ब्याजको भार उद्योगी-व्यवसायीलाई मार

Read Time = 5 mins

रामचन्द्र रायमाझी/हिटा
पाल्पा । बुटवलका होटल व्यवसायी लक्ष्मण अर्यालले २०७६ मा ८.६५ प्रतिशत ब्याजदरमा एक वाणिज्य बैंकबाट कर्जा लिएर व्यवसाय सुरु गर्नुभयो । १० वर्षअघिको होटल व्यवसाय गर्ने उहाँको सपना त पूरा भयो तर कोरोनाका कारण होटल चल्न सकेन । दुई वर्ष कोरोनाका कारण बन्द गर्नुपरेको होटल व्यवसाय अहिले केही तंग्रिन लागेकोमा पछिल्लो एक वर्षमा बढेको कर्जाको ब्याजदरले भने होटल नै बैंकले लिलाम गरिदिने अवस्था आउने हो कि भन्ने चिन्ताले उहाँलाई पिरोलिरहेको छ ।

अर्यालले भन्नुभयो, ‘होटल त तंग्रिन थाल्यो तर किस्ता तिर्न नसक्दा बैंकले नै फिर्ता लैजाला जस्तो छ ।’ यत्रो महँगो ब्याज कसरी तिर्नु खै ?’ गत वर्षदेखि पाल्पाको तानसेनमा कपडा पसल गर्र्दै आउनुभएका नवराज भण्डारीलाई पनि ब्याजदर वृद्धिले सकस बनाएको छ । व्यापारसमेत घटिरहेका बेला कर्जाको ब्याजदर बढ्दा निन्द्रा लाग्न छाडेको उहाँको गुनासो छ । भण्डारीले भन्नुभयो, ‘व्यापार छैन, सटर भाडा त्यत्तिकै महँगो छ, भाडा तिर्ने कि किस्ता तिर्ने भन्ने अवस्थामा पुगेको छु ।’ ब्याजदर बढेकै कारण व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको भण्डारी बताउनुहुन्छ ।

अहिले नेपालका थुप्रै स्टार्टअप व्यवसाय पनि बढ्दो ब्याजदरको चपेटामा परेका छन् । स्थापित भइसकेका कतिपय व्यवसायसमेत संकटमा छन् । देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएका व्यवसायीलाई नै सरकारले नीतिगतरूपमा नसमेटेका कारण बैंक तथा वित्तीय संस्थाले व्यवसायीलाई ब्याजमा छुट, पुनर्कर्जा, कर्जाको पुनर्तालिकीकरणजस्ता सुविधा नदिएको व्यवसायीको गुनासो छ । बैंकले ब्याजदर वृद्धि गरेर किस्ता बुझाउन ताकेता गरिरहेको र समयमा ऋण नतिर्ने केही व्यवसायीको नामसमेत सार्वजनिक गर्न थालेपछि पाल्पा, गुल्मीसहित देशभरका उद्योगी, व्यवसायी आन्दोलित भएका छन् । राष्ट्र बैंक र बैंकहरूका नीतिका कारण आफूहरू मारमा परेको भन्दै उद्योगी, व्यवसायी बैंक तथा वित्तीय संस्थाप्रति रुष्ट देखिएका छन् । उनीहरूले ब्याजदर घटाउन सरकार र राष्ट्र बैंकलाई दबाब दिँदै आएका छन् तर सरकारले कुरा नसुनेको उनीहरूको गुनासो छ ।

राष्ट्र बैंकले कर्जाको दुरूपयोग रोक्न भन्दै केही समयअघि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन ल्याएको थियो । उक्त मार्गदर्शनप्रति उद्योगीले असन्तुष्टि जनाउँदै आएका हुन् । कोरोनाले थला परेको व्यवसाय केही तंग्रिने अवस्थामा रहेका बेला विभिन्न वहानामा सबैतिरबाट व्यवसायीलाई नै मर्का पर्ने आर्थिक नीति ल्याइएका कारण ज्यादै जटिल परिस्थितिसँग व्यवसायी जुध्नुपरेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले बताउनुभयो ।

उता गुल्मीका उद्योगी-व्यवसायीले पनि अस्वाभाविक ब्याजदर वृद्धि गरिएको भन्दै राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएका छन् । बैंकहरूले मनलाग्दी ब्याज बढाएको र उद्योगी-व्यवसायी पलायन हुने बाध्यात्मक अवस्था आउन लागेको भन्दै गुल्मी उद्योग वाणिज्य संघले राष्ट्र बैंकलाई प्रमुख जिल्ला अधिकारीमार्फत् ज्ञापनपत्र बुझाएको संघका उपाध्यक्ष ताराप्रसाद भुसालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?