चन्द्रग्रहण विचार

A A- A+

✍️ डा. नारायणप्रसाद निरौला

एउटा ग्रह वा ग्रहबिम्बको छायाँले अर्को बिम्बलाई छेक्ने अवस्थालाई ग्रहण भनिन्छ । चन्द्रबिम्बले सूर्यको प्रकाशलाई छेक्दा सूर्यग्रहण र पृथ्वीको छायाँले चन्द्रमालाई छेकेको अवस्थामा चन्द्रग्रहण हुन्छ । सूर्यग्रहण औँसी तिथिका दिन र चन्द्रग्रहण पूर्णिमा तिथिका दिनमात्र सम्भव रहन्छ । सबै औँसी र पूर्णिमामा पनि ग्रहण लाग्दैनन् । किनकि पृथ्वी, सूर्य र चन्द्रमा एक सरल रेखामा पर्नुपर्छ र कोणीय अन्तर पनि शून्य हुनुपर्दछ ।

पृथ्वीको छायाँभित्र चन्द्रमा प्रवेश गरेको अवस्थामा चन्द्रग्रहण लाग्ने गर्दछ । ‘भूच्छायां प्राङ्मुखश्चन्द्रो विशत्यस्यभवेदसौ ।।’ (सूर्य सिद्धान्त, चन्द्रग्रहणाधिकार, श्लो.९) अर्थात् पूर्वाभिमुख भ्रमण गरिरहेको चन्द्रमा पृथ्वीको छायाँमा प्रवेश गर्छ र चन्द्रग्रहण लाग्छ । सामान्यतः पृथवीको छायाँमा चन्द्रमाको सदा पूर्वभाग प्रवेश हुने भएकाले चन्द्रग्रहणमा चन्द्रबिम्बको पूर्वदिशामा स्पर्श र पश्चिम भागबाट मोक्ष हुने गर्दछ । यो कार्तिक २२ गतेको ग्रहण भने ईशानबाट प्रवेश भएर नैऋत्यदिशामा मोक्ष हुनेछ ।

चन्द्रमाको केही भागमात्र पृथ्वीको छायाँमा परेको अवस्थामा चन्द्रमाको केही भागमात्र कालो देखिन्छ जसलाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ । सूर्य र चन्द्रमा आमनेसामने १८० डिग्रीको अन्तरमा भएको समयका चन्द्रग्रहण लाग्ने गर्दछ । पूर्णान्त कालमा नै चन्द्रग्रहण सम्भव हुन्छ ।

चन्द्रग्रहण दुई प्रकारका हुन्छन् । १) खग्रास चन्द्रग्रहण र २) खण्डग्रास चन्द्रग्रहण । चन्द्रमाको पूरै भाग पृथ्वीको छायाँमा पर्दा पूर्णग्रास (खग्रास) चन्द्रग्रहण हुन्छ । यसैगरी चन्द्रमाको केही भागमात्र पृथ्वीको छायाँमा परेको अवस्थामा चन्द्रमाको केही भागमात्र कालो देखिन्छ जसलाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ । सूर्य र चन्द्रमा आमनेसामने १८० डिग्रीको अन्तरमा भएको समयका चन्द्रग्रहण लाग्ने गर्दछ । पूर्णान्त कालमा नै चन्द्रग्रहण सम्भव हुन्छ ।

