इलाम । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा इलाममा पनि चुनावी माहोल तिव्र बनेको छ । यसअघि सिमित घरदैलो अभियानमा केन्द्रित रहेका यहाँका राजनीतिक दल र उम्मेद्वारहरु बिहीबारदेखि चुनाव प्रचारप्रसार खुला भएसंगै आक्रामक चुनावी प्रचारमा जुटेका छन् । समकालिन मुलुकको राजनीतिका दुई शीर्ष नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा भएको कारण पनि इलामको निर्वाचन मुलुककै चासोको विषय बनेको छ ।
दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको इलाममा राजनीतिक दल र स्वतन्त्र गरी २५ जना चुनावी प्रतिष्पर्धामा छन् । दुवै क्षेत्रमा देशका दुई ठूला नेताहरू पूर्वप्रधानमन्त्री खनाल र संविधानसभाका अध्यक्ष नेम्वाङसँग पार्टीका जिल्ला अध्यक्षहरू प्रतिष्पर्धामा छन् । विगत निर्वाचनहरुमा एउटै पार्टीबाट निर्वाचित हुँदै आउनुभएका खनाल र नेम्वाङ नेकपा एमाले विभाजनसंगै यसपटक फरक-फरक दलबाट चुनावी प्रतिष्पर्धामा रहनुभएको छ ।
प्रतिनिधिसभा सदस्यको लागि इलाम क्षेत्र नम्बर १ बाट उम्मेद्वार बन्नुभएका पूर्वप्रधानमन्त्री झलनाथ खनालको सातौ उम्मेद्वारी हो । २०५६ सालमा नेपाली काग्रसेका उम्मेदवार बेनुपराज प्रसाईंसंग पराजित बन्नुबाहेक खनाल निरन्तर यहि क्षेत्रबाट निर्वाचन जित्दै आउनुभएको छ । आसन्न चुनाव आफ्नो लागि अन्तिम भएको बताउँदै आउनुभएका खनाललाई यसपटक आफ्नै पूर्वपार्टी एमालेका उम्मेद्वार महेश बस्नेत चुनौती बनेर आउनुभएको छ ।
नेकपा एमालेमा आएको फुटपछि पहिलो चुनावको सामना गर्नुभएका खनाललाई पाँच दलीय सत्तागठबन्धनको साथ रहेपनि आफ्नो पुरानो पार्टीको संगठन र जिल्ला तहमा लोकप्रिय रहेका बस्नेतका कारण विगतमा जस्तो सहज भने छैन् । तर,नेता खनाल भने चुनाब जित्नेमा ढुक्क देखिनुहुन्छ ।
खनालसंग प्रतिष्पर्धामा उत्रिनुभएका एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत २ पटक इलाम नगरपालिकाको प्रमुख भइसक्नुभएको छ । लामो समयदेखि पार्टीमा राम्रो पकड बनाएपनि हेभिवेट नेतासंग प्रतिष्पर्धा गर्नुपर्दा बस्नेतलाई पनि चुनाव जित्न फलामको च्युरा चपाउनुसरह हुने देखिन्छ । तर,बस्नेत भने यो कुरामा सहमत देखिनुहुन्न । निर्वाचन क्षेत्र नम्बर १ मा सूर्याेदय र माई नगरपालिका तथा माइजोगमाई,सन्दकपुर र रोङ गाउँपालिका गरी ५ स्थानीय तह रहेका छन् ।
इलामको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुबासचन्द्र नेम्वाङ र नेपाली काँग्रेसको तर्फबाट जिल्ला सभापति डम्बर खड्काबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । खड्कालाई गठबन्धनको साथ रहँदा नेम्वाङलाई पार्टी संगठन र व्यक्तित्वको साथ छ । खड्का प्रतिष्पर्धी भएसंगै यहि क्षेत्रबाट ०५६ सालदेखि अपराजित नेम्वाङलाई भने चुनाव जित्न सकस पर्ने देखिन्छ । पटक-पटक मुलुकको राजकीय उच्च पदमा पुगेपनि विकास निर्माणको काम नगरेको नेम्वाङप्रति यस क्षेत्रका मतदाताको असन्तुष्टिलाई क्यास गर्ने खड्काको दाउ छ । तर,सुवास नेम्वाङ भने आफ्नो जितप्रति शंका नरहेको जिकिर गर्दै आउनुभएको छ ।
एमालेको पकड मानिएको यो क्षेत्रमा चुनाव जित्ने रणनीतिका लागि कांग्रेस सहित गठबन्धन दल लागिपरेका छन् । यो पटक एमाले फुटेका कारण पनि आफूले जित्ने कांग्रेसको दाबी छ । इलामक्षेत्र नम्बर २ मा इलाम र देउमाई गरी दुई नगरपालिका र चलाचुली, माङसेबुङ, फाकफोक गाउँपालिका गरी ५ स्थानीय तह छन् । दलगत उम्मेद्वार बाहेक चुनावी मैदानमा रहेका स्वतन्त्र उम्मेद्वारपनि आ-आफ्नो एजेण्डासहित मतदातामाझ गइरहेका छन् । मतदातासंग सबैजसो उम्मेद्वारले इलामको विकासलाई मुख्य एजेन्डाका बनाएका छन् ।
कहाँ कति मतदाता ?
