नेपालको लगातार दोस्रो जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली यू-१५ महिला राष्ट्रिय टोलीले साफ यू-१५ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित दर्ता गरेको छ । उपाधि दाबेदार बंगलादेशलाई १-० गोलअन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो ।

बंगलादेशको ढाकास्थित मोस्ताफा कमल रंगशालामा नेपालकी फरवार्ड वर्षा ओलीले निर्णायक गोल गर्नुभएको हो । नेपालले सो गोलबाट नै १-० को जित दर्ता गरेको हो । वर्षाले खेलको ८७औँ मिनेटमा सिमरन राईले पेनाल्टी बक्स बाहिरबाट गरेको फ्रिकिक प्रहारमा निर्णायक गोल गर्नुभयो । बंगलादेशी गोलरक्षक अघि बढेको अवस्थामा उहाँले गोल गर्नुभएको थियो ।

यसअघि पहिलो खेलमा नेपालले भुटानलाई पराजित गर्दै खेलको उद्घाटन गरेको थियो । उक्त खेलमा नेपालले भुटानलाई ७-० को जित दर्ता गर्दा वर्षा एक्लैले ४ गोल गर्नुभएको थियो ।

यस जितसँगै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । नेपालले दुई खेलमा ६ अंक जोडेको छ । दोस्रो स्थानको बंगलादेशको तीन अंक छ । भुटानले हालसम्म अंक जोडेको छैन । भुटान पहिलो खेलमा बंगलादेशसँग ८-० ले पराजित भएको थियो ।

तीन राष्ट्र सहभागी यो प्रतियोगिता डबल राउण्ड रोबिन पद्धतिमा भइरहेको छ । लिगको अन्त्यमा सर्वाधिक अंक जोड्ने टोलीले प्रतियोगिता जित्नेछ । नेपालले अब भुटान र बंगलादेशसँग नै खेल्नेछ । नेपालले अब बुधबार भुटानलाई पराजित गरेर शुक्रबार बंगलादेशलाई बराबरीमा रोके पनि उपाधि जित्नेछ ।

जित निकालेपछि नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगर खुशी देखिनुभयो । तर, उपाधि जित्न सबै खेलमा जित निकाल्न आवश्यक रहेको उहाँले बताउनुभयो । ‘हामी जित्न पाउँदा खुशी छौँ । च्याम्पियन बन्न हामीले सबै खेल जित्नुपर्छ । आजको बंगलादेशको टोली निकै कठिन थियो,’ उहाँले भन्नुभयो, ‘खेल निकै कठिन थियो । हामीले पहिलो हाफ राम्रोसँग खेल्न सकेनौँ । दोस्रो हाफमा व्यवस्थित भयौँ,’ उहाँले भन्नुभयो ‘जितले हामीलाई थप हौसला दिएको छ । हामी लड्न सक्षम थियौँ र आज देखायौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?