आयोगद्वारा ‘संयुक्त निर्वाचन सञ्चालन केन्द्र’ स्थापना

नारायण भण्डारी
Read Time = 9 mins

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनको व्यवस्थापन, सुरक्षा र अनुगमनका कार्यमा समन्वय बढाउन संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ । आयोगले केन्द्रीय कार्यालयमा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग पुर्‍याउन संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रको सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उद्घाटन गर्नुभयो । सो क्रममा प्रमुख आयुक्त थपलियाले केन्द्रमा खटिने कर्मचारीहरूले मुख्यतः पाँच महत्वपूर्ण काम गर्ने बताउनुभयो ।

‘संयुक्त निर्वाचन सञ्चालन केन्द्रको क्रियाशीलताले स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न हुने विश्वास छ,’ उहाँले भन्नुभयोे । उहाँले आयोगले विकट पहाडी जिल्लाका मतदान केन्द्रहरूमा कर्मचारी खटाउन सुरु गरेको जानकारी दिँदै केन्द्रले उनीहरूसँगको समन्वयमा काम गर्ने बताउनुभयो ।

आयोगका सचिवको संयोजकत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका रापत्रांकित प्रथम श्रेणी वा सो सरहका नेतृत्व तथा आयोगका आवश्यक कर्मचारीहरू रहनेछन् । प्रमुख आयुक्त थपलियाले निर्वाचनको तयारीका क्रममा सामग्री र जनशक्ति व्यवस्थापन, सुरक्षा प्रबन्ध र अनुगमनको मिहिन विश्लेषण गरेर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा सम्बोधन गर्ने संयन्त्र विकास गरिएको बताउनुभयो । निर्वाचन सुरक्षा व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०७९ तथा निर्वाचन अनुगमन (पहिलो संशोधन) निर्देशिका, २०७९ अनुसार स्थापित केन्द्रले देशभर निर्वाचनबारे भइरहेका व्यवस्थापन, सुरक्षा र अनुगमनका कामलाई अझ प्रभावकारी बनाउन समन्वय बढाउने विश्वास गरिएको छ ।

निर्वाचनको स्वच्छतालाई दुष्प्रचार नगरियोस् : आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गर्नुभएको छ । सोमबार कलाकारहरूसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट अगेन’बारे बोलिरहँदा कसैले पनि निर्वाचन र उम्मेदवारहरूप्रति लक्षित मिथ्या सूचना, चरित्र हत्या लगायतका दुष्परिणामयुक्त शब्दहरूको प्रयोग गर्न नहुनेप्रति सचेत हुन आग्रह गर्नुभएको हो । उहाँले लोकतन्त्रको आडमा कसैको पनि चरित्रहत्या गर्नेकुरा स्वीकार्य हुन नसक्ने भन्दै घृणास्पद अभिव्यक्तिप्रति आयोग गम्भीर हुने बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले नो नट अगेनबारे विज्ञप्ति जारी गर्दा सामाजिक सञ्जालमा निर्वाचनलाई बिथोल्ने असामाजिक किसिमका कुनै पनि कुराहरू राख्न नहुनेतर्फ मात्रै आम नागरिकहरूको ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालको प्रयोग सधैँ सकारात्मक कुरामा मात्रै प्रयोग हुनु जरुरी रहेको पनि बताउनुभयो ।

पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको सुझाव : आयोग संयमित भएर अघि बढ्नुपर्छ
पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले संयमित भएर काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । ललितपुरमा सोमबार भएको एक कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले आफ्नो निर्वाचन अनुभव सुनाउँदै आयोगले संयमित भएर निर्वाचन गतिविधि सञ्चालन गर्नुपर्ने सुझाव दिएका हुन् । कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको बेला निर्वाचन आयोगको सबैभन्दा ठूलो शक्ति नै संयमता भएकाले सोही अनुसारको बोली, बचन र व्यवहार हुनुपर्ने बताउनुभयो ।

निर्वाचन आयोगको सानो गल्तीले सानो वाद–विवाद आगोको झिल्कोझैं सल्कन सक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने उहाँको भनाइ थियो । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले आयोगको ध्यानाकर्षण गराउनुभयो । उहाँले शीर्ष नेताहरू उम्मेदवार भएका जिल्ला बढी संवेदनशील हुने गरेको उल्लेख गर्दै त्यसमा सुरक्षाको आवश्यक व्यवस्था मिलाउन ध्यान दिनुपर्ने स्मरण गराउनुभयो । श्रेष्ठले मतदाता शिक्षाको कामलाई प्रभावकारी बनाउन पनि आयोगले ख्याल राख्ने विश्वास व्यक्त गर्नुभयो । पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले मतगणनामा गडबढी हुन नदिन निर्वाचन आयोग गम्भीर बन्नुपर्ने बताउनुभयो ।

प्रमुख नेताहरू भएको ठाउँमा विशेष ध्यान दिनुपर्छ ; आचार्य
पूर्वमन्त्री निलाम्बर आचार्यले राजनीतिक दलका प्रमुख नेताहरू उम्मेदवार भएको क्षेत्रमा निर्वाचनलाई स्वच्छ बनाउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । आइतबार ललितपुरमा आयोजित ‘निर्वाचन आयोगको अभिभारा’को सम्बन्धमा गरिएको अन्तरक्रियामा बोल्दै पूर्वमन्त्री आचार्यले प्रमुख नेताहरू उम्मेदवार भएको ठाउँमा निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । प्रमुख नेताहरू उम्मेदवार भएको ठाउँमा मतदाताले कर, बल र अनुचित प्रभावबिना मतदान गरेको अनुभूति गर्न सक्नुपर्ने उहाँको भनाइ थियो । प्रमुख नेताहरू उम्मेदवार भएको ठाउँलाई निर्वाचनको स्वच्छताको मापदण्डका रूपमा प्रस्तुत गराउन निर्वाचन आयोगले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

पूर्वमन्त्री आचार्यले नेपालमा कुनैबेला रातारात मतपेटिका साटिएकोतर्फ ध्यानाकर्षण गराउँदै मतपेटिकाको सुरक्षाका लागि सतर्कता आवश्यक रहेको बताउनुभयो । नागरिकहरूको सजगता र सतर्कताले आयोगलाई पनि सजग र सतर्क हुन मद्दत गर्ने उहाँले बताउनुभयो । निर्वाचनको मौन अवधिमा बदमासी हुनसक्ने भन्दै निगरानी गर्नुपर्ने उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?