श्रम पलायनले अर्थतन्त्रमा टेवा : विश्व बैंक

Read Time = 3 mins

काठमाडौं । कोरोनाबाट शिथिल बनेको मुलुकको अर्थतन्त्र पुनस्र्थापनामा श्रम पलायनले महत्वपूर्ण योगदान पुर्‍याएको बताइएको छ । कोरोनाका बेला धरासायी बनेको अर्थतन्त्र, आकाशिएको मूल्यवृद्धि, बाहृय क्षेत्रको प्रभावका कारण दक्षिण एसियाली क्षेत्र आर्थिकरूपमा शिथिल भएको छ । तर, धरासायी बनेको अर्थतन्त्र माथि उठाउन श्रम पलायन प्रभावकारी देखिएको विश्व बैंकको एक अध्ययनले देखाएको हो । दक्षिण एसियाबाट श्रम पलायन हुने देशमा खासगरी नेपाल, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् ।

विश्व बैंकले गरेको एक सर्वेक्षणअनुसार नेपालमा रहेका अदक्ष तथा अर्धदक्ष श्रमिकको तुलनामा बाहिरी देश गई श्रम गर्ने श्रमिकको आम्दानी पाँच गुणा बढी रहेको छ । श्रम पलायनबाट श्रमिकको परिवारमात्रै नभई देशलाई पनि सहयोग पुग्ने गरेको छ । नेपालको कुल आम्दानीको २० प्रतिशत आम्दानी रेमिट्यान्सबाट हुने गरेको छ । रेमिट्यान्सबाट पाकिस्तानले कुल गार्हस्थ्य उत्पादन (जिडिपी) छ प्रतिशत र बंगलादेशले आठ प्रतिशत आर्जन गर्दै आएका छन् ।

श्रम पलायनलाई थप व्यवस्थित गर्न श्रमिक आहृवान गर्ने देशसँग दुईपक्षीय तथा बहुपक्षीय नीतिगत बहस गर्न, श्रमिकलाई आवश्यक तालिम तथा कामको सम्पूर्ण जानकारी दिन, फर्केर आएपछि सामाजिक सुरक्षाअन्तर्गत उनीहरूले आर्जन गरेको सीप स्वदेशमा परिचालन गर्न विश्व बैंकले सुझाव दिएको छ । सोही सन्दर्भमा विश्व बँैंक र र इन्स्टिच्युट फर इन्टिग्रेटेड स्टडिज (आइआइडिएस) को सहकार्यमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले श्रमिकले पठाउने रेमिट्यान्सबाट देशलाई आर्थिकरूपमा सहयोग गरे तापनि सूचनाको कमी र श्रम बजारका बिचौलियाका कारण श्रमिकहरू समस्यामा परेको बताउनुभयो ।

दक्षिण एसियाका लागि विश्व बैंकका मुख्य अर्थशास्त्री हान्स टिम्मरले कोरोनापछि श्रम पलायनको क्रम बढ्दै गए तापनि कोरोनाअघिको तुलनामा भिसा खर्च बढेको बताउनुभयो । रेमिट्यान्सले मानिसहरूको जीवनस्तर उकास्न र दिगो विकासका योजना सार्थक बनाउन सहयोग गरेको अर्थशास्त्री एवं आइआइडिएसका कार्यकारी अध्यक्ष विश्वास गौचनले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?