देवराज महतरा लिस्तिकोट दुगुनागढी ट्रेलरेस च्याम्पियन

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । तेस्रो लिस्तिकोट-दुगुनागढी माउन्टेन ट्रेलरेस प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले हात पार्नुभएको छ । साबिक विजेता धावक महतरा करिब डेढ सय सहभागीलाई पछाडि पार्दै प्रतियोगिताको खुला विधातर्फ लगातार दोस्रोपटक विजेता बन्नुभएको हो । महतराले दुई घण्टा आठ मिनेटमा निर्धारित दूरी पार गर्दै उपाधि जित्नुभएको हो ।

मोहनदेव जोशी दुई घण्टा १५ मिनेटमा दूरी पूरा गर्दै दोस्रो हुनुभएको हो । राजेन्द्र तामाङ दुई घण्टा १६ मिनेट, सुमन कुलुङ दुई घण्टा २० मिनेट, अर्जुन कुलुङ राई दुई घण्टा २१ मिनेट र वेदबहादुर सुनुवार दुई घण्टा २२ मिनेटमा निर्धारित दूरी पार गर्दै क्रमशः तेस्रो, चौथो, पाँचौँ र छैटौँ हुनुभयो । चौबिस दशमलब पाँच किलोमिटरको ट्रेलरेस भोटेकोशी गाउँपालिकाको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयको प्रांगणबाट ऐतिहासिक भूमि दुगुनागढीमा पुगेर समापन भएको थियो । जिल्लास्तरीय दौडमा भने राजेन्द्र तामाङ प्रथम हुनुभयो । राहुल तामाङ दोस्रो र पूर्वा सिगी लामा तेस्रो हुनुभयो ।

महिला खुलामा प्रिया राई दुई घण्टा ५८ मिनेटमा निर्धारित दूरी पार गर्दै पहिलो हुनुभयो । अनिता राई दोस्रो र सुनकला राई तेस्रो हुनुभयो । भोटेकोशी गाउँपालिकास्तरीयतर्फ नेत्रविक्रम खड्काले तीन घण्टा ३५ मिनेटेमा निर्धारित दूरी पार गरी प्रथम हुनुभयो भने भक्तबहादुर बुढाथोकी दोस्रो र अजय प्रधान तेस्रो हुनुभयो । प्रतियोगितामा खुलातर्फ पहिलो हुनेले नगद एक लाख १० हजार, दोस्रोले ७५ हजार, तेस्रोले ५५ हजार, चौथोले ४० हजार, पाँचौँले ३० हजार र छैटौँ हुने खेलाडीले २० हजार नगद पुरस्कारसहित मेडल प्राप्त गर्नुभएको थियो ।

सिन्धुपाल्चोक जिल्लास्तरीय प्रतियोगितामा प्रथम हुनेले ३० हजार, दोस्रोले २० हजार र तृतीय हुनेले १५ हजार नगद रुपैयाँ पुरस्कार पाएका थिए भने महिलातर्फ प्रथम हुनेले ६० हजार, द्वितीयले ३५ हजार र तृतीय हुनेले २० हजार रुपैयाँ प्राप्त गरेका थिए । यस्तै, भोटेकोशी गाउँपालिकास्तरीय प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्वितीयले १५ हजार र तृतीयले नगद २० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

गोरख बक्स गण चौताराको संयोजन तथा भोटेकोशी गाउँपालिकाको आयोजनामा प्रतियोगिता भएको हो । ऐतिहासिक नेपाल-तिब्बत युद्ध किल्ला दुगुनागढीको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले विगत तीन वर्षदेखि प्रतियोगिता आयोजना हुँदै आएको छ ।

विजेता धावकलाई प्रमुख अतिथि उपत्यका पृतनापति उपरथि योगराज शर्मा, गोरख बक्सका गणपति कर्णेल जनक सिलवाल, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पा, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव शम्भु तिमिल्सिना, अन्तर्राष्ट्रिय धाविका मिरा राईलगायतले ट्रफी, मेडल, नगद र प्रमाणपत्र प्रदान गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?