अस्थायी नामावलीका लागि प्रमाणीकरण भएका छन् ।

तोसिमाको अन्तरिम आदेश खारेज माग गर्दै सर्वोच्च पुग्यो आयोग
डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भनी सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगले सर्वोच्चमा भ्याकेटको निवेदन दिएको छ । ललितपुर निर्वाचन क्षेत्र नं ३ मा उम्मेदवारी दिनुभएकी डा. कार्कीको उम्मेदवारी कायम गर्ने गरी जारी भएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै आयोग सर्वोच्च पुगेको हो । निवेदनमा आयोगले यसअघि जारी भएको अन्तरिम आदेश बदर गर्दै यसअघि आयोगबाट खारेज गर्ने निर्णय सदर हुनुपर्ने जिकिर गरिएको छ । कात्तिक १५ गते सर्वोच्चले तोसिमाको उम्मेदवारी खारेजी गर्ने निर्णय मुद्दाको किनारा नलगेसम्म कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो । आयोगबाट भ्याकेटको निवेदन ढिलो आएकाले शुक्रबार दर्ता गर्न नभ्याएको सर्वोच्चले जनाएको छ । आयोगको भ्याकेट निवेदन अब आइतबार मात्रै दर्ता हुनेछ ।

मधेश प्रदेश सरकार र प्रदेशसभा सचिवालयसँग स्पष्टीकरण माग
निर्वाचन आयोगले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेशको प्रदेशसभा सचिवालयलाई स्पष्टीकरण सोधेको छ । आयोगले दुवै कार्यालयलाई पत्र पठाई प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीसमेतले सवारीसाधन नबुझाई निजी नम्बर प्लेट कायम गरी निर्वाचन प्रचार प्रसारमा हिँडेको हो होइन ? भन्ने विषयमा विवरण उपलब्ध गराउन पत्र पठाएको हो । सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोतसाधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने व्यवस्था रहेको स्मरण गराउँदै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री समेतले सवारीसाधन नबुझाई निजी नम्बर प्लेट कायम गरी हिँडेको भनी उजुरी प्राप्त हुन आएको आयोगले जनाएको छ । यसैगरी, आयोगले प्रदेशसभाका सभामुख, उपसभामुख र विभिन्न समितिका सभापतिलाई सरकारी सुविधास्वरूप उपलब्ध गराइएका सवारी साधनहरूको विवरण दुई दिनभित्र पछिसम्म फरक नपर्ने गरी आयोगलाई उपलब्ध गराउन आग्रह गरेको छ ।

आयोगले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाई प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका विभिन्न समितिका सभापति एवं सरकारी सवारीसाधन प्रयोग गरेका सवारीसाधन तत्काल नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?