गठबन्धनका कारण जित सुनिश्चित भइसक्योः ओनसरी घर्ती

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले सत्तारुढ गठबन्धनका कारण आसन्न निर्वाचनमा जित सुनिश्चित भएको बताउनुभएको छ ।

सोमवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले सत्ता गठबन्धनका कारण जित सुनिश्चित भएको र प्रक्रिया पूरा गर्नका लागि मात्रै मंसिर ४ गते कुर्नुपरेको बताउनुभएको हो । नेतृ घर्तीको टिमले आज काठमाडौं क्षेत्र नम्बर २ को कोटेश्वर क्षेत्रमा मतदाताहरुसँग भेटघाट गर्नुभएको थियो । उहाँले आफू नागरिकमाझ काम गर्नसक्ने प्रतिवद्धता मात्रै लिएर उपस्थित भएको बताउनु भयो ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहनुभएकी घर्तीले वाम गठबन्धनले बोलेको गर्ने र सक्ने मात्रै बोल्ने बताउनु भयो । उहाँले अहिले आसन्न निर्वाचनका लागि घरदैलो कार्यक्रममा सहभागी भइरहेको र घरदैलो कार्यक्रममा आम नागरिकले उत्साहपूर्वक आफूप्रति रुची देखाएको बताउनु भयो । उहाँले कार्यकर्ता र आम नागरिकले अग्रिम शुभकामदा दिइसकेको भन्दै पार्टीको चुनावी एजेण्डामा आम नागरिकहरुबाट राम्रा प्रतिक्रिया आइरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी आम नागरिकमाझ गर्नसक्ने प्रतिवद्धता लिएर आएका छौँ । जे सक्छौँ त्यो गर्छौं । जे बोल्छौं, त्यो गर्छौं । आज हामी वाम लोकतान्त्रिक गठबन्धन चुनावी घरदैलोको क्रममा छौँ । घरदैलो अभियान एकदमै उत्साहपूर्वक छ । कार्यकर्ता र जनसमुदायले आगामी जितको लागि स्वागत गरिरहनुभएको छ । हाम्रो एजेण्डामा राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । गबठन्धनका कारण हामी आफ्नो जित निश्चित भएको महशुस गरिरहेका छाैं । हामी आगामी ४ गतेको चुनावी प्रक्रिया मात्रै पर्खिएर बसेका छौँ ।’

पछिल्लो समय निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका उम्मेदवारहरु चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा सक्रिय छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो पार्टीलाई जित दिलाउन राजनीतिक दलका शीर्ष नेताहरु पार्टीका चुनावी एजेण्डा लिएर देश दौडाहामा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?