सबै पूर्णिमामाकिन चन्द्रग्रहण लाग्दैन ?
पृथ्वीको छायाँ निरन्तर क्रान्तिवृत्त (सूर्य हिँड्ने वृत्त वा वाटो) मा हिँड्छ तर चन्द्रमाको हिँड्ने बाटो छुट्टै छ । अर्थात् चन्द्रमा क्रान्तिवृत्तभन्दा अन्यत्रै (चन्द्र विमण्डल) बाट घुमिरहेको हुन्छ । क्रान्तिवृत्तको र चन्द्रभ्रमणमार्ग (चन्द्रविमण्डल) को जहाँ सम्पात हुन्छ ती स्थानलाई पात भनिन्छ । यी पातमध्येको उत्तरी सम्पातलाई राहु र दक्षिणी सम्पातलाई केतु भनिएको हो । राहु केतुको स्वतन्त्र पिण्डीय अस्तित्व छैन । यस्तो पातस्थानमा वा पातासन्न स्थानमा चन्द्रमा पुगेको र पूर्णिमा पनि परेको अवस्था भएमात्र चन्द्रग्रहण लाग्न सक्छ । सबै पूर्णिमामा यस्तो स्थिति हुन सक्दैन र हरेक पूर्णिमामा चन्द्रग्रहण लाग्दैन । चन्द्रमाको बाटोले पृथ्वीको बाटोसित लगभग ५ अंश (डिग्री) को कोण बनाउने गर्दछ । तसर्थ चन्द्र, पृथ्वी र सूर्य एउटै सोझो रेखामा नपर्न सक्छन् । जुन बेला पर्छ त्यो बेलामात्र चन्द्रग्रहण लाग्ने भएकाले सबै पूर्णिमामा यस्तो स्थिति (चन्द्र, सूर्य र पृथ्वीको एउटै सरल रेखामा पर्ने स्थिति) नपर्ने भएकाले सबै पूर्णिमामा चन्द्रग्रहण नलागेको हो ।

२०७९ कार्तिक २२ गतेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण
यसवर्ष २०७९ कार्तिक २२ गते तदनुसार ८ नोभेम्बर सन् २०२२ बेलुका खग्रास चन्द्रगण आकाशमा देख्न सकिन्छ । सूर्यास्तभन्दा पहिले नै ग्रस्त भएर सूर्यास्तपछि मात्र आकाशमा देखिने भएकाले यो ग्रहणलाई ग्रस्तोदित खग्रास सूर्यग्रहण भनिएको हो । यो चन्द्रग्रहण २०७९ कार्तिक २२ गते बेलुका ५ : ११ मिनेटमा नेपालबाट चन्द्रमा उदय भएसँगैै ग्रहण पनि देखिन्छन् । पृथ्वीको छायाँभित्र चन्द्रमाको पूर्णबिम्ब नै प्रवेश गरिसेको दृश्य काठमाडौँबाट देख्न सकिन्छ । साँझ ५ : २७ बजेबाट उन्मीलन अर्थात् ग्रहणको ह्रास सुरु हुन्छ । ग्रहण घट्दै घट्दै बेलुका ६ : ३४ बजे ग्रहणको मोक्ष अर्थात् समापन हुन्छ । यसरी १ घण्टा २३ मिनेट लामो समयसम्म यो चन्द्रग्रहणको आकाशमा अवलोकन गर्न सकिन्छ ।

यो चन्द्रग्रहण नेपाल, भारत, कोरिया, जापान, अस्ट्रेलिया, क्यानाडा र अमेरिकाका भूभागबाट भिन्न–भिन्न समयमा देख्न सकिन्छ । उत्तरपूर्वी युरोपका केही भूभागबाट देखिए पनि अधिकांश स्थानबाट यो ग्रहण देखिँदैन । यसैगरी अफ्रिका र अन्टाट्रिकाबाट चन्द्रग्रहण लागेको देख्न सकिँदैन ।