जिल्लामा २ लाख २४ हजार ८ सय ७७ मतदाता रहेका छन् । जसमध्ये प्रतिनिधिसभा निर्वचन क्षेत्र नम्बर १ मा १ लाख ९ हजार ५ सय ३५ र क्षेत्र नम्बर २ २ मा १ लाख १५ हजार ३ सय ४२ मतदाता रहेका छन । त्यसैगरी प्रदेशसभा निवाचन क्षेत्र नम्बर १ (१) मा ५५ हजार २ सय ४७, क्षेत्र नम्बर १ (२) मा ५२ हजार २ सय ८८, क्षेत्र नम्बर २ (१) मा ६० हजार ८२ र क्षेत्र नम्बर २ (२) मा ५५ हजार २ सय ६० मतदाता रहेका छन् ।
को सँग को भिड्दै ?
प्रतिनिधिसभा निर्वाचनका लागि २५ र प्रदेशसभाका लागि २९ जनाले मनोनयन गरेका थिए । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा ११ र २ मा १४ जनाले उम्मेद्वारी मनोनयन दर्ता गरेका हुन ।
क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालसहित ८ राजनीतिक दल र ३ स्वतन्त्रको उम्मेदवारी परेको हो । इलाम २ मा संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङसहित १२ राजनीतिक दल र २ स्वतन्त्र गरी १४ जनाले मनोनयन दर्ता गराएका थिए ।
इलाम १ मा नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले एमालेवाट प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । त्यस्तै जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष कमलकुमार राई, नेपाली कांग्रेस (वि.पी.) का गणेशप्रसाद पौडेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतकुमार मुखिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटा, राष्ट्रिय जनमुक्तिका पदमबहादुर लिम्बू र मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचेले मनोनयन दर्ता गर्नुभएकाे छ । त्यस्तै नीमातेन्जिङ शेर्पा, नेत्रप्रसाद रेग्मी र विक्रम पाण्डेले स्वतन्त्रबाट मनोनयन दर्ता गर्नुभएकाे छ ।
प्रदेशसभातर्फ
प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) मा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी नेतृ खिनु लङवा लिम्बू र एमालेकी सोभा पराजुली चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । क्षेत्र नम्बर १ (ख) मा गठबन्धनका तर्फबाट कांग्रेसका समशेर राई र एमालेका दीपककुमार थेवेबीच प्रतिष्पर्धा हुने भएको छ ।
त्यस्तै,क्षेत्र नम्बर २ (क) मा गठबन्धनका तर्फबाट कांग्रेसका गोविन्द गिरी र एमालेका गणेशप्रसाद बराल चुनावी मैदानमा हुनुहुन्छ । क्षेत्र नम्बर २ (ख) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हर्क लावती (कान्छा) र एमालेका रामबहादुर मगर रानाबीच प्रतिष्पर्धा हुने भएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका