युवराज पौडेल/हिटा
स्याङ्जा । यतिबेला स्याङ्जा जिल्लामा धान काट्ने र भित्र्याउने चापाचाप छ । अधिकांश स्थानमा तिहारलगत्तै धान काट्ने र थुपार्ने तथा भित्र्याउने काम चलिरहेको छ । स्याङ्जाका चापाकोट, गल्याङ, वालिङ, पुतलीबजार, आँधीखोला, हरिनाश लगायतका स्थानहरू धान बढी उत्पादन हुने पकेट क्षेत्र हुन् । धान फल्ने ठाउँहरूमा मात्र नभएर गाउँघरका ससाना टारीहरूमा पनि किसानलाई धान काट्न र भित्र्याउनको चटारो छ ।
स्याङ्जाका आँधीखोला र ज्याग्दीखोलाका किनारमा धान फल्ने फाँटहरू रहेका छन् भने गाउँघरका टारी टुक्रामा पनि धान उत्पादन हुँदै आइरहेको छ । प्रविधिको विकाससँगै स्याङ्जामा पनि खेत जोत्नका लागि विभिन्न पालिकाहरूले अनुदानमा हाते ट्याक्टर वा मिनी टिलर किसानलाई उपलब्ध गराउन थालेपछि परम्परागत रूपमा गोरुले जोत्ने काम हराउँदै गएको छ । गोरु गाउँघरबाट विस्थापित हुँदै गएका छन् ।
हिउँदमा केही दिन र रोप्ने बेलामा केही दिन गोरुको काम हुने तर वर्ष दिन गोरु पालिरहनुपर्ने हुँदा गोरु पाल्न झन्झटिलो भएको आँधीखोला-५ का युवराज ढकालले बताउनुभयो । गोरुको प्रयोग जोत्न मात्र नभएर दाइँका बेलामा धान पराल छुट्याउन गरिएकोमा अहिले गोरु विस्थापित भएकाले दाइँ गर्न समस्या भएको पुतलीबजार- ७ का दीर्घजीवी शर्माले बताउनुभयो ।
अहिले दाइँ हाल्ने बेलामा गोरुको अभाव खड्केको किसानले बताएका छन् । गोरु घुमाएर दाइँ गर्दा पराल कमलो र राम्रो हुन्थ्यो भने अहिले गोरु खोजेर पनि नपाइने स्थिति भएपछि कृषकहरूले खेतमै धान थुपारेर धान पराल छुट्याउने र नदोब्रिएको परालको नै टौवा हाल्न थालेका छन् । यस्तो गर्दा पराल केही साह्रो हुने भए तापनि गोरु नभएपछि बाध्यताले यसो गर्नुपरेको पुतलीबजार-४ का कृषक ज्ञानप्रसाद पोख्रेलले बताउनुभयो ।
दाइँ गर्ने परम्परा लामो समयदेखिको परम्परा हो । यसमा आवश्यकता अनुसारका गोरुहरूलाई एउटै दाम्लोको हारमा बाँधेर परालमाथि घुमाइने हुँदा धान पराल गोरुले किचेर धान पराल छुट्टिन्छ । परालका डाँठ पनि कोमल र नरम हुन्छन् । तर, अहिले आएर गोरु हराउँदै जाँदा दाइँ संस्कृति नै लोप हुने अवस्थामा पुगेको छ । दाइँ गर्दा गाउने दाइँ गीत पनि दाइँसँगै मासिने चिन्ता बढेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच