चुनाव प्रचारप्रसारमा आरोपप्रत्यारोप

राजनीतिक पार्टीहरू हाल चुनाव प्रचारप्रसारमा व्यस्त छन् । राजनीति नै तिनको पेशा वा व्यवसाय हो । त्यसैले यसो हुनुलाई स्वाभाविक नै मान्नुपर्छ । हुन त राजनीतिलाई व्यवसाय नभनेर समाजसेवा भन्नुपर्छ भन्ने तर्कहरू पनि आउने गरेका छन् तर यो हाम्रो सन्दर्भमा भने काल्पनिक भनाइ जस्तोमात्र भइरहेको छ । राजनीतिलाई व्यापार नबनाऔँ यसलाई समाजसेवा बनाऔं भनिएको त छ तर जसलाई नेपालको सन्दर्भमा यसरी स्वीकारिएको छैन । जनस्तरबाट उठेको आवाजमात्रै हो यो । हामीले एकैचोटि पश्चिमा मुलुकहरूको जस्तो चाहना राख्छौँ । धेरै कुरा त्यताको जस्तै होस् भन्ने सोचाइ राख्छौँँ तर हामी लोकातन्त्रको अभ्यासको पूर्वसन्ध्यामा भएका कारण यो सम्भव हुन सक्दैन ।

दलहरू अब १३ दिनपछि हुने निर्वाचनको प्रचारप्रसारमा व्यस्त छन् । घरदैलो, जुलुस तथा आमसभाहरूमा तल्लीन छन् । अब थोरैमात्र बाँकी रहेको समयमा आफ्नो माहोल राम्रो बनाएर विजयी बन्ने सपना उनीहरूको छ जुन अस्वाभाविक होइन । यही क्रममा उनीहरू राम्रो भएको जति सबै मैले र मेरो पार्टीले गरेको हो र नराम्रो जति अरू पार्टीले गरेका हुन् भनेर चुनावी कार्यक्रममा भनिरहेको छन् । यो मानवीय प्रवृत्ति हो तर उनीहरूले भनिरहेका त्यस्ता कुरा ठीक हुन् कि होइनन् भनेर मतदाताले छुट्याउनुपर्छ । हाम्रो जस्तो सचेत मतदाता नभएको देशमा यो नै एउटा ठूलो समस्या हो । मतदाताहरूले जानेर वा नजारे जसरी मतदान गरे पनि त्यसको परणाम भने एउटै आउने हो ।

उनीहरूले नजानेर गरेको मतदानले पनि जानेर दिएको मत बराबरको काम गर्छ । त्यसैले मतदाता सचेत नहुँदासम्म सहीको गलत र गलतको सही परिणाम निस्किन सक्छ । पार्टीहरूले लगाएको एकअर्काप्रतिका गलत आरोप वा अर्को पार्टीले गरेको त्यसको प्रतिवादको सही निष्कर्ष निकाल्न सक्ने जनता भए तिनको आरोप प्रत्यारोपले कुनै अर्थ नै राख्नेथिएन । तर, हाम्रो देशको हकमा त्यसो हुन नसकेको कारणले गर्दा कुनै नेताले गलत बोल्यो भने पनि जनताले त्यसलाई पत्याइदिन्छन् । त्यस कारण यस्ता गालीगलौजका राजनीतिलाई सबै मिलेर दुरुत्साहन गर्नै पर्दछ । जबसम्म गलीगलौज, आरोपप्रत्यारोपको राजनीतिले प्रोत्साहन पाइरहन्छ, त्यसबेलासम्म विकास निर्मणका कार्यक्रम प्राथमिकतामा पर्दैनन् ।

यसले गर्दा ध्यन जानुपर्ने मूल, स्थूल विषय छायाँमा र सूक्ष्म वा सहायक विषय चाहिँ प्रकाशमा पर्ने गर्छन् । अल्पविकसित वा विकासोन्मुख मुलुकहरूको यो एउटा ठूलो समस्या हो । हामी पनि यसबाट मुक्त हुन सक्ने कुरै भएन । यो मात्र होइन राजनीतिक पार्टीहरू र पार्टीका नेताहरू जनतासामु जाननिर्वाचनको समय कुर्नुपर्ने नै होइन । अरू समय केन्द्रमा वा आफू निर्वाचित भएर गएको ठाउँमा बस्ने र निर्वाचनको समयमा मात्र जनतासामु जाने संस्कारले नेपालको राजनीति र राजनीतिज्ञको कद होच्टयाउने काम गरिरहेको छ । त्यसैले हामी यस्ता गलत संस्कार अभ्यासबाट मुक्त हुनै परेको छ । यही कारण हुनसक्छ निर्वाचन आयोगले विगतका निर्वाचनमा भन्दा यसपटक कडा बन्दै गइरहेको छ ।

आचारसंहिता कडाइका साथ लागू गर्दैछ । जनताको पनि त्यही चाहना भएको कुरा उनीहरूको यस बारेको सम्मतिले देखाइरहेको छ । तर्कवितर्क, विचारविमर्श र अर्कालाई आरोप नलगाई पनि आफ्ना कुरा, योजना, विचार आदि जनतासामु राख्न सकिन्छ । तर, यो जान्दाजान्दै पनि चर्को स्वरमा अरूलाई लाञ्छित गर्ने र आफू पानीमाथिको ओभानो बन्ने प्रयास किन दलहरूले गर्ने गरेका छन् मतदाताले बुझ्नुपर्दछ । मतदाताले छानेको गलत उम्मेदवारका कारण प्रत्यक्ष रूपमा पाँच वर्ष र परोक्ष रूपमा बीसौं वर्ष राज्यको विकास प्रभावित हुन्छ त्यसतर्फ सबैको ध्यान जानैपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?