रुपन्देहीमा थपियो ९२ मतदान केन्द्र

हिमालय टाइम्स
Read Time = 5 mins

भैरहवा । आगामी ४ मंसिरमा तय भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार र निर्वाचन सम्पन्न गराउने अधिकारीहरू आ-आफ्नै तयारीमा लागेका छन् । उम्मेदवारहरू पार्टीको प्रचार प्रसारका लागि कार्यालय खोल्नेदेखि घरदैलो र छलफलमा व्यस्त छन भने निर्वाचनलाई सम्पन्न बनाउन प्रशासन, निर्वाचन कार्यालय र निर्वाचन अधिकृतहरु तयारीमा छन् ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले दुई सय आठवटा मतदान स्थल हुने गरी सात सय दुईवटा मतदान केन्द्र जिल्लाभर रहनेको टुंगो लगाएको छ । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा २०७४ सालको प्रदेश एवम प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा पाँच लाख ३७ हजार एक सय २१ मतदाता थिए । आगामी निर्वाचनका लागि ३ मंसिरसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकले मात्र मतदानमा भाग लिन पाउने प्रावधान छ । मतदाता नामावली दर्ता नागरिकताको आधारमा भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्ने हुन्छ ।

अघिको प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा दुई सय आठवटै मतदानस्थल रहेको थियो भने मतदान केन्द्र ६ सय १० वटा थियो । मतदाताको संख्या बढेकोले यस वर्ष मतदान केन्द्रहरु ९२ वटा थपिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताउनुभयाे । सरदरमा एक हजार ६४ मतदाताको लागि एउटा मतदान केन्द्र तोकिएको छ । एउटा मतदानस्थलमा १६ वटा सम्म मतदान केन्द्र रुपन्देहीमा कायम गरिएको छ । अहिले गएको स्थानीय तहको भन्दा दुईवटा मतदान केन्द्र थपिएको छ, सोहीअनुसार मतदान केन्द्रको टुंगो लगाउने कार्य भएको भण्डारीकाे भनाइ छ ।

रुपन्देहीबाट हाल ६ लाख ३८ हजार नौ सय ५२ जनाले यो निर्वाचनमा मताधिकारको प्रयोग गर्न पाउँछन् । तीन लाख २७ हजार चार सय ३३ पुरुष र तीन लाख ११ हजार पाँच सय ११ महिलाले मत हाल्न पाउनेछन् । निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर विनोद भट्टराईका अनुसार रुपन्देही १ मा एक लाख ३९ हजार ५ सय ६० जनाले मताधिकार पाएका छन् । जसको प्रदेश सभा १ मा ७२ हजार २ सय ११ मतदाता छन् भने २४ मतदान स्थलबाट ८२ मतदान केन्द्रमा मतदान हुनेछ । प्रदेश सभा २ का लागि ६७ हजार तीन सय ४९ जनाले मतदानका लागि २१ वटा मतदान स्थलमा ७२ वटा मतदान केन्द्र राखिएको छ ।

रुपन्देही २ को एक लाख २६ हजार आठ सय सात मतदाताका लागि प्रदेश सभा १ का लागि १० मतदान स्थलमा ६५ वटा मतदान केन्द्र तोकिएको छ ।६३ हजार पाँच सय तीन मतदाता रहेको प्रदेश २ को १ मा एकजनाले अन्यबाट पनि मतदान गर्नेछन् । प्रदेश सभा २ का लागि ६३ हजार तीन सय चारजनाले मताधिकार पाएका छन्, जसका लागि १३ वटा मतदानस्थलमा ६६ वटा मतदान केन्द्र तय भएको छ ।

रुपन्देही ३ मा कुल एक लाख ३२ हजार सात सय ९१ मतदाता छन् । प्रदेशको १ मा भने ६५ हजार ५ सय १३ मतदाताले २० वटा मतदान स्थलमा रहेको ७१ व्टा मतदान केन्द्रबाट मतदान गर्नेछन् भने प्रदेश २ का ६७ हजार दुई सय ७८ मतदाताले २६ मतदान स्थलको ७५ मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

रुपन्देही ४ मा कुल एक लाख १० हजार ६ सय ५९ मतदाता छन् । प्रदेशको १ मा ५३ हजार तीन सय ८९ मतदाताले २४ वटा मतदान स्थलमा रहेको ६२ वटा मतदान केन्द्रबाट मतदान गर्नेछन् भने प्रदेश २ का ५७ हजार दुई सय ७० मतदाताले २४ मतदान स्थलको ६६ मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

रुपन्देही ५ मा कुल एक लाख २९ हजार एक सय ३५ मतदाता छन् । प्रदेशको १ मा ७४ हजार ६ सय ५९ मतदाताले २० वटा मतदान स्थलमा रहेको ८० वटा मतदान केन्द्रबाट मतदान गर्नेछन् भने प्रदेश २ का ५४ हजार चार सय ७६ मतदाताले २६ मतदानस्थलको ६३ मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?