यो सरकारसँग देश बनाउने कुनै किसिमको मिसन र भिजन छैन : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको दावी गर्नु भएको छ ।

अध्यक्ष ओलीले स्वार्थहरुको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन, भिजन र गन्तव्य नभएको भन्दै आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने बताउनु भयो ।

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले देशलाई बर्बादी हुन नदिन पनि आगामी निर्वाचनमा नेपाली जनताले सरकारको विकल्प खोज्नुपर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘अव हाम्रो देशमा संघीय र प्रादेशिक निर्वाचन हुँदैछ । एउटा खास परिस्थितिमा हामी आज यस ठाउँमा उभिएका छौं । आज कार्तिक १९ गते भईसक्यो । केही दिन भित्र मंसीर ४ गते हामी राष्ट्रको भाग्य, भविष्य फैसला गर्ने आम निर्वाचन र प्रादेशिक निर्वाचन एकैदिन एकै चोटी गर्दैछौं । यस निर्वाचनमा आगामी दिनमा देश कता जाने हो ? कस्तो हुने हो, ? देशले यस्तो स्वार्थहरुको जोडजामबाट बनेको सरकार, यस्तै असंवैधानिक ढंगले सरकार हेरफेर हुने र बन्ने, जनताको अभिमत होइन् स्वार्थहरुको चलखेल र अरु प्रकारका सेटिङ्स भन्छन नि । अरु प्रकारका सेटिङ हुने, यसबाट गन्तव्य नभएको, भिजन नभएको, मिसन नभएको, डेष्टिनेशन कुनै नभएको, त्यो डेष्टिनेशन भएपछि त्यहाँ पुग्ने बाटो चाहिएन, भिजननै चाहिएन । त्यस्तो दिशाहिन अन्यौल त्यस्तो सरकार बनाएर देशलाई बर्बाद पार्ने कि एउटा सुदृढ, भिजनसहितको, मिसनसहितको, एमसहितको, गोलसहितको, डेष्टिनेशन यो हो भनेर तोकिएको र शब्द जाल होइन् । ठोस गन्तव्यमा पुग्ने, त्यो गन्तव्यमा पुग्ने मार्गचित्र, त्यसका निम्तिका नीतिहरु, कार्यक्रमसहितको, हाम्रा छिमेक सम्बन्ध, हाम्रा अन्तराष्ट्रिय सम्बन्ध राष्ट्रिय हितलाई केन्द्र भागमा र सर्वोपरी राखेर न्याय र अन्तराष्ट्रिय उत्तरदायित्वलाई समेत ध्यानमा राखेर सार्वभौम समानताका आधारमा छिमेक सम्बन्ध र अन्तराष्ट्रिय सम्बन्ध अंगीकार गर्ने गरी हामी अहिले संविधान ल्याएपछिको दोस्रो निर्वाचनमा छौं । ’

अध्यक्ष ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले बहुमतको सरकार बनाउने दावी समेत दोहो¥याउनु भयो ।

उहाँले सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा जनमत पाए लुटपाट सुरु हुने र देश कंगाल बन्ने जिकीर समेत गर्नु भयो । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन मृत अवस्थामा पुगिसकेकाले यसले देशको, जनताको माया नगरेको समेत बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘यो अहिलेको जुन गठबन्धन छ । रियल्ली डेथ । तर यो क–कल्ले पम्पिङ गरिराखेको छ । भेन्टिलेटर लगाई राखेको छ । सास फेरिराखेको छ । हिँडीराखेको छ । खाई पनि राखेको छ । पचाई पनि राखेको छ फेरी । यिनीहरुको मुख ६ तिर फर्केको छ । मैले धेरै ठाउँमा भन्ने गरेको छु–छ तिर फर्केका छन । यिनको केही विचार छैन । तर चपाईको चपाएकै छ । अव यो मंसीर ४ को निर्वाचनले यसको बीचमा फैसला गर्नुपर्ने छ । अहिले मैले भनेको खन्चुवा गठबन्धन, भिजनहिन, गन्तव्यहिन, नीतिहिन, थितिहिन, विधिहिन यसले जनता देख्दैन । देशको किन्चित माया छैन । यो पहिल्यै मरिसक्यो । अव त्यसस्थितिबाट देशलाई बचाउनका लागि यो १६ महिनामा कंगाल पार्नेहरुले जनादेश पनि पाए भने, परमादेश होइन, जनादेशबाट पनि आयौं हामी भन्ने मौका पाएभने यिनले त कसरी लुट्छन होला । लखनउ लुट भनिन्थ्यो । त्यसमा त गहनामात्रे लुटिन्थे । सुन, चाँदी, हिरा, मोती मात्रै लुटिन्थ्यो । यिनले पर्दा, झ्याल, ढोका पनि फुटाउन लाग्दछन । यस्तो लुट हुन्छ । र, देश कंगाल हुन्छ । त्यसकारण देश बनाउने पार्टी नेकपा (एमाले) एउटा नेशनल फोर्सको रुपमा अव यो विभिन्न किसिमको टालाटुली बटुली होइन । एउटा स्ट्रङ नेशनल फोर्स । आज नेपाललाई चाहिएको भनेको बलियो राष्ट्रिय शक्ति हो । वीथ मिसन, वीथ भिसन, वीथ पोलिसिज, वीथ प्रोग्राम । एमाले एक्लै सरकार बनाउन सक्छ । बहुमत ल्याउन सक्छ । बहुमतको सरकार बनाउन सक्छ । तर यसको अर्थ हामी कसैलाई सरकारमा लिँदैनौं भन्ने होइन । तर नेकपा एमालेको अघि सारेको मिसन, भिजन कुनै पनि कुरामा तलमाथि नपर्ने गरी अरु पार्टीहरु पनि एमालेको सरकारमा सहभागी हुनेछन ।’

अध्यक्ष ओलीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने योजना, नीति र कार्यक्रम आफ्नो पार्टीसँग मात्रै भएको भन्दै आगामी निर्वाचनमा नेपाली जनताले सरकार बनाउने गरी साथ दिनुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?