कुन राशिलाई ग्रहण हेर्दा के फल ?
विसं. २०७९ कार्तिक २२ गते भरणी नक्षत्रका दिन ग्रहण लाग्ने भएकाले मेष राशि त्यसमा पनि भरणी नक्षत्र भएका व्यक्तिलाई ग्रहण कष्टदायी रहनेछ ।
मेष राशि : ग्रहण अशुभदायी रहनेछ, फल घात बताइएको छ ।
वृष राशि : व्यय अर्थात् खर्च बढाउने भएकाले ग्रहण दर्शन नगर्नु नै शुभ हुनेछ ।
मिथुन राशि : ग्रहण दर्शन लाभदायी रहनेछ । यसैले ग्रहण दर्शन फललाभ बताइएको छ ।
कर्कट राशि : ग्रहण दर्शन शुभ रहनेछ, सुख वृद्धि हुने फल बताइएको छ ।
सिंह राशि : ग्रहण दर्शनले मानहानि हुने बताइएको छ । यसैले ग्रहणको दर्शन नगर्नु नै उचित हुनेछ ।
कन्या राशि : ग्रहण दर्शनले कष्ट निम्त्याउनेछ । फल कष्टम् बताइएको छ ।
तुला राशि : स्त्रीपीडा फल बताइएको छ । यसैले ग्रहण दर्शन नगर्नु उचित हुनेछ ।
वृश्चिक राशि : यो ग्रहण दर्शनले सुख प्राप्त हुने भएकाले फल सौख्यम् बताइएको छ ।
धनु राशि : ग्रहण दर्शनले चिन्ता बढाउने भएकाले दर्शन नगर्नु उत्तम रहनेछ ।
मकर राशि : ग्रहण दर्शनले रोग निम्त्याउन सक्नेछ । फल व्यथा बताइएको छ ।
कुम्भ राशि : श्रीप्राप्ति फल बताइएको छ । आर्थिक उन्नति हुने भएकाले ग्रहण दर्शन शुभ रहनेछ ।
मीन राशि : ग्रहण दर्शनले हानि निम्त्याउन सक्नेछ । फल क्षति बताइएको छ ।
यसरी हेर्दा मिथुन, कर्कट, वृश्चिक र कुम्भ राशिलाई ग्रहण दर्शन शुभरहनेछ भने अन्य राशिलाई अशुभफलप्रद रहनेछ । गर्भवती महिलाले भने ग्रहण जुरे पनि नहेर्नु उचित हुनेछ । ग्रहणका समयमा कुश साथमा राख्नाले दोषबाट निवृत्ति मिल्ने धर्मशास्त्रीय मान्यता रहेको छ ।

ग्रहणको सुतक र बार्नुपर्ने कार्य :
२०७९ साल कार्तिक २२ गते बिहान ८ : ११ बजेपछि ग्रहणको सुतक आरम्भ हुन्छ । अतः सो पूर्व नै भोजन गरिसक्नुपर्ने धर्मशास्त्रीय वचन पाइन्छ । अर्थात् ८ : ११ बजेपछि बालक, वृद्ध र आतुर बाहेकलाई भोजन निषेध गरिएको छ ।

ग्रहण लागेको समयलाई विद्ध मानिन्छ । त्यसैले सुतक बार्नु पर्ने शास्त्रीय विधान रहेको छ । सूर्यग्रहे ग्रहणप्रहरादर्वाक् यामचतुष्टयं वेधः । चन्द्रग्रहे तु प्रहरत्रयम् । (धर्मसिन्धु, प्रथमपरिच्छेद, पृ. २७) अर्थात् सूर्यग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) पूर्व र चन्द्रग्रहण लाग्नुभन्दा ३ प्रहर अर्थात् ९ घण्टाअघिदेखि सुतक लाग्छ भनिएको छ । ग्रहण लागेको समयमा भोजन गर्न, सुत्न, मैथुनादि समागम, शरीरमा तेल घस्न, शृंगार, शौच, बध, अरूलाई कष्ट हुने कार्य बर्जित रहन्छन् । ग्रहणकाले शयने कृते रोगो मूत्रे दारिद्रयं पुरीषे कृमिर्मैथुने ग्रामसुकरोभ्यग कुष्ठी भोजने नरक इति । (धर्मसिन्धु, प्रथमपरिच्छेद, पृ. २७)

यसैगरी अर्को श्लोक पनि पाइन्छ : निद्रायां जायते व्याधिर्मूत्रे दारिद्र्यमाप्नुयात् । पुरीषे कृमियोनिश्चमैथुने ग्रामसुकरः । आभ्यञ्जने भवेत् कुष्टिर्भोजने स्यादधोगतिः । बन्धने च भवेत् सर्पो बधे च नरकं व्रजेत् ।। अर्थात् ग्रहण लागेका अवस्थामा सुते रोग लाग्न सक्छ, शौचादि कार्य गर्नाले दारिद्य्र हुन्छ । दिशा बस्नाले कृमियोनि प्राप्त हुन्छ, मैथुनादि संगम गर्नाले अर्को जन्ममा सुगुरको योनि प्राप्त हुन्छ, शरीरमा तेल लगाउनाले वा शृंगार गर्नाले कुष्टरोग लाग्न सक्छ, भोजन गर्नाले अवनति हुन्छ । कसैलाई बन्धनमा राख्नाले सर्पको योनि प्राप्त हुन्छ भने काटमार आदि बध गर्दा नरकको यातना भोग गर्नुपर्छ भनी उल्लेख गरिएको छ । यसैगरी ग्रहणमा श्राद्ध गर्नु शुभ भएपनि श्राद्धको भोजन भने गर्नुहुँदैन ।

