सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न अघि बढ्यो केपिलासगढी गाउँपालिका

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 7 mins

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका शैक्षिक सुधार गर्ने रणनीतिमा अघि बढेको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किरहेको अवस्थालाई मध्यनजर गरेर शैक्षिक सुधारका निमित्त गाउँपालिका सिर्जनात्मक र रचनात्मक ढंगले अघि बढेको हो ।

गाउँपालिकाले गाउँपालिकाभरीका आठ वटा मावि र २९ वटा आधारभूत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई डाकेर अन्तरक्रिया तथा संयुक्त बैठक गरेको छ । वैठकमा विद्यालय अनुगमनको पाटोलाई धेरै अघि बढाउने, अस्थायी करार शिक्षकलाई बढी निगरानी गर्ने र मुलतः शैक्षिक सुधारका लागि कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीलाई अभ्यास पुस्तिका वितरण गर्ने रणनीति अघि सारेको छ ।

विद्यार्थीलाई वितरणका लागि पृष्ठभूमिमा गाउँपालिकाको प्रशासनिक भवन र गाउँपालिकाको भौगोलिक नक्सा राखेर अभ्यास पुस्तिका छापिएको छ । अभ्यास पुस्तिकामा मिति, विधार्थीको नाम, कक्षा, रोल नं., विषय, विद्यालय, विषय शिक्षकको नाम, सम्पर्क नम्बर, प्रधानाध्यापकको दस्तखत, अभिभावकको नाम र सम्पर्क नम्बर लेख्ने स्थान राखिएको छ । प्रधानाध्यापक र शिक्षा शाखाबाट विषय शिक्षक/कक्षा शिक्षकलाई शैक्षिक सुधारका लागि दिईने ५/५ वटा बुदा लेख्ने स्थान राखिएको छ ।

अभ्यास पुस्तिका प्रयोग गर्दा विधार्थी, शिक्षक, अभिभावकले पालना गर्नुपर्ने बुंदाहरु पनि राखिएको छ । अभ्यास पुस्तिकामा विद्यार्थीहरुले दिउँसोको कक्षा कार्य र गृहकार्य गरी शिक्षकलाई जाँच गर्न लगाउनुपर्नेछ, शिक्षकले दिएको कक्षा कार्य र गृहकार्यको मिति अनिवार्य लेख्नुपर्नेछ, अभ्यास पुस्तिकाको सम्पूर्ण पानाहरु लेखिसकेपछि अभ्यास पुस्तिका सुरक्षितसँग विद्यालयमा बुझाउनुपर्नेछ ।

शिक्षकले अभ्यास पुस्तिका प्रयोग गराउँदा प्रत्येक दिन कक्षा कार्य र गृहकार्य यहि अभ्यास पुस्तिकामा दिई रातो मसिको प्रयोग गरी जाँच्नुपर्ने, अभ्यास पुस्तिकाको सम्पूर्ण पेजहरु विधार्थीले लेखिसकेपछि प्रधानाध्यापकबाट प्रमाणित हुनुपर्नेछ । अभिभावकले प्रत्येक दिन शिक्षकले गृहकार्य दिईएको छ/छैन जाँच गर्नुपर्ने र शिक्षकले आफ्नो छोराछोरीलाई दिईएको गृहकार्य अनिवार्य रुपमा गर्न लगाउनु पर्नेछ । त्यसपछि अभ्यास पुस्तिका विद्यालयले गाउँपालिकाको शिक्षा शाखामा बुझाउनुपर्ने र नयाँ कापी लिएर विद्यार्थीलाई दिनुपर्नेछ ।

कुन विद्यालयमा कुन-कुन शिक्षकले कति पढाएको छ भनेर शिक्षा शाखाका कर्मचारीले जनप्रतिनिधिको उपस्थितिमा अभ्यास पुस्तिका जाँच गर्नेछ । त्यसपछि अभ्यास पुस्तिकामा प्रअ र शिक्षा शाखाबाट विषय शिक्षक र कक्षा शिक्षकलाई शैक्षिक गुणस्तर सुधारका लागि ५/५ वटा सुझावसहित अभ्यास पुस्तिका विद्यालयलाई नै फिर्ता दिनेछ ।

गाउँपालिकाले शैक्षिक सुधार लागि अघि बढाएको अभ्यास पुस्तिका वितरण योजनाले विधार्थी, शिक्षक, अभिभावक र कामचोर शिक्षकलाई ठेगान लगाउने आशा गरिएको छ । यसरी कापी वितरण गर्दा कुन विद्यालयको शैक्षिक स्तर कस्तो छ,शिक्षकले गृहकार्य दिए/दिएनन, विधार्थीले गृहकार्य गरे/गरेनन्, शिक्षकले गृहकार्य जाँज गरे/गरेनन्, फर्जी विधार्थी छन्/छैनन् पत्ता लाग्नेछ ।

सामुदायिक विद्यालयमा शैक्षिक सुधारका लागि शिक्षक, विधार्थी र अभिभावकलाई नै इंगेज बनाउने लक्ष्यले कापी वितरण र विधार्थीको गृहकार्य गाउँपालिकाले चेक गर्ने अवधारणा ल्याईएको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो । शिक्षामा सुधार भएन भनेर हामी शिक्षकलाई गाली गर्छौ, कारवाही गर्छौ त्यसले खास परिवर्तन आएको देखिएन । कापी वितरण कार्य साधारण जस्तो छ । गाउँपालिका अध्यक्ष राईले भन्नुभयो, तर ‘यसले शिक्षा क्षेत्र सुधार गर्नुपर्ने सबैलाई परिबन्धमा पार्छ । शिक्षा क्षेत्रको बेसलाई स्वतः सुधार गर्छ भन्ने बुझाई छ।’

आगामी शैक्षिक सत्रदेखि कक्षा ४ र कक्षा ५ मा पनि विधार्थी अभ्यास पुस्तिका निःशुल्क वितरण गर्दै चेक गर्ने कार्यक्रम कार्यन्वयनमा ल्याइने योजना छ । कार्यक्रम प्रभावकारी देखिएमा कक्षा ६ र कक्षा ७ को विज्ञान, गणित र अंग्रेजीको कापी चेक गर्ने कार्यक्रम लागू गरिनेछ । अध्यक्ष राईले भन्नुभयो ।

यस गाउँपालिकाको ३७ विद्यालयमा कक्षा ११ बाहेक ३ हजार ३२४ जना विधार्थी अध्ययनरत छन् । त्यसमध्ये कक्षा १ देखि कक्षा ३ सम्म १ हजार १४ जना विधार्थी अध्ययनरत रहेको शिक्षा शाखा संयोजक सुरेन्द्र खनालले बताउनुभयो । खनालका अनुसार चालू शैक्षिक सत्रका लागि १६ हजार अभ्यास पुस्तिका छापिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?