Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

स्थानीय तह निर्वाचनको परिणाम भन्छ- दलहरूलाई एक्लै बहुमत ल्याउन कठिन

अनिल क्षेत्री
Read Time = 9 mins
A A- A+

काठमाडौं । राजनीतिक दल र उम्मेदवारहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । आसन्न निर्वाचनमा मुख्य गरी नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धन र विपक्षी दल नेकपा एमालेको नेतृत्वमा रहेको गठबन्धनबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । सत्ता गठबन्धनमा नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी रहेका छन् ।

सत्ता गठबन्धनले केही स्थानमा स्वतन्त्र उम्मेदवारलाई पनि समर्थन गरेको छ । यस्तै, विपक्षी गठबन्धनमा नेकपा एमालेसहित जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल छन् । एमाले नेतृत्वको गठबन्धनले पनि सत्ता गठबन्धनविरुद्ध उम्मेदवारी दिएका कतिपय उम्मेदवारलाई समर्थन गरेको छ । आसन्न निर्वाचनमा मुख्य गरी यी दुई गठबन्धनबीच नै तीव्र प्रतिस्पर्धा हुने निश्चित छ । यीबाहेक आसन्न निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, कांग्रेस बिपी लगायतका राजनीतिक दलहरू पनि चुनावी मैदानमा उत्रिएका छन् ।

निर्वाचनको मिति नजिकिँदै जाँदा सम्भावित परिणामबारे चौतर्फी चासो र विश्लेषण हुन थालेको छ । कतिपयले गत स्थानीय तह निर्वाचन परिणामलाई आधार बनाइरहेका छन्् भने कतिपयले पार्टीगत संगठन र उम्मेदवारको लोकप्रियतालाई पनि आधार बनाएर चुनावी परिणामको सम्भावित लेखाजोखा गरिरहेका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको सम्भावित परिणामको लागि गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार बनाउन सकिन्छ । स्थानीय तहमा कांग्रेस ३२९ स्थानीय तहको प्रमुख पद जितेर सिटमा पहिलो बनेको छ । तर, नेपाली कांग्रेस प्रमुख पदको समग्र मतमा भने एमालेभन्दा पछि देखिन्छ । स्थानीय तह नगर प्रमुख पदमा एमालेले ३८ लाख २१ हजार ६०६८ मत पाएको छ भने कांग्रेसले ३७ लाख ४६ हजार ७५१ मत पाएको छ । कांग्रेसले प्रमुख पदमा प्राप्त गरेको मतभन्दा एमाले करिब एक लाख मतले अगाडि रहेको छ । तेस्रो स्थानमा माओवादी केन्द्रले १३ लाख ३७ हजार ९०५ मत पाएको छ । जसपा पाँच लाख ५७ हजार ६६२ मतसहित चौथो स्थानमा छ भने नेकपा एसले चार लाख ५८ हजार ४६० मत पाएर पाँचौँ स्थानमा रहेको आयोगले जनाएको छ ।

तर, गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत परिणाम भने फरक देखिन्छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार नेपाली कांग्रेसको मत ३९ लाख ५६ हजार १९३ अर्थात् ३४.२८ प्रतिशत छ । यस्तै, माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ अर्थात् १३.०३ प्रतिशत छ । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादीका वडाध्यक्षले पाएको जम्मा मत चार लाख २२ हजार ७३७ अर्थात् ३.६६ प्रतिशत हो । आसन्न निर्वाचनको लागि सिट बाँडफाँटको क्रममा अन्तिम समयमा सत्ता गठबन्धनमा जोडिन आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वडाध्यक्षले दुई लाख ४४ हजार ८८२ अर्थात् २.१२ प्रतिशत हो । सत्ता गठबन्धनको अर्को घटक राष्ट्रिय जनमोर्चाका वडाध्यक्षहरूले जम्मा ४० हजार ४९१ अर्थात् ०.३५ प्रतिशत छ ।

अर्कोतिर आसन्न निर्वाचनमा सत्ता गठबन्धनको विपक्षमा तयार भएको गठबन्धनको नेतृत्वकर्ता दल नेकपा एमालेका वडाध्यक्षहरूले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको मत ३८ लाख ११ हजार ६०२ अर्थात् ३३.०३ प्रतिशत हो । आसन्न निर्वाचनमा सत्ता गठबन्धनमा सिट बाँडफाँटप्रति विरोध जनाउँदै गठबन्धन छोडेर एमालेसँग गठबन्धन गर्न पुगेको जनता समाजवादी पार्टी जसपाका वडाध्यक्षहरूले गत स्थानीय तह निर्वाचनमा पाएको मत ५७ हजार ७३८० अर्थात् ५.०० प्रतिशत हो । एमाले गठबन्धनको अर्को घटक राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षहरूको जम्मा मत जोड्दा तीन लाख ६४ हजार १६० अर्थात् ३.१६ हुन्छ ।

अर्को घटक राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट उम्मेदवारी दिएका वडाध्यक्षको जम्मा मत ३०५५ अर्थात् ०.०३ प्रतिशत रहेको छ । स्थानीय निर्वाचन-२०७९ मा वडाध्यक्षले पाएको मतलाई जोडेर कुन दल कति बलियो छ भनेर विश्लेषण गर्ने एउटा आधार भए पनि यसमा केही सीमितता छन् । किनभने सबै दलले सबै वडामा उम्मेदवारी दिएका थिएनन् । स्थानीय वडाहरूमा पनि गठबन्धन बनेको थियो । नयाँ मतदाताहरूको संख्या अझै नआइसकेकाले उनीहरूको संख्या धेरै हुँदा नतिजामा केही स्थानमा प्रभाव पार्न सक्छन् । आसन्न निर्वाचनमा गत स्थानीय तह निर्वाचनमा सहभागी नभएका वा गठन नै नभएका दलहरू पनि चुनावी मैदानमा उत्रिएका छन् ।

अर्कातिर संघीय निर्वाचनमा केही लोकप्रिय व्यक्तिले स्वतन्त्र उम्मेदवार भएर पनि जित्ने सम्भावना सधैँ रहन्छ । स्वतन्त्र वडाध्यक्षका उम्मेदवारले प्राप्त भोट संघीय निर्वाचनमा कुन दलको उम्मेदवारले लैजान्छ भन्ने यकिन हुँदैन । यस्तै, स्थानीय निर्वाचनमा होस् वा संघीय निर्वाचनमा, उम्मेदवार (दलीय)को लोकप्रियताले पनि मतमा केही प्रभाव पार्न सक्छ । स्थानीय तहमा स्वतन्त्र उम्मेद्वारी दिएर लोकप्रिय मत पाएका उम्मेदवारहरू पनि चुनावी मैदानमा उत्रिएका छन् । त्यसकारण गत स्थानीय तह निर्वाचनमा पाएको मतको आधारमा आसन्न निर्वाचनको परिणाम आँकलन गर्न कठिन भए पनि पार्टी संगठन, चुनावी प्रचारमा देखिएको मतदाताको मनस्थितिका आधारमा आगामी निर्वाचनमा पनि कांग्रेस, एमाले र माओवादी केन्द्रको स्थितिमा खासै असर नपर्ने देखिएको छ । तर, यो निर्वाचन प्रणालीमा कुनै पनि दलको एक्लै बहुमत आउन भने कठिन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?