१३२ केभी सुनवल सबस्टेसन अन्तिम चरणमा

Read Time = 6 mins

काठमाडौं । नवलपरासीस्थित बर्दघाट सुस्ता पश्चिममा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि निर्माणाधीन १३२ केभी सुनवल सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । सुनवल नगरपालिका-७ मा निर्माणाधीन सबस्टेसन निर्माण एक महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हाल सबस्टेसनका उपकरण जडान धमाधम भइरहेको छ । १३२/३३/११ केभी सबस्टेसनमा ६३ एमभिएका दुईवटा, २२.५ एमभिएको एउटा पावर ट्रान्सफर्मर रहनेछन् । सबस्टेसनबाट स्थायीरूपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका सातवटा र ११ केभीका चारवटा फिडर निकालिनेछन् । हाल सञ्चालनमा रहेको पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । सोही १३२ केभीबाट सुनवल सबस्टेसनमा विद्युत् आपूर्ति दिइनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, लुम्बिनी प्रादेशिक कार्यालयका निर्देशक नवराज ओझालगायतको उच्चस्तरीय टोलीले सबस्टेसन निर्माण प्रगतिको स्थलगत अनुगमन गरी एक महिनाभित्र सञ्चालनमा ल्याउन आग्रह गरेको छ ।

टोलीले परासी र भैरहवा क्षेत्रमा निर्माणाधीन प्रसारण तथा वितरण लाइन आयोजनाको प्रगति, आगामी दिनमा नवलपरासी र रूपन्देहीको दक्षिण भेगमा हुने बस्ती तथा औद्योगिक क्षेत्र विस्तारका लागि आवश्यक विद्युतीय पूर्वाधारलगायतका विषयमा जानकारी लिएको छ ।
औद्योगिक करिडोरमा विद्युत् आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत् प्राप्त भएको बजेटमा सुनवल सबस्टेसन निर्माण गरिएको हो । प्राधिकरणले परासी र रूपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता वृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल (भुमही)-हकुई १३२ केभी डबल सर्किट प्रसारणलाइन निर्माण बढाएको छ ।

नवलपरासीको सुनवल नगरपालिका-१३ मा २२०/१३२ केभी नयाँ बुटवल सबस्टेसन निर्माण गरिएको छ । सोही सबस्टेसनबाट भारतको गोरखपुरसम्म ४०० केभीको प्रसारण लाइन बन्दैछ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बाट प्राप्त अनुदानमार्फत् बुटवलमा ४०० केभीको सबस्टेसन निर्माण गरिनेछ ।

कार्यकारी निर्देशक घिसिङले नवलपरासी, रूपन्देहीको दक्षिणी क्षेत्रमा आगामी दिनमा हुने विद्युत् माग सम्बोधन गर्न दीर्घकालीन योजनाअन्तर्गत हुलाकी राजमार्ग आसपासबाट नयाँ बुटवल सबस्टेसनबाट कपिलवस्तुको मोतीपुर सबस्टेसनसम्म २२० केभी प्रसारण लाइन निर्माण गरिने बताउनुभयो ।

प्राधिकरणले योगीकुटी (बुटवल) बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसनको निर्माण सम्पन्न गरी विद्युत् दिन थालेपछि भैरहवा क्षेत्रमा विद्युत् आपूर्तिमा सुधार आएको जनाएको छ । भैरहवा क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धि र प्राविधिक चुहावट नियन्त्रणका लागि प्रसारण लाइन र मैनहियामा १३२ केभी सबस्टेसन निर्माण गरी विद्युत् आपूर्ति दिइरहेको छ । स्थायीरूपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिएको छ । विद्युत्को भोल्टेजको सुधारका लागि दुईवटा क्यापासिटर बैंक राखिएको छ ।

त्यस्तै, खमैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत् प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । भारततर्फको सबस्टेसनमा केही काम बाँकी रहेकाले प्रसारण लाइन सञ्चालनमा आएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?