लुम्बिनीमा ११ जना महिला उम्मेदवार

नीति निर्माण तहमा महिला सहभागिता कमजोर

विवेक खड्का दाङ, संवाददाता
Read Time = 7 mins

दाङ । निर्वाचन कानूनले महिला सहभागिता लागि बाध्यकारी व्यवस्था गरेको छ । तर, दलहरुले विभिन्न बाध्यात्मक कारण देखाउँदै यसलाई टारेको देखिएको छ । संविधानले संघ, प्रदेश र स्थानीय तहमा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । दलहरुले निर्वाचनमा प्रत्यक्षतर्फ महिलालाई अवसर नदिएर समानुपातिकमै सीमित गरेका छन् ।

लुम्बिनी प्रदेशमा प्रतिनिधि सभातर्फ ७ जना र प्रदेशमा ४ जनामात्रै महिला उम्मेदवार हुनुले नीति निर्माण तहमा महिला सहभागिता कमजोर भएको देखिन्छ । यो प्रदेशमा प्रतिनिधि सभातर्फ २६ र प्रदेशसभातर्फ ५२ निर्वाचन क्षेत्र छन् । २६ निर्वाचन क्षेत्रमा एमाले, कांग्रेस, माओवादीका ३८ पुरुष उम्मेदवार छन् । एमालेबाट २३ उम्मेदवार मध्ये २ जना महिला उम्मेदवार छन् । कांग्रेस र माओवादीका एक–एक जना महिला प्रतिनिधिसभामा प्रत्यक्षतर्फ छन्।जनमोर्चा र एकीकृत समाजवादीबाट एकएक जना महिला प्रत्यक्षमा चुनावी लडाइमा छन् । लुम्बिनी प्रदेशमा राजनीतिक दलबाट प्रतिनिधिसभातर्फ ३४८ जना उम्मेदवार छन् । तीमध्ये ३७ प्रतिशतमात्रै महिला छन् । लुम्बिनी प्रदेशमा समानुपातिक र प्रत्यक्ष गरी ८७ जना सांसद चुनिन्छ । एमालेबाट विद्रोह गरेर एकजनाले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

दाङ क्षेत्र नं १ मा नेकपा एमालेले शान्ता चौधरीलाई उम्मेदवार बनाएको छ । एमालेले समानुपातिकबाट सांसद बनाएको थियो । शान्ताले यहाँ आफ्नै पूर्वसहकर्मी नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीसँग प्रतिस्पर्धा गर्दैहुनुन्छ । सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि हालका शहरी विकासमन्त्री हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा उहाँले नेकपा एमालेका तर्फबाट यही निर्वाचन क्षेत्रमा चुनाव जित्नुभएको थियो । निर्वाचन क्षेत्र नं. १ थारू बाहुल्य क्षेत्र हो पार्टीले आफूलाई टिकट नदिएपछि गंगाले चौधरीले शान्ताविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । क्षेत्र नं १ लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्र हो ।

दाङ क्षेत्र नं २ मा गठबन्धन दलले पूर्वमन्त्री रेखा शर्मालाई उम्मेदवार बनाएको छ । पूर्वसभामुख कृष्णबहादुर महरा चुनावी मैदानबाट पछि हटेपछी रेखालाई पार्टीले उम्मेदवार बनाएको हो । दाङ क्षेत्र नं २ को घोराही क्षेत्रमा पर्छ । यहाँ बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका गरी दुई पालिकामात्रै छन् । २०७४ सालको निर्वाचनमा शंकर पोख्रेल वाम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नम्बर २ को (१) बाट निर्वाचित हुनुभएको थियो । त्यस पछि उहाँ लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्नुभयो ।

दाङ क्षेत्र नं ३ मा नेकपा एमालेले कोमल वलीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । वली २०७४ सालको निर्वाचनताका राप्रपा छोडेर एमाले प्रवेश गर्नुभएको थियो । पार्टीले समानुपातिक सांसद बनाएपछि कोमल यो बीचमा राष्ट्रियसभा सदस्यसमेत वन्नुभएको थियो । दाङ टिकरीकी कोमल कला क्षेत्रबाट उदाएकी नेतृ हुनुहुन्छ । उहाँका प्रमुख प्रतिस्पर्धी कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी हुनुहुन्छ।

गुल्मी क्षेत्र नं २ मा नेकपा एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री चुनावी मैदानमा हुनुहुन्छ भने एमालेले सचिव गोकर्ण विष्टलाइ टिकट दिएको छ । सत्ता गठबन्धनकी साझा उम्मेदवार झाँक्री नेकपा एसकी सचिव तथा पूर्वमन्त्री हुनुहुन्छ । उता अर्घाखाँचीमा कांग्रेसकी केन्द्रीय सदस्य एवं निवर्तमान उपसभामुख पुष्पा भुसाल एमाले सचिव टोपबहादुर रायमाझीसँग मैदानमा हुनुहुन्छ ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल प्यूठानबाट प्रतिनिधिसभाका लागि चुनावी मैदानमा हुनुहुन्छ भने एमालेले सूर्य थापालाई टिकट दिएको छ । पौडेल २०७४ सालमा वाम गठबन्धनको समर्थनमा प्यूठानबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । २०७४ का सारथी नेकपा एमालेका सूर्य र दुर्गा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

पाल्पा क्षेत्र नं २ मा जसपाबाट दु्रर्पता सोमै प्रतिनिधिसभाको मैदानमा हुनुहुन्छ । अन्य दलको तुलनामा यहाँ उहाँको पार्टीको बलियो संगठन नभएकाले पनि उहाँको उम्मेदवारी औपचारिकता मात्रै हो । यो क्षेत्रमा एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरे तथा नेकपा एसका लुम्बिनी अध्यक्ष सोमप्रसाद पाण्डे चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?