निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडा बन्दै आयोग

११ दिनमा ५१ घटनामा संलग्नसँग स्पष्टीकरण माग

यज्ञराज पाण्डे
Read Time = 14 mins

काठमाडौं । आचारसंहिता उल्लंघन गर्नेविरुद्ध निर्वाचन आयोग कडा बन्दै गएको छ । निर्वाचनलाई खर्चिलो, भड्किलो र प्रभावित पार्न खोज्ने व्यक्ति, सरकारी कर्मचारी, संघ-संस्था, उम्मेदवार र नेताविरुद्ध आयोग आक्रामक बनेको हो ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा/प्रदेशसभाको निर्वाचन नजिकिँदै गएपछि आचारसंहिता मिच्ने क्रम पनि बढेको छ । ११ दिनको अवधिमा आयोगले आचारसंहिता उल्लंघन गर्ने ५१ घटनामा संलग्नहरू विरुद्ध स्पष्टीकरणपत्र काटेर कारबाही प्रक्रिया अघि बढाइएको आयोगको कानुन महाशाखाले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा क्रममा ६८ वटा घटनामा आयोगले स्पष्टीकरण सोधेको थियो ।

आचारसंहिता मिच्नेहरू विरुद्ध सामाजिक सञ्जाल, सञ्चारमाध्यम तथा व्यक्तिले लिखित रूपमा उजुरी गरिरहेको आयोगले जनाएको छ । शनिबार मात्र आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र नेकपा (एमाले) दाङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार कोमल वलीलाई स्पष्टीकरण सोधेको हो ।

हाम्रो नेपाली पार्टीका अध्यक्षलाई आयोगको प्रश्न- लौरो चुनाव चिन्हमा बालेनलाई किन जोडेको ?
निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र सोही पार्टीका प्रतिनिधिसभा सदस्यका काठमाडौं क्षेत्र नं २ का उम्मेदवार कोषराज सुवेदीलाई दलीय आबद्धता स्पष्ट नगरी ‘काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको साथ छ, लौरोको विजय निश्चित छ’, भनी प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ । उक्त कार्यबाट मंसिर ४ गते हुने निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने तथा आममतदाता समेतलाई भ्रमित गर्ने कार्य भएकाले आफूलाई अमूक व्यक्तिको समर्थन छ भनी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्दा जानाजान प्रचलित निर्वाचन कानुनको उल्लंघनसमेत भएको देखिएको आयोगको पत्रमा जनाइएको छ ।
त्यस्तै, दलीय आबद्धता स्पष्ट नगरी ‘काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको साथ छ, लौरोको विजय निश्चित छ’ भनी प्रचारप्रसार गरेको सोही विषयमा सोही आयोगले उक्त दलका उम्मेदवार सुवेदीलाई बेग्लै पत्र पठाई स्पष्टीकरण सोधेको हो ।

बालेनलाई आयोगको प्रश्न- लौरो चिन्ह भएको हाम्रो नेपाली पार्टीसँग आबद्धता छ कि छैन ?
यता, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई निर्वाचन आयोगले लौरो चुनाव चिन्ह भएको हाम्रो नेपाली पार्टीसँगको सम्बन्धबारे स्पष्टीकरण सोधेको छ । बालेन लौरो चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार भई मेयरमा निर्वाचित भएपछि हाम्रो नेपाली पार्टीले सोही चिन्हलाई आफ्नो चुनाव चिन्ह बनाई दल दर्ता गरेको थियो । अहिले सो पार्टी ४ मंसिरको चुनावमा यही चुनाव चिन्ह लिएर चुनाव लडिरहेको छ । तर, बालेन र सो पार्टीबीच कुनै सम्बन्ध औपचारिक रूपमा देखिएको छैन । तर, पनि सो पार्टीले बालेनको नाम प्रचार प्रसारका क्रममा प्रयोग गरिरहेको छ । यही विषयमा स्पष्ट पार्न बालेनलाई निर्वाचन आयोगले पत्र काटेको हो ।

आयोगले भनेको छ, ‘हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट लौरो अभियान सञ्चालन गरेको र त्यसमा बालेनको साथ छ’ भन्ने समेतका व्यहोरा उल्लेख गरी प्रचारप्रसार गरेको पाइएको छ । उक्त हाम्रो नेपाली पार्टीका विभिन्न क्षेत्रका उम्मेदवारहरूलाई यसपूर्व नै आयोगले निजहरू स्वतन्त्र उम्मेदवार नभई दलका उम्मेदवार रहेको र निजहरूले आफू स्वतन्त्र उम्मेदवार भनी प्रचारप्रसार गर्न नमिल्नेबारे सचेत गराइसकेको छ । ‘हाम्रो नेपाली पार्टी र उक्त पार्टीका उम्मेदवारले प्रत्यक्ष रूपमा यहाँको समेत नाम र तस्बिर प्रयोग गरी प्रचारप्रसार गरिरहनु भएको छ । देशको राजधानी शहरसमेत रहेको काठमाडौं महानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भई कार्यभार सम्हालिरहनु भएको यहाँको उक्त दलसँग कुनै आबद्धता नै रहे भएको जस्तो गरी यहाँको तस्बिर र नाम निरन्तर प्रयोग भइरहेको विषयमा आयोगको ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको हो’ अयोगको पत्रमा उल्लेख छ ।

विद्यार्थीलाई प्रयोग गरेको आरोपमा कोमल वलीसँग स्पष्टीकरण
आयोगले नेकपा (एमाले) दाङ निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवार कोमल वलीलाई चुनाव प्रचार प्रसारका क्रममा बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ । चुनाव प्रचारका क्रममा बालबालिकाको प्रयोग गरेको फोटो प्राप्त भएको भन्दै आयोगले एमालेबाट दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारसमेत रहेकी वलीलाई स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहितामा चुनाव प्रचार प्रसारमा उम्मेदवारले बालबालिकाको प्रयोग गर्न नहुने उल्लेख छ । चुनाव प्रचार प्रसारका क्रममा एमाले उम्मेदवार वलीले बालबालिकाको प्रयोग गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको थियो । वलीलाई स्पष्टीकरणपत्र प्राप्त भएको २४ घण्टाभित्र जवाफ दिन आयोगले भनेको छ । आयोगले वलीलाई तीन प्रश्न सोधेको छ जसमा आचारसंहिताको प्रतिकूल हुने गरी प्रचारप्रसार गरेको होइन भन्ने प्रमाण के छ ?, किन जानाजान आचारसंहिता उल्लंघन हुने कार्य गरेको ? र निर्वाचन प्रचार प्रसारमा बालबालिकाको प्रयोग गर्न हुँदैन भन्ने जानकारी हुँदाहुँदै उक्त कार्य गरेको देखिएकाले किन कारबाही हुनु नपर्ने ? भन्ने प्रश्न सोधेको हो ।

आयोगले उहाँलाई यस विषयमा २४ घण्टाभित्र जवाफ पेस गर्न भनेको छ । ‘निर्वाचन प्रचार प्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै तपाईंले सो कार्य गरेको देखिएकाले निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ?,’ आयोगले भनेको छ ।

तोसिमा कार्कीविरुद्ध भ्याकेट निवेदन दिएको आयोग भन्छ- सर्वोच्चको अन्तरिम आदेश त्रुटिपूर्ण
ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी रद्द गर्ने आफ्नो निर्णय सर्वोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएपछि सर्वोच्च पुगेको आयोगले सर्वोच्चको अन्तरिम आदेश त्रुटिपूर्ण रहेको बताएको छ । तोसिमाले लाभको पद लिएको भन्दै उहाँको उम्मेदवारी खारेजी गराएको सर्वोच्चको निर्णयविरुद्ध आयोगले भ्याकेट निवदेन दिँदै भनेको छ, ‘राज्यको सुविधा प्रयोग गरेर चुनाव निष्पक्ष रूपमा हुन सक्छ भनी अनुमान गर्न सकिँदैन, डा. कार्कीको हकमा भएको अन्तरिम आदेश पूर्णतः त्रुटिपूर्ण भएकोले बदर गरिपाऊँ ।’

नियामक निकायको पदमा बहाल र निर्वाचनमा उम्मेदवार हुँदा सबै उम्मेदवारप्रति समान व्यवहार नहुने भएकाले सबैलाई समान अवसर प्रदान गर्न आयोगले निर्णय गरेको हुँदा अदालतबाट जारी भएको अन्तरिम आदेश बदर गर्न आयोगले भनेको छ । काउन्सिलमा निर्वाचित भएपछि डा. कार्कीले नेपाल मेडिकल काउन्सिलको नाममा शपथ लिएको समेत आयोगले निदेनमा उल्लेख गरेको छ । डा. कार्कीले शपथको समेत उल्लंघन गरेको उल्लेख गरेको छ ।

मेडिकल काउन्सिलको सदस्यका रूपमा कानुन बमोजिमका जिम्मेवारीहरू इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा आफूखुसी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने कार्य कानुनी र नैतिक रूपमा समेत बदनियतपूर्ण देखिएको आयेगको ठहर छ । ‘अदालतबाट जारी भएको अन्तरिम आदेश बदर गरी डा. कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्यको रूपमा कार्य गर्न चिकित्सा व्यवसायी तोकिएका जिम्मेवारी पूरा गर्न प्रतिबद्ध गराईपाऊँ,’ भ्याकेट निवेदनमा भनिएको छ ।

आचारसंहिता उल्लंघन भइरहे जरिवानासमेत गर्छौं : आयुक्त जबरा
निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन राजनीतिक दल, उम्मेदवार, सञ्चार माध्यम, सुरक्षाकर्मीलगायत सबै सरोकारवालाहरूको हातेमालो आवश्यक भएको बताउनुभएको छ ।

निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा जनकपुरधाममा आयोजित ‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ : निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा आयुक्त जबराले निर्वाचन आयोगको एक्लो प्रयासबाट मात्र निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न हुन नसक्ने भएकाले यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभएको हो ।

‘निर्वाचन आयोगले मात्र भयरहित वातारणमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन सक्दैन’, आयुक्त जबराले भन्नुभयो, ‘यसमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सबै सरोकारवालाहरूको हातोमालो जरुरी छ ।’
उहाँले निर्वाचन आचारसंहिता पालन गर्न सबैपक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । ‘निर्वाचन आयोग कसैलाई पनि कारबाही गर्न इच्छुक छैन’, आयुक्त जबराले भन्नुभयो, ‘तर, निर्वाचन आचारसंहिता उल्लंघन भइरहे आयोग चुप लागेर बस्दैन, अब स्पष्टीकरण मात्र सोधिने होइन जरिवाना पनि गर्न सुरु गरिसकेका छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?