शीर्ष नेताहरूलाई देशभरका निर्वाचन क्षेत्रमा सम्बोधन गर्न भ्याइनभ्याई

नारायण भण्डारी
Read Time = 8 mins

काठमाडौं । चुनाव नजिकिएसँगै शीर्ष नेताहरूको देश दौडाह बढेको छ । आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य क्षेत्रका सभामा सम्बोधन गर्न शीर्ष नेताहरूलाई भ्याइनभ्याई छ । यसपटकको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा हुनुहुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट उम्मेदवार बन्नुभएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा ५ बाट, पुष्पकमल दाहाल प्रचण्ड गोरखा २ बाट, माधवकुमार नेपाल रौतहट २ बाट उम्मेदवार हुनुहुन्छ । आफ्ना चुनावी भाषणमा शीर्ष नेताहरू मतदातासामु आफ्ना दलका एजेण्डा र योजना सुनाउनभन्दा प्रतिस्पर्धी पार्टी र त्यसको नेतृत्वलाई आरोप-प्रत्यारोपमै बढी केन्द्रित देखिन्छन् ।

ओलीलाई देउवाको प्रश्न : दार्चुला गएर बोल्दैमा लिम्पियाधुरा फिर्ता आउँछ ?
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ ? भन्दै प्रश्न गर्नुभएको छ । शनिबार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावी सभालाई सम्बोधनको क्रममा देउवाले सो प्रश्न गर्नुभएको हो । ‘केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ ?’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘कूटनीति र वार्ताका माध्यमद्वारा भूमि फिर्ता ल्याउने हो, त्यसका लागि भारतसित कुरा गर्ने हो ।’ उहाँले प्रतिपक्षी दलको नेताले बोल्दैमा केही नहुने धारणा राख्नुभयो ।

निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । ‘समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक छ’, चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भन्नुभयो, ‘धेरै लामो लडाइँपछि ल्याएको प्रजातन्त्र, समावेशी संविधान बचाउनुपर्ने आवश्यकता छ ।’

सो अवसरमा प्रधानमन्त्री देउवाले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याएरै छाड्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले विगतमा राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसका विरुद्धमा गठबन्धन बनेको बताउनुभयो । त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्ने उहाँको भनाइ थियो ।

सत्ता गठबन्धनले देशलाई कंगाल बनायो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशलाई कंगाल बनाएको आरोप लगाउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एमालेनिकट प्रवासी नेपाली मञ्चको अधिवेशनमा बोल्दै आफूलाई सेटिङबाट हटाएको १६ महिनामा गठबन्धन सरकारले देशलाई भद्रगोल बनाएको टिप्पणी गर्नुभयो । ओलीले भन्नुभयो, ‘हाम्रो जस्तो देशमा अहिले ८० अर्बभन्दा धेरै ऋणमा डुबेको छ । स्रोत सुनिश्चिता भन्दै बिना योजना आफ्नो मान्छेहरूलाई पैसा बाँडेको छ । योभन्दा स्वेच्छाचारी र अलोकतान्त्रिक के हुनसक्छ ?’

एमालेले जनताको ओइलाएको आत्मविश्वासलाई पुनर्जाग्रित गरेर काम गरेको बताउनुभयो । कोरोना महामारीमा खोप ल्याएर सबैलाई लगाएको दाबी गर्नुभयो । राष्ट्रिय स्वाविमानको झण्डा उठाएर सरकार चलाएको भएकाले विरोधी शक्तिलाई सह्य नभएको आरोप लगाउनुभयो ।

ओली संविधान, गणतन्त्र र संघीयताको विरोधी हुन् : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई लाज पचाएर भाषण गर्दै हिँडेको आरोप लगाउनुभएको छ । आइतबार रामेछापका स्थानीयलाई पार्टी प्रवेश गराउँदैै अध्यक्ष प्रचण्डले केपी शर्मा ओली लाज पचाएर भाषण गर्दै हिँडेको देख्दा अचम्म लाग्ने गरेको बताउनुभयो । ‘केपी ओली लाज पचाएर भाषण गरेर हिँडेको देख्छु । उनलाई नै प्रधानमन्त्री बनाइदिएको होइन ? उनले न दुई–तिहाइको सरकार बचाउन सके । दुईतिहाइ हुँदा पनि पटक-पटक संसद् विघटन गरे ।

पार्टीलाई पनि बचाउन सकेनन् । पार्टीलाई विभाजनतर्फ लगे । अहिले के भनेर भोट माग्न गएका हुन् ? मलाई अनौठो लाग्छ । नेपालका जनतालाई उल्लु ठानेका हुन् कि ’ उहाँले थप्नुभयो, ‘हिजो दुईतिहाइको सरकार दिँदा पनि उनले आफैँले विघटन गरे । संसद् बचाउन सकेनन् । तीन वर्षमै संसद् विघटन गरेर संविधान च्यात्न खोज्ने, अब फेरि के भनेर भोट माग्ने ? नेपालका जनताको बुद्धि छैन । मैले उखान टुक्का भनेर हँसाइदिएँ भने मलाई भोट हाल्छन् भन्ठानेका हुन् कि ।’

अध्यक्ष प्रचण्डले एमालेभित्र ओली प्रवृत्ति हाबी भएको र त्योे गणतन्त्रविरोधी भएको बताउनुभयो । ओली संविधान, गणतन्त्र र संघीयताको विरोधी भएको उहाँले आरोप लगाउनुभयो ।

‘ओली आदिवासी, जनजाति, महिला, थारू र मुस्लिमहरूलाई समावेशी, समानुपातिक अधिकार दिनु हुँदैन भन्ने मध्येका हुन्,’ प्रचण्डले भन्नुभयो । यस्तै, प्रचण्डले गोरखाको विकासका लागि भन्दै रणनीतिक महत्वका ४५ योजना सार्वजनिक गर्नुभएको छ । जसमा पृथ्वीनारायण शाहले थालेको नेपाल एकीकरणको पनि चर्चा गरिएको छ । शाहवंशीय राजा पृथ्वीनारायण शाहले थालेको एकीकरण अभियानकै कारण अहिलेको नेपाल सम्भव भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?