साम्यवाद, समाजवाद, पुँजीवाद होइन मध्यमवर्गवाद

Read Time = 16 mins

✍️ स्वयम्भुनाथ कार्की

पुँजीवादका समर्थकले ९० को दशकदेखि निरन्तर साम्यवादलाई अव्यावहारिक र पतन्नोमुख व्यवस्था हो भन्ने कुराको समर्थन गर्ने घटनाक्रम उदाहरणको रूपमा पाउँदै गए । सोभियत संघको विगठनपछि त्यहाँ उजागर भएको आर्थिक मन्दी होस् या राज्य नियन्त्रित वा समुदायमा आधारित उत्पदन प्रणालीलाई खुकुलो पारेर निजी क्षेत्रलाई पनि उत्पादन प्रणालीमा सामेल गराउने चीनको आर्थिक, पुँजीवादका समर्थकहरूलाई साम्यवादको क्षणभंगुरता औंल्याउने बलियो आधार भयो । यस्ता तर्कको खण्डनको निमित्त साम्यवादको सिद्धान्त ठीक भएको र विभिन्न बाहृय कारण अझ पुँजीवादी षड्यन्त्रको प्रतिफल भएको जिकिरबाहेक अन्य तथ्य साम्यवादका समर्थकसँग नरहेको झैँ देखियो ।

त्यसको करिब डेढ दशकमा स्थिति करिब करिब उल्टियो । पुँजीवादी व्यवस्थाको सबैभन्दा बलियो उदाहरण भएको अमेरिका र अहिले देखिएको आर्थिक मन्दीले साम्यवादीलाई फेरि हौस्यायोे । निजी उपक्रमलाई आर्थिक मन्दीको चपेटाबाट बचाउन सरकारले मद्धत गर्न लागेको घटनालाई उत्पादन साधनमा राज्यको स्वामित्व हुनुपर्ने साम्यवादको आधारभूत सिद्धान्तको स्वीकारोक्तिको रूपमा चित्रित गर्न बल पुग्यो । बिक्री हुन छोडेका कार्ल माक्र्सका ठेलीहरूको माग हृवात्तै बढेका समाचार प्रसस्त सुनियो । पुँजीवाद र साम्यवादको बीचको आर्थिक नीति पैरबी गर्ने सामजवादीहरू पनि पुँजीवाद र साम्यवादको योे दन्तबझानमा आफ्नो अपरिहार्यता सावित भएको आकलन गरेर मख्ख भए र छन् पनि ।

सामाजिक सुरक्षा, समान अवसर र नागरिक अधिकारको प्रत्याभूति गर्ने, आर्थिक उपार्जनको निमित्त आफ्नो क्षमता र कुशलता प्रयोग गर्नुपर्ने पुँजीवादी धारणा हो । तोकिएको काम गरेर दाना, नाना र छानाको चिन्ता गर्नु नपर्ने साम्यवादी धारणा हो ।

किन्तु परन्तुले भरिभराउ नीति समाजवादको चरित्र हो । यसै नीति अनुसारको कानुन बन्दा समाजवाद धेरै जसो भ्रष्टाचरको उर्वरभूमि भएको छ । विश्वमा विद्यमान भ्रष्टाचारका किसिममध्ये धेरै किसिमहरू समाजवादमा मात्र छन्, साम्यवाद वा पुँजीवादमा त्यस प्रकारका भ्रष्टाचारहरूको अस्तित्व सम्भव छैन । यसको अर्थ साम्यवाद वा पुँजीवादमा भ्रष्टाचार छैन भन्ने होइन । साम्यवादमा मात्र मौलाउन सक्ने र पुँजीवादको काखमा मात्र हुर्कने भ्रष्टाचार सामेल भएर थप किसिमका भ्रष्टाचार पनि समाजवादमा पाइन्छ ।

समाजवादमा यसको नीतिलाई टेवा दिन बनाइने नियम कानुनहरू अत्यन्तै दुरुह हुने गर्दछन् । यसको परिणामस्वरूप कुनै कार्य केही समयअगाडि अत्यावश्यक हुन्थ्यो भने अहिले त्यही अपराध हुन सक्छ । आफूले गरेको कुन काम कतिखेर राम्रो र कतिखेर अपराध हुन्छ यो नै जान्न मुस्किल हुन्छ । यसको फलस्वरूप समाजका टाठाबाठा या राष्ट्रसेवकहरूले जसो भन्छन् त्यसै गर्न जनता बाध्य हुन्छन् ।
समाजवादमा प्रयोग गरिने ‘सीमान्तीकृत वर्ग’, ‘निरपेक्ष गरिबीको रेखा’ आदि जस्ता शब्दावलीको परिभाषा र परिधि मुलुक, क्षेत्र वा समाजअनुसार फरक पर्ने र उनीहरूको विशेषाधिकार हुने कारणले सामान्य हेरफेरबाट त्यस परिधिमा पर्न मानिसहरू प्रयत्नरत रहने गर्दछन् । अवास्तविक पारपाचुके वा अंशबण्डाको बेलाबखत चल्ने लहर यसै प्रयत्नको उपज हो । सबैजसो जनता जानी नजानी कमसे कम एकपटक भए पनि यस्ता कार्यमा संलग्न हुन पुग्छन् जसलाई समाजवादी व्यवस्थाले अपराध भन्दछ ।

एउटा सरल उदाहरण निकटवर्ती विदेशी बजारमा किनमेल गरेर राज्यको राजस्वमा घाटा पार्नु हो । आफ्नो अन्तरआत्माले कानुन नाघेको महसुस गर्न बाध्य बनाइएका जनता हमेसा अज्ञात डरले सताइएका हुन्छन् । यस्ता मनस्थितिमा भएका जनता आफ्नो साथ वा स्वार्थसाधन गरिदिने टाठाबाठाहरूको हरेक कुरामा समर्थन गर्न बाध्य हुन्छ । यो नै दासमनोवृत्ति हो ।

सामाजिक सुरक्षा, समान अवसर र नागरिक अधिकारको प्रत्याभूति गर्ने, आर्थिक उपार्जनको निमित्त आफ्नो क्षमता र कुशलता प्रयोग गर्नुपर्ने पुँजीवादी धारणा हो । तोकिएको काम गरेर दाना, नाना र छानाको चिन्ता गर्नु नपर्ने साम्यवादी धारणा हो । पुँजीवादका आलोचकहरूले लगाउने गरेको दोष यसले निमुखा र कमजोरको रक्षा गर्दैन भन्ने हो । साम्यवादका आलोचकहरूका भनाइ साम्यवादमा व्यक्तिगत स्वतन्त्रता हुँदैन भन्ने हो । यस्ता आलोचनाहरू सही नै मान्ने हो भने पनि दुवै व्यवस्थाले केही कुरा खोसेर भए पनि धेरै कुराको प्रत्याभूति गर्दछ । अन्य दुवै व्यवस्थाको दाँजोमा दुवैको विशेषता बोकेको दाबी गर्ने समाजवादले वास्तवमा दुवैका आलोचनात्मक गुणहरू अपनाएको छ ।

सीमान्तीकृतको कल्याणको नाममा आफूलाई मन नपरेकाहरूको स्वतन्त्रता खोस्ने र बजारमुखी अर्थतन्त्रको नाममा मध्यमवर्गको उद्यम प्रयत्नलाई अवरोध गर्ने काम केवल समाजवादमा मात्र सम्भव छ । ठूला-ठूला कारखाना, धेरै लगानी र प्रसस्त मान्छेको श्रम एकीकृत गरेर मुलुकको औधोगिक विकास गर्ने, उन्नतिको शिखरमा पुग्ने चाहना आजको आमसोचाइ हो । उन्नति, प्रगति कसलाई पो चाहिएको छैन र ? विश्वभरका नेताले देखाउने गरेको सपना र सर्वसाधारणले गर्ने गरेको कल्पना पनि उन्नत तथा समृद्ध समाजको हिस्सा हुन पाउनु नै हो । तर, यो सव सपना तथा कल्पना साकार गर्ने नाममा मान्छेको आफ्नो जीवनशैली कस्तो भइरहेको छ भन्नेतर्फ ध्यान पुर्‍याउनुपर्दछ, जो गर्ने फुर्सद कसैलाई छैन ।

अगाडि पर्ने होडमा दगुरादगुर गर्दा गर्दै एउटा शिशुको शैशव निमोठिएको हुन्छ । बालकको बालपन गरुङ्गा पुस्तक खाँदिएको झोलामुनि थिचिन्छ । किशोर वा युवाको यौवन प्रगतिको भनिने भीमकाय मेसिनको महत्वपूर्ण पुर्जा हुने अभिलाषामा बली चड्छ । जब प्रौढ अवस्थामा आइपुग्छ त्यसबेला आफ्ना बन्धुबान्धव, शाखासन्तान भएर पनि एक्लो जीवन बाँच्न बाध्य हुन्छ तब उसले सोच्छ सम्पूर्ण जीवनकालमा उसले के गर्‍यो र त्यसको उपलब्धि के भयो ? यो कुरा वैराग्यको होइन ।

कसैले मिहिनेत वा श्रम कसका निमित्त गर्दछ ? सम्पूर्ण सय जीवनकालमा मान्छे आफ्नो निमित्त कति समय बाँच्यो ? यो प्रश्नको उत्तरमा गहिरिने हो भने उन्नति भनेको के आज हामीले परिभाषा गरेको झैँ हो त ? यदि उन्नति यही हो भने यो उन्नति कसका निमित्त भयो ? उत्तर आउन सक्छ, समाजका निमित्त । फेरि प्रश्न आफ्नै स्थानमा छ, यो समाज भनेको के हो ? यसको हिस्सा मानव हो वा होइन ? निश्चय नै मानव समूह नै समाज हो । मानव समाजमा मानव नै भएन भने त्यो के समाज तर यो मानव समाजको प्रगतिले के बहुसंख्यक मान्छेलाई केही समय आफ्ना शिशुको शैशव क्रीडा हेरेर रमाउने अवसर दियो त ? दिएन ।

आफ्ना प्यारा सन्ततिको भविष्य सुधार्ने नाममा बिहान उठेदेखि रात नछिप्पिउन्जेल पाठ र शिक्षाको भारी भिराउँदा उनीहरूको बालापन र यौवन कता हरायो कसैलाई थाहा छैन । प्रगतिको यो घानमा भुटिँदा भुटिँदै पनि कोही प्रौढ अवस्थासम्म पुग्न सफल भएछ भने पनि एकांकी जीवनले उसलाई गिज्जाइरहन्छ । अझ कुनै कुनै समाजमा त थोत्रा कुरा मिल्काउने ठाउँमा मिल्काए झैँ बुढाबुढीलाई थन्क्याउन वृद्धाश्रम पनि छँदैछन् ।

पुँजीवादको जाँतो होस् वा साम्यवादको चेपुवा दुवै प्रगतिको नाममा मानवलाई एउटा अदृश्य मेसिनको पुर्जा बनाउने प्रणाली हुन् । मानवलाई एउटा अदृश्य मेसिनको दास बनाउने कुनै पनि पद्धति मानवताको हित हुँदैन । दैनिक आवश्यकताका साधनहरूको आपूर्तिको केन्द्रिकरण, जो ठूलाठूला उद्योगहरूको उत्पादन र करिब करिब एकाधिकारले हुन्छ, हानिकारक हुन्छ । जीवन बाँच्ने क्रममा आफूमै सक्षम भएर सम्पूर्ण रूपमा जीवन व्यतीत गर्न पाउने परिस्थिति पुँजिवादी व्यवस्थामा सम्भव छैन भने साम्यवाद र समाजवादमा त कल्पना पनि असम्भव छ ।
जबसम्म उत्पादन प्रणालीमा सर्वसाधारणको सम्पूर्ण पहुँच हुँदैन तबसम्म समाज आत्मनिर्भर हुँदैन । यहाँ भनिएको पहुँच त्यसमा श्रम गर्न पाउने परिस्थिति वा शेयर अथवा सामूहिक स्वामित्व होइन । आफ्नो चिजमा आपूmखुसी गर्न पाउने अवस्था सामूहिक स्वामित्वमा हुँदैन भने श्रम लगानी मात्रमा त हुने कुरै भएन ।

