पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट ‘डिस्चार्ज’

Read Time = 3 mins

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तीन दिनको उपचारपछि आइतबार अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको उहाँका सहयोगीले बताएका छन् ।

गत बिहीबार पूर्वप्रधानमन्त्री खानको हत्या गर्ने असफल प्रयास हुँदा खुट्टामा गोली लागी घाइते हुनुभएको थियो ।

गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाएपछि गत अप्रिलमा सत्ताच्युत भएदेखि नै तनावमा रहेको देशको राजनीतिक सङ्कट थप चुलिएको छ ।

पूर्व सूचनामन्त्री फवाद चौधरीले एएफपीसँग कुरा गर्दै खानलाई ‘डिस्चार्ज गरिएको’ पुष्टि गर्नुभयो । एक स्थानीय टिभी च्यानलले उहाँलाई निलो रङ्गको अस्पतालको गाउन लगाएर लाहोरस्थित एक क्लिनिकबाट ह्वीलचेयरमा निस्कँदै गरेको देखाएको थियो ।

पूर्वी शहर वजीराबादमा बिहीबार राजनीतिक दलको प्रदर्शनको नेतृत्व गरिरहेका ७० वर्षीय खानमाथि उहाँ चढेको ‘कन्टेनर ट्रक’लाई लक्षित गरी गोली चलाउँदा घाइते हुनुभएको थियो ।

आक्रमणमा सम्लग्न भएको आरोपमा एक व्यक्ति हिरासतमा लिइएको छ । सरकारी अधिकारीहरूले आक्रमणलाई ‘एक्लो बन्दुकधारीको काम र धार्मिक अतिवादको एकदम स्पष्ट मामला’ भनेका छन् ।

प्रहरीले सञ्चारमाध्यममा सार्वजनिक गरेको भिडियोमा एक मात्र संदिग्धले खानको प्रदर्शनले प्रार्थनाको आह्वानमा बाधा पु¥याएको कारण खानलाई मार्ने प्रयास गरेको बताएका छन् ।

खानले भने घटनामा दुई जना बन्दूकधारीको सम्लग्नता रहेको दाबी गर्नुभएको छ । शुक्रबार अस्पतालबाट पत्रकारसँग कुरा गर्दै उहाँले घटनाको पछाडि सरिफ, गृहमन्त्री राना सनौल्ला र एक वरिष्ठ गुप्तचर अधिकारीको सम्लग्नता रहेको दाबी पनि गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?