के छ रुपन्देही क्षेत्र नं २ का एमाले उम्मेदवार विष्णु पौडेलद्धारा जारी प्रतिवद्धतापत्रमा ? (पूर्णपाठ)

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 6 mins

रुपन्देही । रुपन्देही क्षेत्र नं २ का नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्नु भएकोछ ।

बुटवलमा आज प्रतिवद्धतापत्र सार्वजनिक गर्दै एमाले उपाध्यक्ष एवं उम्मेदवार पौडेलले आफुले सार्वजनिक गरेका प्रतिवद्धता कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भएको हो।

पौडेलले यसअघि पनि आफ्नो ड्रिम प्रोजेक्टको रुपमा राखेको कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने प्रतिवद्धता पुनः जनाउनु भएको छ । प्रतिवद्धतापत्रमा लेखिएको छ, ‘सिँचाइ, जलविद्युत, पर्यटन, खानेपानीका लागि महत्वपूर्र्ण मानिएको कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रस्ताव अनुसार निर्माण कार्य अघि बढाइने छ ।’
प्रतिवद्धतापत्रमा बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने जनाइएको छ । तिलौराकोट, रामग्राम, देवदह, सैनामैनालगायतका पौडेलको प्रतिवद्धतापत्रमा ऐतिहासिक एवम् पुरातात्विक महत्वका बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन, संरक्षण र विकास गरिने उल्लेख गरिएको छ ।
यस्तै बृहत लुम्बिनी क्षेत्रअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवम आधुनिक सडक सञ्जालबाट जोडिने छ र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गरिने जनाइएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरिने जनाउँदै प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ, ‘यस आयोजनाको दोस्रो चरणअन्तर्गत अत्याधुनिक अन्तर्राष्ट्रिय टर्मिनल भवन, समानान्तर ट्याक्सी वे लगायतका पूर्वाधार निर्माण गरिने छ । यस विमानस्थलबाट संसारका विभिन्न मुलुकहरूमा सुविधाजनक हवाई यात्रा र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने व्यवस्था मिलाइने छ ।’
यसअघि पनि सोही क्षेत्रबाट प्रतिनिधित्व गरेका पौडेलले प्रतिवद्धतापत्रमार्फत पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट र बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डलाई अत्याधुनिक छ लेन सडकमा स्तरोन्नति गरिने जनाएका छन । यस्तै, सिद्धार्थ राजमार्गको बुटवल–सुनौली खण्डको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको बाँकी काम यथाशिघ्र सम्पन्न गरिने जनाइएको छ । सो पत्रमा भनिएको छ, ‘सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र र पूर्व–पश्चिम राजमार्गको दाउन्नेमा सुरुङ मार्ग निर्माण गरी सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल स्थित तिनाउ नदीमा आकर्षक एवम आधुनिक डिजाइनको सिग्नेचर पुल निर्माण गरिने छ ।’
यस्तै निजी क्षेत्रको लगानीमा केबुलकार सेवा सञ्चालन हुन लागेका नुवाकोट, वसन्तपुर र आसपासको क्षेत्रलाई हिल स्टेसन र रमणीय पर्यटकीय स्थलमा विकास गरिने उल्लेख गरिएको छ ।

यसैगरी पुरानो बटौली बजारलाई आधुनिक सुविधा र प्राचीन स्वरूपको ऐतिहासिक सहरमा पुनरुत्थान तथा विकसित गरिने छ । जितगढी र नुवाकोट गढीको उत्खनन, संरक्षण र विकास गरी आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गर्ने जनाइएको छ ।
बुटवलको अमरपथ, पुल्चोक, गोलपार्क, ट्राफिक चोकलगायत चिडियाखोलादेखि पुष्पलाल पार्कसम्मको क्षेत्रलाई भूमिगत पार्किङ, व्यवस्थित ढल निकास, उच्च गुणस्तरका हरियाली सडक तथा पेटी, विद्युत र टेलिफोनको भूमिगत प्रसारण र बहुतले व्यापारिक भवनसहितको सफा र आधुनिक सहरमा विकास गरिने छ पौडेलले जारी गरेको घोषणा पत्रमा उल्ल्ेख गरिएको छ।

प्रतिवद्धतापत्र

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?