विश्व कपमा खराब प्रदर्शनसँगै नाबीको राजीनामा

Read Time = 4 mins

काबुल । अष्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटमा खराब प्रदर्शनसँगै अफगानिस्तानका कप्तान मोहम्मद नाबीले पदबाट राजीनामा दिनुभएको छ । शुक्रबार घरेलु टोली अष्ट्रेलियासँग पराजित भएपछि नाबीले कप्तानबाट राजीनामा दिनुभएको हो । विश्व कपमा अफगानिस्तान जितविहीन रहृयो । अफगानिस्तानले पाँच खेलमा तीन हार र दुई नतिजाविहीनको नतिजा निकाल्यो । अफगानिस्तान समूह एकको पुछारमा रहेर जितविहीन रहने एउटा टोली भएसँगै नाबीको राजीनामा आएको हो । विश्व कपअघि कप्तानी सम्हाल्नुभएका ३७ वर्षीय नाबीको कप्तानीमा अफगानिस्तानले २३ खेल खेल्दा १० जित र १३ हारको नतिजा निकालेको छ ।

शुक्रबारमात्रै एडिलेटमा भएको रोमाञ्चक खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई चार रनले हराएको थियो । अष्ट्रेलियाले दिएको १६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा सात विकेट गुमाएर १६४ रनमात्र बनाउन सक्यो ।

अफगानिस्तानका लागि राशिद खानले अविजित रहँदै ४८ रन बनाउनुभयो । यस्तै, गुल्बादिन नाइबले ३९ रन जोड्दा रहमान उल्लाह गुरुबाजले ३० र इब्राहिम जाड्रनले २६ तथा डार्विस रसोलले १५ रन बनाउनुभयो । त्यसबाहेक अष्ट्रेलियाका जोश हाजलउड र एडम जाम्पाले दुई–दुई विकेट लिनुभयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा आठ विकेट गुमाएर १६८ रन जोडेको थियो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । त्यसबाहेक मिचेल मार्शले ४५ रन जोड्दा मार्कुस स्टोइनिस र डेभिड वार्नरले समान २५-२५ रन थप्नुभयो ।

यता, न्युजिल्याण्डले समूह ‘ए’बाट सेमिफाइनलमा स्थान पक्का गरेको छ । न्युजिल्याण्ड पाँच खेलमा तीनमा जित, एक खेलमा हार र एक खेलमा अंक बाँड्दै सात अंकका साथ सुपर १२ को समूह ‘ए’बाट शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो । जारी विश्व कपमा सेमिफाइनलमा पुग्ने न्युजिल्याण्ड पहिलो टोली हो ।

अष्ट्रेलिया पाँच खेलमा समान नतिजाका साथ सात अंक भए पनि नेट रनरेटका कारण दोस्रो स्थानमा छ । न्युजिल्याण्डको नेट रनरेट प्लस २.११३ छ । अष्ट्रेलियाको माइनस ०.१७३ छ । इंग्ल्याण्ड चार खेलमा दुईमा जित, एक खेलमा हार र एक खेलमा अंक बाँड्दै तेस्रो स्थानमा छ । इंग्ल्याण्डको नेट रनरेट प्लस ०.५४७ छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?