नेपालको परम्परागत उत्पादन कृषिमा आधारित हो । परम्परागत उत्पादन प्रणालीलाई जतिसुकै पिछडिएको भनिए पनि आत्मनिर्भर प्रणाली भएको कारणले इतिहासमा यसअघि विश्वले ब्यहोरेको विकरालभन्दा विकराल आर्थिक मन्दीको कुनै प्रभाव नेपालमा परेको थिएन । तर, अहिले उन्नति वा प्रगतिको नाममा जसरी सम्पूर्ण विश्वको आर्थिक व्यवस्था केही सम्पन्न मुलुकको हातमा परेको छ यसले अहिलेको आर्थिक मन्दीको डरलाग्दो असर ती मुलुकमा भन्दा गरिब मुलुकहरूमा विकराल रूपले परेको छ ।

साम्यवादका समर्थकहरूले पुँजीवादको असफलताको रूपमा यसलाई चित्रित गर्छन् तर साम्यवादी व्यवस्था यसअघि नै आफ्नै अस्तित्वमा संकट पर्ने गरेर असफलता भइसकेको कुरा बिर्सन सकिँदैन । पुँजीवादी, समाजवादी वा साम्यवादी सबै मुलुक यसको मारमा पर्ने गर्छन् । तसर्थ यस्ता मन्दी पुँजीवादी अर्थ व्यवस्थाको मात्र असफलता होइन । यो त व्यक्तिको पहुँचबाट उत्पादन साधन खोसेर पुँजीपति वा राज्यको हातमा केन्द्रीकरण गरेको दुस्प्रभाव हो ।

साम्यवादका समर्थकहरूले पुँजीवादको असफलताको रूपमा यसलाई चित्रित गर्छन् तर साम्यवादी व्यवस्था यसअघि नै आफ्नै अस्तित्वमा संकट पर्ने गरेर असफलता भइसकेको कुरा बिर्सन सकिँदैन । पुँजीवादी, समाजवादी वा साम्यवादी सबै मुलुक यसको मारमा पर्ने गर्छन् ।

सबै समय, परिस्थिति तथा परीक्षामा खरो उत्रन सफल भएको आत्मनिर्भरता मूल मन्त्र भएको व्यक्तिगत स्वमित्वमा आधारित उत्पादन प्रणाली भएको अर्थतन्त्र सुनिश्चित भविष्यको एकमात्र प्रत्याभूति हो । सर्वसाधारणको निजी स्वामित्वमा उत्पादन साधन हुने प्रणाली नै सबैभन्दा उत्तम प्रणाली हो । उत्पादनका साधनहरूको स्वमित्वको केन्द्रीकरण हुनु भनेको बारुदको थुप्रोमा मानव सभ्यतालाई राख्नुसरह हो । आत्मनिर्भर र स्वावलम्बी नागरिक बनाउने वाद मात्र मध्यमवर्गको वाद हुन सक्छ । पुँजीपतिहरूको पुँजीको बलले एकाधिकार जमाएको उत्पादन अवसर र बजारले मध्यमवर्गलाई उनीहरूको कारखानाको पुर्जामात्र बाध्य पार्दछ । यसै गरेर साम्यवादले तोकिएको काम मात्र कर्तव्य बनाएर सम्पूर्ण सर्वसाधारणलाई एउटा पद्धतिको दासमात्र हुन बाध्य गर्दछ ।

तर, आफ्नो अन्य सबै अधिकार छोडेर दासत्व स्वीकार गरेबापत दाना, नाना र छानाको चिन्ताबाट मुक्ति भने अवश्य पाइन्छ । मौलिक अधिकारको सुनिश्चितता, एकाधिकारको लेससम्म नभएको बजार र उत्पादन व्यवस्था अनि स्वतन्त्र अर्थिक क्रिकलाप गर्न पाउने अवस्था नै मध्यमवर्गको हित गर्ने व्यवस्था हुनसक्छ । योग्यता र क्षमता अनुसार उसको अस्तित्व सम्भव हुन्छ । भेदभावरहित समान अवसर पाउने अधिकार सुनिश्चित भएमा राज्यले कसैको थालको गाँस गन्नु पर्दैन र हुँदैन पनि । अहिलेका कुनै पनि वादहरू मध्यमवर्गका हितका वाद होइनन् । संसारमै सबैभन्दा धेरै संख्या भएको मध्यमवर्गको हित हुने वादका विषयमा चिन्तन मनन् गर्ने बेला भएकोे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?