ग्रहणमा कस्ता कार्य गर्नु शुभ हुन्छ ?
ग्रहण लागेको समयका जप, दान, मन्त्रसिद्धि जस्ता कार्य गर्नु विशेष शुभ मानिएको छ । विद्यार्थीले अध्ययनको कार्यलाई निरन्तरता दिनु नै उचित हुन्छ । विद्या साधनाका निम्ति पनि यो उत्कृष्ट समय हो । दान लिनुभन्दा पनि दान दिनु उचित हुन्छ भनी शास्त्रमा उल्लेख पाइन्छ । यो समयमा गरिएको दानले अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । यसैगरी ग्रहणमा स्नान पनि विशेष शुभदायी मानिन्छ । ग्रहणस्नान गर्नाले रोगव्याधि हटेर जान्छन् भनिएको छ । ग्रहण लागेको समयमा सबै कुरा अपवित्र हुन्छन् । त्यसैले कुश साथमा राख्नाले अथवा कुशपानीले स्नान गर्नाले ग्रहणजन्य दोषबाट निवृत्त हुन सकिन्छ ।

ग्रहण एक खगोलीय ग्रहको प्रक्रिया हो । विशेषतः पृथ्वीको छायाँमा चन्द्रमा प्रवेश गरी आफ्नो प्रकाशलाई अवरुद्ध गराएको अवस्थामा चन्द्रग्रहण लाग्ने गर्दछ । ग्रहण लागेको समयमा पृथ्वीमा विकार उत्पन्न हुने भएकाले स्नान, दान, जपादि कर्म गर्नु भनी शास्त्रले निर्देश गरेको हो ।

तुलादान ग्रहणमा शुभ मानिएको छ (निर्णयसिन्धु, पृ. ४२) । श्राद्धादि कर्म पनि ग्रहणमा शुभ रहन्छन् । भोजन भने ग्रहणको समयमा निषिद्ध रहेको छ । स्नान, जप, दानका लागि ग्रहण उत्तम समय हो भन्दै भास्कराचार्यले पनि स्मृति पुराणको वचनलाई यसरी स्मरण गरेका छन् : बहुफलं जपदानहुतादिके स्मृतिपुराणविदः प्रवदन्ति हि । सदुपयोगि जने सचमत्कृति ग्रहणमिन्द्विनयोः कथयाम्यतः ।। (सिद्धान्त शिरोमणि, चन्द्रग्रहणधिकार, श्लो. १) अर्थात् जप, दान, यज्ञाहुति आदि गर्नका लागि ग्रहण उत्तम अवसर हो । यो आकाशमा देखिने एक चमत्कृति पनि हो । स्मृति पुराणले पनि जप र दानका लागि ग्रहणको समय उत्तम हो भन्ने चर्चा गरेका छन् ।

ग्रहण एक खगोलीय ग्रहको प्रक्रिया हो । विशेषतः पृथ्वीको छायाँमा चन्द्रमा प्रवेश गरी आफ्नो प्रकाशलाई अवरुद्ध गराएको अवस्थामा चन्द्रग्रहण लाग्ने गर्दछ । ग्रहण लागेको समयमा पृथ्वीमा विकार उत्पन्न हुने भएकाले स्नान, दान, जपादि कर्म गर्नु भनी शास्त्रले निर्देश गरेको हो । विकृत समयमा गरिएको भोजनले पनि शरीरमा कष्ट प्रदान गर्ने भएकाले धर्मशास्त्रले भोजन निषेध गरेको हो । प्रकृतिको अनुपम लीलाको सुन्दर अनुभूति हुने ग्रहण आफूमै एक रमणीय पक्ष हो । ग्रहण वैदिक कालदेखि नै बताइएको विषय हो । निरन्तर यसको गणना एवं प्रयोगका पक्ष ज्योतिषका ग्र्रन्थमा उल्लेख पाइन्छ । आजको आधुनिक विज्ञान अउनुभन्दा पनि पहिलेको ज्ञानराशि आजका समयमा पनि प्रत्यक्ष सावित भइरहेको छ । यसैले यस्ता विशिष्ट ज्ञानको संरक्षण आज आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?