कसिलो अवस्थामा अहिले गठबन्धन अगाडि बढेको छ : खनाल

विवेक खड्का दाङ, संवाददाता
Read Time = 12 mins

२०७० को संविधानसभा निर्वाचनमा दाङबाट निर्वाचित कांग्रेसका राजु खनाल अहिले प्रदेशसभा निर्वाचनमा लड्दै हुनुहुन्छ । दाङ क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिनुभएका खनालले गठबन्धनको बलियो शक्ति रहेको यो क्षेत्रमा आफ्नो जित सहज ह
हुने दाबी गर्नुभएको छ । मतदाताहरूमा अघिल्ला जनप्रतिनिधिहरूबाट हुन नसकेका कामहरूको विश्लेषण भइरहेको भन्दै खनालले मतदाताहरूको आधारभूत आवश्यकता प्रदान गर्ने सामथ्र्य आफूमा रहेको दाबी गर्नुभयो । चुनावी एजेण्डा र चुनाव जित्ने आधारका विषयमा केन्द्रित रहेर राजु खनालसँग दाङ संवाददाता विवेक खड्काले गर्नुभएको कुराकानी ।

मतदाताहरूको दृष्टिकोण कस्तो पाउनुभएको छ ?
विगतमा पनि हामीहरूले तपाईंलाई सधैं साथ दिँदै आयौँ तर जुन स्थिरताको कल्पना भएको थियो त्यो भएन भन्ने गुनासो छ । यो गुनासो समग्र राजनीतिप्रतिको गुनासो हो । राजनीतिक दलहरू स्थिरताको पक्षमा लाग्नु होला, हामीहरूलाई सुखसुविधा प्रदान गर्नु होला भन्ने आशा गरेका थियौँ भनेर मतदाताहरू गुनासो राख्नुहुन्छ । त्यसमा पनि संविधान निर्माणपछिको अवस्थाबाट मतदाताहरू अझ बढी आशावादी भएको मैले पाएँ । तर, त्यो आशा पूरा भएन भन्ने नै मतदाताहरूको गुनासो छ । यसकारण राजनीतिक नेतृत्वप्रतिको आक्रोश छ, दलहरूले केही गर्न सकेनन् भन्ने गुनासो स्वाभाविक पनि छ । हामीले भएका उपलब्धिको रक्षा र आधारभूत आवश्यकता सम्बोधनका लागि गठबन्धन गरेर अगाडि बढेका छौँ भनेर मतदाताहरूलाई भनिरहेका छौँ, मतदाताहरूलाई बुझाउने प्रयत्न गरिरहेका छौँ ।

मतदाताहरूको गुनासो सम्बोधन गर्ने तपाईंको ठोस एजेण्डा के हो ?
हिजोको सोचले हैन, अब जनता केन्द्रित हुनैपर्छ । जनताप्रति उत्तरदायी भएर कार्यक्रम, नीति निर्माण गर्नैपर्छ । तत्कालीनरूपमा सबै ठाउँमा सहज यातायात सेवा उपलब्ध हुन सकोस् । सहजरूपमा हाम्रा सन्ततिहरूले गुणस्तरीय शिक्षा आर्जन गर्न सकून् । हरेक नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच कायम होओस् । कृषकहरूले समयमै मलबिउ पाउन सकून् । कृषकहरूलाई दिन सकिने राहतका कार्यक्रहरू तयार पारेर अघि बढ्ने मेरो योजना हो । प्राकृतिक स्रोत साधनको संरक्षण र प्रवद्र्धन गरेर यहाँ रोजगारीको सिर्जना गरिनु आवश्यक विषय हो । यसर्थ म यो वातावरण निर्माणका लागि लागिपरेको छु, लाग्नेछु र यसको सकारात्मक नतिजाका लागि सफल पनि हुनेछु । म उम्मेदवार भएकाले पनि यही एजेण्डामा केन्द्रित छु ।

मतदाताहरूको धारणा के रहेको पाउनुहुन्छ ?
चुनावका बेलामा अल्मलाउँछन् तर काम भने उल्टो गर्छन् भन्ने आमबुझाइ बनेको छ । बुद्धिजीवीहरूमा पनि राजनीतिक नेतृत्वप्रति आक्रोश छ । त्यसबाट हामीहरूले गल्ती महसुस गरेर अब आउने पुस्ताले मतदाताको त्यो भावनालाई समेटेर गल्ती नगर्ने चेष्टा गर्नुपर्छ । यदि हामीहरूले यसलाई करेक्सन गरेर जान सकेनौँ भने अझ बढी आक्रोश बढ्छ, यथार्थलाई स्वीकार्नुपर्छ । र, संविधान मास्ने प्रयास जसरी कुनै एक दलविशेष एमालेले गर्न खोज्यो । यसले त्यो गलत कदमको हकदार दल एमालेलाई त सबैभन्दा बढी असर पर्ने नै भयो तर अरूलाई पनि कतै न कतै मुछ्दै जाने भयो नि । पाँच वर्षसम्मको म्याण्डेटसहित स्थिर सरकारको परिकल्पना हामीहरूले गर्‍यौँ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आशा देखाएको सरकारको नेतृत्व गरेको दलबाट ठीक उल्टो भयो । संविधान मास्न खोज्ने हर्कत हुनुलाई आममतदाताहरूले सही कि गलत भनेर सहजै बुझ्ने कुरा हो । स्थिर भनेर परिकल्पना गरिएको सरकारका पालामा भएको अनियमितता, प्रेसमाथिको अधिकार कुण्ठित गरिनु आमनागरिकको हितअनुकूलका कामहरू भएनन् । अनि कोरोना संक्रमणका बेला नागरिकहरू छट्पटाएर बस्नुपरेको जर्जर अवस्था थियो । यो बेलामा नागरिकहरूलाई राज्यको सहारा चाहिएको थियो तर त्यही बेला नागरिकका लागि खरिद भएका स्वास्थ्य सामग्रीमा भएका घोटालाले आमनागरिकहरूलाई तत्कालीन राज्य संयन्त्रप्रति झनै बढी क्रुद्ध बनाएको हामीले देख्यौँ । हामी अहिले तिनै गलत कदमको विरोधी शक्तिहरू मिलेर गठबन्धनमा छौँ । हाम्रो अहिलेको एजेण्डा पनि मुलुकमा भएका उपलब्धिहरूको रक्षा हो । त्यसपछि जनताको सेवासुविधाका लागि हाम्रो अर्को मूल प्रतिबद्धता हो ।

तपाईंले गठबन्धनको कुरा गर्नुभयो, चुनावमा यसको कार्यान्वयनको पाटोलाई कति मजबुत देख्नुहुन्छ ?
निर्वाचनमा यो अझ कस्सिएर जान्छ । हिजो स्थानीय तहको चुनावमा गठबन्धन कार्यान्वयनको पहिलो अभ्यास भयो । एउटा पार्टीको चुनाव चिहृनमा अर्को पार्टीका मतदाताहरूले मत हाल्ने अभ्यासको सुरुवात हिजो भयो । यसको कार्यान्वयनमा केही सामान्य कमजोरी भए होलान् । र, अर्को कुरा मतदानका क्रममा देखिएको मतपत्रको उल्झनका कारण बदर मतको संख्या बढेर गयो र घोराही उपमहानगरको परिणाम हाम्रो अनुकूल हुन सकेन । तर, अहिले मतदाताहरू सबै सचेत हुनुहुन्छ । मतपत्रको उल्झन पनि अहिले त्यस्तो जटिल छैन । र, गठबन्धनलाई मजबुत बनाएर राष्ट्रहितका पक्षमा सबै अडिग रहनुपर्छ भन्ने बुझाइ आममतदाताहरूमा परेको छ । यसले पनि गठबन्धन कार्यान्वयनको पाटो बलियो बनेर आगामी निर्वाचनमा गठबन्धनको सहज जित प्रष्टै देखिएको छ । हिजोभन्दा अझ कसिलो अवस्थामा अहिले गठबन्धन अगाडि बढेको छ । यदि हामी अहिले चुक्यौँ भने फेरि राजनीतिक अस्थिरतामा मुलुक जान्छ भन्ने चेत गठबन्धनका नेतादेखि तल्लो तहका कार्यकर्ताहरूसम्म नै छ ।

