विप्लव नेकपासहित तीन वामपन्थी पार्टीद्वारा निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् । आइतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी तीनवटा साना वामपन्थी राजनीतिक दलहरूले चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन् । बहिष्कार कार्यक्रममा लागि कात्तिक २६ गतेदेखि ३० गतेसम्म देशव्यापी रूपमा विरोध प्रदर्शन र कोणसभासमेत आयोजना गर्न लागिएको नेकपाका नेता प्रकाण्डले जानकारी दिनुभयो ।

उहाँले ‘दलालहरूले जित्ने चुनावले जनताको अधिकार सुनिश्चित नहुने भएकाले त्यसको विरोधमा आफूहरूले चुनाव बहिष्कार गर्ने नीति लिनुपरेको’ बताउनुभयो । नेकपाका अध्यक्ष ऋषि कट्टेलले नेपालमा संसद्वादको अन्त्य गर्नका लागि आफूहरूले चुनाव बहिष्कार गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले नेपाली क्रान्तिलाई सफल बनाउन पनि सो चुनाव बहिष्कारको कार्यक्रमले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

वैज्ञानिक समाजवादी पार्टी, नेपालले ‘चुनावको नौटंकी देशको हितमा नरहेकाले त्यसको बहिष्कार गर्ने कार्यक्रम घोषणा गर्नुपरेको’ बताएको छ । पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’ले क्रान्तिकारी शक्तिहरू बीचको एकताबाट मात्रै नेपाली जनताको अधिकारलाई सुनिश्चित गर्न सकिने भएकाले पनि आफूहरूले चुनाव बहिष्कारको कार्यक्रमलाई संयुक्त रूपमा अघि बढाएको उल्लेख गर्नुभयो ।

तीनवटै पार्टीले चुनावको भण्डाफोर गर्ने भन्दै काठमाडौंमा कात्तिक २४ गते, बुटवल र इटहरीमा कात्तिक २६ गते, बर्दिबास र पोखरामा कात्तिक २८ गते तथा सुर्खेत र धनगढीमा कात्तिक ३० गते विरोध प्रदर्शन र कोणसभा आयोजनाको घोषणा गरेका छन् । सो कार्यक्रम स्थानीयस्तरमा पनि आवश्यकताको आधारमा तय गरिएको नेकपाका नेता प्रकाण्डले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?