समृद्धि फाइनान्स चेस च्याम्पियनसिप सुरु

Read Time = 3 mins

काठमाडौं । नेपाल बुद्धिचाल संघको आयोजनामा काठमाडौंमा समृद्धि फाइनान्स नेसनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिप सुरु भएको छ । च्याम्पियनसिपको पहिलो दिन शनिबार दुई चरणका खेल सम्पन्न भएका छन् । दुई चरणको समाप्तिमा बद्रीलाल नेपाली, फिडेमास्टर विलमलाल श्रेष्ठ, क्यान्डिडेट मास्टर नवीन तण्डुकार, बलराम नापित, विजय गुरुङ, पुण्यमान कर्माचार्य र रामबहादुर क्षेत्री समान दुई–दुई अंकसाथ अग्रता लिन सफल हुनुभयो ।

च्याम्पियनसिपका शीर्ष खेलाडी पूर्व-राष्ट्रिय च्याम्पियन विलम लालले पहिलो चरणमा भक्तपुर जगन्नाथ ताम्राकार तथा दोस्रो चरणमा क्यान्डिडेट मास्टर भगवतीप्रसाद शर्मालाई पराजित गर्नुभयो ।

त्यसैगरी तीनपटकका राष्ट्रिय च्याम्पियन बद्रीलालले पहिलो तथा दोस्रो चरणमा क्रमशः काठमाडौंका सिताराम अग्रवाल एवं लवकुमार श्रेष्ठमाथि जित हात पार्नुभयो । पूर्व-राष्ट्रिय च्याम्पियन नवीनले बर्दियाका किरण नापित तथा सप्तरीका भुवनेश्वर चौधरीलाई पराजित गर्दा अर्का पूर्व-राष्ट्रिय च्याम्पियन पुण्यमानले ललितपुरका विनय श्रेष्ठ एवं काठमाडौका ज्ञानेन्द्रप्रसाद श्रेष्ठलाई पराजित गर्नुभयो ।

रूपन्देहीका विजय गुरुङ अनरेटेड रामकृष्ण शर्मा एवं भक्तपुरका गणेशमान दुवालसँग अंक खोस्न सफल हुनुभएको छ भने कास्कीका रामबहादुरले श्याम राजवाहक एवं कास्कीकै नरेन्द्र रानाभाटमाथि जित हासिल गर्नुभयो । काठमाडौंका जनार्दन श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ र कैलालीका जितबहादुर केप्छाकी समान १.५ अंकमा रहनुभएको छ ।

सातै प्रदेशका ३४ जना खेलाडीको सहभागिता रहेको च्याम्पिनसिपको कुल पुरस्कार राशि एक लाख ७४ हजार रुपैयाँ रहेको छ । विजेताले ५० हजार नगद प्राप्त गर्ने संघका सचिव उमेश केसीले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?