सिन्धुपाल्चोकका ६ वटै सिट जित्छौं, यो निर्वाचन संविधानको रक्षा गर्ने र भत्काउनेबीचको लडाइँ हो : मोहन बस्नेत

Read Time = 7 mins

-सुन्दर शिरीष
सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेद्वार मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका ६ वटै सिट लोकतान्त्रिक बाम गठबन्धन जिने दावी गर्नुभएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाका सबै वडाहरुमा पुग्ने योजनासहित गरिएको घरदैलो अभियानमा बस्नेतले सिन्धुपाल्चोकबासीले कुनै अफ्ठेरो नमानी गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आह्वान गर्दै आउनुभएको छ । ‘हामी ६ वटै सिट जित्छौं, यो निर्वाचन संविधानको रक्षा गर्ने र भत्काउनेबीचको लडाइँ हो । लडाईमा सबै मतदाताको हामीलाई साथ छ,’ बस्नेतले भन्नुभयो ।

शनिबार मात्रै गठबन्धनले सानोसिरुवारी, इर्खु, जंगलछाप र ठूलोसिरुवारीमा घरदैलो गरेको छ । गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नम्बर २ का साझा उम्मेद्वार मोहनबहादुर बस्नेत र प्रदेश १ का उम्मेद्वार युवराज दुलालले घरदैलो गरेका हुन । उम्मेद्वारहरु घर घरमा पुगेर मतदातालाई भोट मागिरहेका छन् ।

मतदातालाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका– १३ ठूलोसिरुवारीमा उम्मेद्वार बस्नेतले अहिलेको उत्साहले आफूहरुले चुनाव जितिसकेको जस्तै भएको बताउनुभयो । ‘हामीले चुनाव जितिसकेका छौं, कति हजार मतान्तरले जित्ने भन्नेमात्रै हो । तपाईहरुको यो उत्साहलाई हामी कहिल्यै निराश बनाउँदैनौं’, बस्नेतले मतदातालाई भन्नुभयो– ‘हामीले बोलेको काम ५ वर्षमा पूरा गर्छौं । सिन्धुपाल्चोक २ विकसित बनाउने गरी गठबन्धनको तागत लगाउँछौं ।’

अभियानकै क्रममा प्रदेश १ का उम्मेद्वार माओवादी नेता युवराज दुलालले सिन्धुपाल्चोक–२ को विकास गर्नका लागि मोहनबहादुर बस्नेत र आफूबीच राम्रो तालमेल बनेको बताउनुभयो । उहाँले सत्तागठबन्धनको उम्मेदवार भएका कारण कांग्रेसलाई चुनाव चिन्ह रुख र माओवादीलाई गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्हमा मतदान गर्न अपील गर्नुभयो ।

‘प्रदेशबाट हुने काम म गर्छु । केन्द्रबाट हुने काम नेता मोहनबहादुर बस्नेतले गर्नु हुन्छ । हामी दुबै जना मिलेर विकास गर्ने कार्यको नेतृत्व लिन्छौँ,’ दुलालले भन्नुभयो– ‘विकासप्रेमी नेताहरु यो क्षेत्रले पाएको छ त्यसैले संविधान, लोकतन्त्र र विकासका लागि सत्तागठबन्धनलाई मतदान गर्न जरुरी छ ।’

दुई पूर्वमन्त्रीबीच प्रतिष्पर्धा

प्रतिनिधिसभा अन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नम्बर– २ मा मूख्य रुपमा दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुँदैछ । लोकतान्त्रिक बाम गठबन्धनबाट पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र एमालेबाट पूर्व कानुनमन्त्री शेरबहादुर तामाङबीच हुने प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ । यो क्षेत्रमा एमालेको तर्फबाट तामाङ एक्लै चुनावी मैदानमा हुनुहुन्छ भने बस्नेतलाई सत्ता गठबन्धनका दलहरुको समर्थन छ । बस्नेत माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीसहितको लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार हुनु हाे ।

यता एमालेका तामाङ भने बलियो संगठनको बलमा बस्नेतविरुद्ध चुनाव जित्ने दाबी गर्दै आउनु भएकाे छ । तर, उहाँलाई पनि पहिलेजस्तो सहज भने छैन । तामाङलाई चुनावमा समस्या पर्न सक्ने अर्को पक्ष भनेको एमालेभित्रको विवाद हो । सो क्षेत्रमा एमालेभित्र चर्को विवाद छ । तामाङले उक्त विवाद समाधान गर्न नसक्ने हो भने थप समस्या पर्ने निश्चित छ । आगामी निर्वाचनमा ह्याट्रिक गर्ने दाउमा रहनुभएका तामाङलाई एमाले विभाजन महँगो पर्न सक्छ ।

यता लामो समय माओवादी केन्द्रको राजनीति गरेका र हालैमात्र एमाले प्रवेश गरेका चौतारा साँगाचोकगढीका अमानसिंह तामाङ सिन्धुपाल्चोक– २ (१) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्नुभएको छ । गठबन्धनकातर्फबाट माओवादीका युवराज दुलाल साझा उम्मेद्वारको रुपमा उभिनुभएको छ । दुलाल यसअघि २०७४ मा पनि यसै प्रदेशसभा क्षेत्रबाट निर्वाचित सांसद हुनुभएको थियो भने तत्कालीन एमाले–माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारमा सामाजिक विकास मन्त्री हुनुभएको थियो ।

यस्तै सिन्धुपाल्चोक–२ (२) बाट प्रदेशसभाका लागि एमालेले हस्तबहादुर पण्डितलाई उम्मेदवार बनाएको छ । पण्डित २०७४ को निर्वाचनमा हेलम्बु गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका निमा ग्याल्जेन शेर्पासँग पराजित हुनुभएको थियो । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट भने कांग्रेसले कृष्णकुमार तामाङलाई अघि सारेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?