कांग्रेसले आफ्नो योगदानको जस लिन सक्दैन, अरूले लिन्छन् र चुनावी एजेण्डा बनाउँछन् भन्ने चर्चा चल्छ नि ?
यो सत्य हो । मुलुकमा भएका हरेक उपलब्धिको जस एमालेले लिन खोजिरहेको छ । मैले उदाहरणकै रूपमा भन्छु म अहिले जुन निर्वाचन क्षेत्रमा उम्मेदवार बनेको छु, यो क्षेत्रमा अघिल्लोपटक एमालेका नेता शंकर पोखरेल निर्वाचित हुनुभयो र मुख्यमन्त्री पनि बन्नुभयो । उहाँ अहिले प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि हुनुहुन्छ । उहाँले हिजो निर्वाचित भएको क्षेत्रअन्तर्गत बंगलाचुली गाउँपालिकामा के काम गर्नुभयो ? म उहाँलाई सोध्न चाहन्छु ।

म धेरैपटक त्यहाँ पुगेँ तर उहाँले मैले यसो काम गरेँ भनेर देखाउने एउटा ठाउँ छैन । तर, उहाँकै दलका कार्यकर्ताहरूले अन्य ठाउँका योजनाहरूलाई हामीहरूले गरेका हौँ भनेर प्रस्तुत गरिरहनुभएको छ । मैले फेरि पनि प्रश्न गरेँ कि हिजो मुख्यमन्त्री भएका शंकर पोखरेलले गरेका काम खोई ? एउटा त देखाउनुहोस् । यसर्थ, उहाँहरूले आफूहरूले गलत प्रचारबाजी गरेर हरेक उपलब्धिको जस लिन खोज्नुहुन्छ, यो उहाँहरूको प्रवृत्ति नै हो । तर, मतदाताहरूलाई यसरी गलत प्रचारबाजी गरेर अब अल्मल्याउन सकिने छैन । मतदाताहरूले सत्य के हो ? भनेर बुझिसक्नुभएको छ ।

तपाईंका चुनाव जित्ने आधारहरू के छन् ?
पहिलो कुरा म संविधानसभा सदस्य हो । म यही निर्वाचन क्षेत्रबाटै निर्वाचित भएर संविधान लेखन जस्तो महत्वपूर्ण ऐतिहासिक काममा सहभागी भएँ । यससँगै मैले यहाँको विकास निर्माणका लागि मेरो अर्को प्रतिबद्धता थियो । मैले संविधान निर्माण र विकास निर्माण दुईवटै प्रतिबद्धता पूरा गरेँ । गत प्रतिनिधिसभा निर्वाचनमा पनि म उम्मेदवार बनेँ । त्यो बेला पनि मलाई मतदाताहरूले माया गर्नुभयो । तर, त्यो बेला माओवादी र एमालेको गठबन्धनका कारण म पराजित बन्न पुगेँ । र, अहिले पनि मतदाताहरूको भरोसा मप्रति छ । किनभने म हिजो सांसद निर्वाचित भएका बेला पनि कांग्रेस सरकारमै थियो । त्यो बेला ममाथि लाञ्छना लगाउने कुनै ठाउँ मैले दिइनँ । यसले काम गर्न सकेन, आर्थिक हिनामिनामा जोडियो भनेर मैले कतैबाट गुनासो गर्ने ठाउँ दिइनँ । यीसँगै हरेक गलत अनियमितताका कुरामा मेरो नाम जोडिएन । यसर्थ, यो काम गर्ने मान्छे हो भन्ने बुझाइ मप्रति मतदाताको छ । त्यसमा पनि म आन्दोलनबाट आएको व्यक्ति हिजो पञ्चायत विरोधी आन्दोलनमा विद्यार्थी आन्दोलनबाट निरन्तर राजनीतिमा सक्रिय रहेको मान्छे हुँ म । त्यसैले सहजतापूर्वक हामीले चुनाव जित्ने आधार छ । र, मप्रतिको मतदाताको प्रेम, सद्भावले पनि मलाई जित दिलाउँछ भन्नेमा म ढुक्क छु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?