सडकमा राखिएका निर्माण सामग्री हटाउँदै नगर प्रमुख

हिमालय टाइम्स
Read Time = 5 mins

रामचन्द्र रायमाझी/हिटा
पाल्पा । पाल्पाको रामपुरमा सडकमा अव्यवस्थित रूपमा राखिएका निर्माण सामग्रीहरू हटाउन नगर सरकारका प्रमुुख रमणबहादुर थापा आफैँ सडकमा निस्किनुुभएको छ । नगर सरकारले पटक पटक सडक मिचेर राखिएका निर्माण सामग्री हटाउन भने पनि नहटाइएपछि नगर प्रमुख आफँैले अव्यवस्थित सामग्रीहरू हटाउन थाल्नुुभएको हो ।

केही दिनअघि नगर सरकारले डोजर, ट्रक र ट्रयाक्टर लगाएर सडकपेटी तथा सटरको पेटीमा राखिएका सामग्री हटाएको थियो । अझै पनि केही ठाउँहरूमा ती सामग्री राखिएको जानकारी पाएपछि नगर प्रमुख सहितको टोली हटाउन बजारमा निस्किएको हो ।

जथाभावी रूपमा राखिएका निर्माण सामग्रीका कारण बजार अस्तव्यस्त हुनुको साथै दुर्घटनासमेत निम्त्याउन थालेपछि नगर सरकारले यस्तो कदम चालेको हो । उसले ३५ दिने सूचना नै जारी गरी सडकमा राखिएका निर्माण सामग्री हटाउन आग्रह गर्दै आएको थियो । तर, अहिलेसम्म पनि नहटाइएपछि नगर सरकारका प्रमुख आफैँ उठाउन कसिनुुभएको हो । सडक मिचेर लामो समयसम्म राखिएका निर्माण सामग्रीले सडक कुरूप बन्नुको साथै जोखिम बन्दै गएकाले निर्माण सामग्री जफत गरिएको नगर सरकारले जनाएको छ । सडक मिचेर राखिएका ढुंगा, गिट्टी, बालुवा, इँट्टा र माटो उठाइएको छ । अहिले बेझाड बजार चोक, तल्लो चोक, हुलाकटोल, बांगापसल रोडलगायत विभिन्न स्थानबाट सामग्री उठाइसकिएको छ ।

नगर प्रमुख सहितको टोलीले मापदण्डविपरीत व्यापारिक प्रयोजनका लागि सामान राखेका पसलहरूबाट विभिन्न सामग्रीहरू जफत गर्नुको साथै नो पार्किङमा राखिएका मोटरसाइकलको हेलमेटसमेत नियन्त्रणमा लिएको छ । नगरपालिकाले इलाका प्रहरी कार्यालय रामपुर र नगर प्रहरीको सहयोगमा मापदण्डविपरीत राखिएका सामग्रीहरू नियन्त्रणमा लिएको हो । सडक तथा सटरभन्दा बाहिर पेटीमा राखिएका खाद्यान्न, फलफूल, तरकारी, कपडा, खेलौना तथा कस्मेटिक सामान, फार्निसिङका सामग्री जफत गरिएको नगर सरकारले जनाएको छ । सोही अवसरमा नगर प्रमुख थापाले बजार क्षेत्रको साँघुरो सडकमा सडक पेटीसम्म सामान राखेर बिक्री वितरण गर्दा दुर्घटनाको जोखिम भएकाले ती सामान हटाउन सबैलाई अनुरोध गर्नुभएको छ ।

नगरपालिकाले घर तथा भवन निर्माण सुरु भएका स्थानमा अनुमति लिएर मात्र निश्चित समयको लागि सामान राख्ने व्यवस्था गरेको नगर प्रमुख थापाले बताउनुुभयो । उहाँले भन्नुुभयो, ‘हामीले निर्माणका क्रममा सामग्री सडक छेउमा राख्नै नपाइने भनेको होइन । तर, वैकल्पिक उपाय अपनाउन र नभए सडकमा सवारी आगमनमा अवरोध नहुने गरी अनुमति लिएर निश्चित समय व्यवस्थित रूपमा राख्न भनेका छौँ । सूचना जारी गरे पनि सडकको स्वरूप नै बिग्रिने गरी राखिएका सामान हटाएका हौँ ।’ थापाले बजार क्षेत्रमा हुन सक्ने दुर्घटना न्यूनीकरण र सडकलाई थप व्यवस्थित बनाउनका लागि अभियान थालिएको बताउनुुभयो ।

नगरपालिकाले बजारका साँघुरा सडक, गल्ली ओगटेर सामान राख्नाले बजार गर्न पैदल हिँड्नुपर्ने अवस्थामा दुर्घटनाको जोखिमसमेत भएकाले तत्काल सामग्री आफ्नो सटरभित्र मात्र राख्न निर्देशन गरिएको थापाले बताउनुुभयो । नगरपालिकाको आग्रहलाई बेवास्ता गर्नेहरूको सामान जफत गरिएको समेत उहाँले बताउनुुभयो । यसअघि नगरपालिकाले सूचना जारी गर्नुका साथै माइकिङसहित यथाशीघ्र हटाउन अनुरोध गरेको थियो । तर, कसैले पनि नहटाएपछि नगर सरकारले एक्सन लिनुपरेको जनाएको छ । यहाँ पसलबाहिर सडकपेटी ओगटेर सामान बिक्री गर्दा बजार अस्तव्यस्त देखिने र दर्जनाँै गाडी आउने जाने, यात्रु चढाउने झार्ने हुँदा जोखिम बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?