जसपाको घोषणापत्र : राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचितदेखि संविधानको पुनर्लेखनसम्म

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेशहरूमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको मुद्दा अगाडि सारेर आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा सार्वजनिक घोषणापत्रमा संघमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको सरकार गठन हुनुपर्ने उल्लेख छ । जसपाले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालेमल गरेको छ । निर्वाचन आयोगका अनुसार जसपाले प्रतिनिधसभातर्फ ७९ स्थानमा उम्मेदवारहरू उठाएको छ । यद्यपि, एमाले र जसपाका बीचमा प्रतिनिधिसभाका १७ निर्वाचन क्षेत्रमा चुनावी तालमेल भएको छ ।

जसपाले संघमा सरकार निर्माण गरेमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेशहरूमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था गर्ने एजेण्डा अघि सार्दै घोषणापत्रमा भनेको छ, ‘प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यताअनुरूप संघमा बालिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने । प्रदेशहरूमा मुख्यमन्त्री तथा विशेष संरचना र स्थानीय तहहरूमा त्यहाँको कार्यकारी प्रमुख पनि बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने ।’ जसपाले कार्यकारी राष्ट्रपतिले समावेशी मन्त्रिपरषद् गठन गर्ने व्यवस्था हुने भन्दै घोषणापत्रमा उल्लेख गरेको छ, ‘कार्यकारी राष्ट्रपतिले समावेशी रूपमा सक्षम व्यक्तिहरूको छनोट गरी मन्त्रिपरिषद् बनाउने । शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप मन्त्रीहरू राजनीतिज्ञ र विशेषज्ञ मध्येबाट राष्ट्रपतिले नियुक्त गर्ने ।’

यस्तै, जसपाले संघीय र प्रदेश संसद् भने पूर्ण समानुपातिक गर्नुपर्ने धारणा अगाडि सारेको छ । त्यस्तै, कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी एकै कार्यकारी पदमा रहन नहुने कानुनी व्यवस्था गर्ने भन्दै जसपाले भनेको छ, ‘संघीय संसद् र प्रदेशसभाहरू पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गरिने । कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने ।’ संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र सहकार्यात्मक सिद्धान्तमा आधारित सम्बन्ध हुने भन्दै जसपाले आफ्नो घोषणापत्रमा लेखेको छ, ‘कार्य क्षमताको अभाव र खराब आचरण भएको वस्तुनिष्ठ आधार र कारणहरू भएमा सबै तहका सरकारको पदाधिकारीहरूमाथि प्रत्याह्वान गर्न वा महाभियोग लगाउन सकिने व्यवस्था गर्ने ।’

दुई वर्षमा खाद्यान्नमा आत्मनिर्भर हुने, पाँच वर्षमा गरिबी हटाउने
जसपाले आफ्नो घोणापत्रमा विकास योजनाहरू तर्जुमा गर्दा तीव्र आर्थिक वृद्धिका साथै समतामूलक समाज निर्माण गर्न जोड दिने र यसका लागि पाँच वर्ष, १० वर्ष र २५ वर्षको योजना तर्जुमा गर्ने उल्लेख गरेको छ । त्यस्तै, कुल गार्हस्थ उत्पादनको ५० प्रतिशत स्थिर पुँजीको रूपमा विकास गर्ने, पाँच वर्षमा निरन्तर दुई अंकको आर्थिक वृद्धि हासिल गर्ने र प्रतिव्यक्ति आय पाँच वर्ष हजार डलर पु¥याउने तथा पाँच वर्षभित्र निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई गरिबीबाट मुक्त गर्ने र बहुआयामिक गरिबीको अनुपातलाई एकल अंकमै सीमित गर्ने घोषणापत्रमा उल्लेख छ । परम्परागत निर्वाहमुखी कृषि अर्थतन्त्रलाई आधुनिक आत्मनिर्भर औद्योगिक अर्थतन्त्रमा प्रवद्र्धन गर्न कृषिमा आधारित उद्योगको विकासलाई प्राथमिकता दिने जसपाले प्रतिबद्धता पत्रमा उल्लेख छ । कृषिको वैज्ञानिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण गर्नुको साथै कृषि फार्महरूको विकास गरी दुई वर्षभित्र खाद्य पदार्थहरूमा आत्मनिर्भर हुने प्रतिबद्धता जसपाले जनाएको छ ।

पाँच वर्षभित्र सुनकोशी-कमला, भेरी-बबई, कर्णालीलगायत ठूला नदीहरूबाट पानी डाइभर्सन गरी देशैभरि सिँचाइ सुविधा पु¥याउने नीति लिने जसपाले घोषणापत्रमा उल्लेख गरेको छ । गरिबीलाई पाँच वर्षभित्र मुक्त गर्ने जसपाको घोषणा छ । दुई वर्षभित्र कृषि विकासका लागि नेपालमा रासायनिक मल कारखाना खोल्ने जसपाको प्रतिबद्धता छ । पाँच वर्षभित्र ऊर्जा शक्तिमा आत्मनिर्भर हुने नीति अवलम्बन गरी जलविद्युत्लाई निर्यातको मुख्य उत्पादन बनाई आगामी पाँच वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने जसपाले जनाएको छ ।

सडकमार्गदेखि रेलमार्गसम्म
पूर्व-पश्चिम लोकमार्गलाई स्तरोन्नति गरी चार लेन बनाउने र काठमाडौंको रिङरोडलाई पाँच वर्षभित्र साइकल लेनको समेत व्यवस्था गरी आठ लेनको बनाउने जसपाले जनाएको छ । चीनसँग जोडिएको केरुङ नाकाबाट भारत जोड्ने उत्तर दक्षिण रेलमार्ग तथा देशको पश्चिमी भेगमा भारत-चीनसँग व्यापारिक सम्बन्ध जोड्ने मुस्ताङ र डोल्पा नाकासम्म लोकमार्ग निर्माण गर्ने जसपाले घोषणापत्रमा उल्लेख गरेको छ । जसपाले घोषणापत्रमा काठमाडौंका चन्द्रागिरिदेखि धुलिखेलसम्मका आसपासका नगरपालिकाहरूलाई समेटी मेट्रो रेल सञ्चालन गर्ने उल्लेख गरेको छ । यस्तै, प्रत्येक पालिका तहमा वरिष्ठ फिजिसियन सहितको चिकित्सकीय दरबन्दी कायम गरी २५ शैय्याको सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्ने जसपाको घोषणापत्रमा उल्लेख छ ।

वर्तमान संसदीय प्रणाली अक्षम : अध्यक्ष यादव
घोषणापत्र सार्वजनिक गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संसदीय प्रणालीले देशमा राजनीतिक स्थिरता दिन नसकेको र गणतन्त्रलाई बलियो बनाउन पनि अक्षम भएको टिप्पणी गर्नुभएको छ । मुलुकका हरेक राज्यका अंगमा देखिएका समस्या हटाउन वर्तमान संविधान संशोधन गर्नु अपरिहार्य रहेको जिकिर गर्दै यादवले भन्नुभयो, ‘राजनीतिक स्थिरता, लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने र तीव्र्र रूपले अब आर्थिक क्रान्ति, आर्थिक परिवर्तनको बाटोबाट समृद्धितर्फ लैजान जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतीय प्रणाली बनाएर स्वतन्त्र र निष्पक्ष न्यायालय, राजनीतिक हस्तक्षेप र कार्यकर्ताको नियुक्ति, राजनीतिक प्रभावबाट मुक्त स्वतन्त्र र सक्षम न्यायालयको व्यवस्था गर्नको लागि वर्तमान संविधान संशोधन गर्नुपर्छ ।’ देशको वर्तमान निर्वाचन प्रणालीलाई खिचडीको संज्ञा दिँदै अध्यक्ष यादवले निर्वाचन प्रणाली महंगो, विकृतिमूलक भएको दाबी गर्नुभयो ।

नेपाली कम्युनिष्ट ‘कमाउनिष्ट’, कांग्रेस ‘इतिहासको ब्याज खाने पार्टी’
जसपाले नेपालका कम्युनिष्टहरूलाई ‘अवसरवादी-कमाउनिष्ट’ र नेपाली कांग्रेसलाई इतिहासको ब्याजमा बाँचेको पार्टीको संज्ञा दिएको छ । असोज पहिलो सातासम्म नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन र त्यसपछि एमालेसँग चुनावी तालमेल गरेको जसपाले कम्युनिष्टलाई ‘कमाउनिष्ट’ र कांग्रेसलाई इतिहासको ब्याजमा बाँचेको पार्टीको आरोप लगाएको हो । राजनीतिक विचारधाराअनुरूप लामो समयदेखि नेपालमा मूलतः तीन थरीका विचार धाराहरू अभ्यासमा रहेको उल्लेख गर्दै जसपाले तिनमा साम्यवादी लक्ष्य बोकेको कम्युनिष्ट विचारधारा, पूँजीवादी उदारवादी विचारधारा र धार्मिक कट्टरपन्थी-राजतन्त्रात्मक शासन प्रणाली रोज्ने पार्टी रहेको टिप्प्णी गर्दै घोषणापत्रमा भनेको छ, ‘साम्यवादी लक्ष्य बोकेको कम्युनिष्ट विचार धारालाई विश्व दृष्टिकोण मानेर धेरै पार्टीहरू जन्मिएका छन् । नेपालमा पनि धेरैथरी कम्युनिष्ट पार्टीहरूले आफूलाई साम्यवादी कित्तामै उभ्याएका छन् । तर, ती व्यवहारतः अवसरवादी र ‘कमाउनिष्ट’ भइसकेका छन् ।’ पुँजीवादी उदारवादी विचार धारालाई नेपाली कांग्रेसले अँगालिरहेको उल्लेख गर्दै जसपाले जसपाले वर्तमानको अर्थ राजनीतिक जटिलतालाई निकास दिनसक्ने ल्याकत नराख्ने दाबी गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?