स्वतन्त्र मेयरहरूको समर्थन कसलाई ?

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा केही स्थानीय तहमा अनपेक्षित परिणाम आयो । स्थापित र ठूला राजनीतिक दलका उम्मेदवारलाई पछाडि पार्दै राजनीतिमा चर्चामा नआएका उम्मेदवारहरूले बाजी मारे । मजबुत पार्टी संगठन भएका उम्मेदवारलाई राजनीतिमा नवप्रवेशी उम्मेदवारले अप्रत्याशित रूपले जिल्ल पारेको परिणामले आसन्न निर्वाचनका उम्मेदवारलाई बेलाबेला झस्काइरहेको छ । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर ठूलै संख्यामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । राजधानीको काठमाडौं महानगरपालिका, पूर्वको धरान उपमहानगरपालिका, सुदूरपश्चिमको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारले जितेपछि मुलुकको राजनीति नै तरंगित भयो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङ राई र कैलाली उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी)ले हासिल गरेको जित चर्चा र मुलुकको राजनीतिमा विशेष सन्देश दियो ।

वैशाखको स्थानीय निर्वाचनमा केही ठूला सहरमा स्वतन्त्रहरूले नेतृत्व लिएपछि स्वतन्त्र मतहरू निर्णायक हुन थालेका मुलुकको राजनीतिमा स्पष्ट संकेत देखिए । हुन त चुनावका बेला किसिम किसिमका स्वतन्त्र उम्मेदवार उठ्छन् । कोही उम्मेदवार दलबाट टिकट नपाएपछि रातारात स्वतन्त्र हुन्छन् । कोही अहिलेसम्म कुनै दलमा नलागेकाले स्वतन्त्र हुन्छन् । कोही दलबाट टाढिएको केही समयपछि स्वतन्त्र बनेका छन् । वैशाखको स्थानीय चुनावमा पनि यस्ता गतिविधि थुप्रै देखिएका थिए । तीमध्ये केहीले शानदार विजयी हासिल गर्दै चर्चामै रहे भने कतिपयले चुनाव मात्र हारेनन् गुमनाम नै हुन पुगेका छन् ।

आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि स्वतन्त्र उम्मेदवार थुप्रै छन् । कसैले पार्टीबाट टिकट नपाएको रिसमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । कोही विगतमा स्वतन्त्र रहेका तर राजनीतिमा दलीय सिण्डिकेट तोड्ने भन्दै चुनावी मैदानमा उत्रिएका छन् भने कोही गत स्थानीय तह निर्वाचनको परिणामलाई हेरेर सांसद बन्ने लोभमा चुनावी मैदानमा उत्रिएका छन् ।

गत स्थानीय तहमा जित्ने स्वतन्त्रहरूले आसन्न निर्वाचनमा कसलाई समर्थन गर्लान् भन्ने सर्वत्र चासो देखिएको छ । किनभने आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई स्वतन्त्र मेयरहरूको झुकावले ठूलो प्रभाव देखिन्छ । अहिलेसम्म ठूला सहरका स्वतन्त्रबाट चुनाव जितेका मेयरहरूले मुख खोलेका छैनन् । हुन त निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरूको प्रचार–प्रसारमा हिँड्न कडाइ गरेको छ ।

बालेन साह
मुलुककै ठूला र स्थापित राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई फराकिलो मतले पराजित गरेर जित हासिल गर्नुभएका काठमाडौं महानगरपालिकाका मेयरमा बालेन्द्र साहले आगामी चुनावमा कसलाई साथ दिने भन्ने निश्चित गरिसक्नु भएको छैन । अहिलेसम्म मेयर साह कुनै पनि दल र उम्मेदवारको समर्थनमा देखिनुभएको छैन । मेयर साह काठमाडौं क्षेत्र नम्बर २ का मतदाता हुनुहुन्छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार दिनुभएकी माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती र नेकपा एमालेका उम्मेदवार मणिराम फुँयालबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती पोखरेल लगायतका उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । मेयर बालेनको सचिवालयका एक सदस्यका अनुसार निर्वाचन आयोगले स्थानीय तहका प्रमुखलाई जे-जे गर्नु भनेको छ त्योभन्दा बढी नगर्ने र आचारसंहितालाई पूर्णतः पालना गर्ने जानकारी दिँदै भन्नुभयो, ‘प्रतिनिधिसभा निर्वाचनमा कसैलाई समर्थन गर्लान् भन्ने आशै नराखे हुन्छ । हामी स्वतन्त्र छौँ, स्वतन्त्रै रहन्छौँ । भोट खसाउने कुरा त व्यक्तिगत हो । मताधिकार प्रयोग गर्नुहुन्छ । महानगरको काम विशेषले हिँड्दा कतै जम्काभेट भए फरक कुरा हो । तर, व्यक्तिगत वा दलगत रूपमा निर्वाचनमा कसैलाई समर्थन वा विरोध गर्ने नीति छैन ।’

हर्क साम्पाङ
ठूला दलका उम्मेदवारलाई पराजित गर्दै जित हासिल गरेर चर्चित बन्नुभएका सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ काम र सामाजिक सञ्जालमा राख्ने अभिव्यक्तिले पनि चर्चित हुनुहुन्छ । आसन्न निर्वाचनको सन्दर्भमा पनि मेयर राईले सामाजिक सञ्जालमार्फत ४ मंसिरको चुनावमा गद्दार र भ्रष्टहरूलाई हराउनुपर्ने धारणा राखिसक्नु भएको छ । मेयर राई सुनसरी निर्वाचन क्षेत्र नम्बर १ का मतदाता हुनुहुन्छ । सुनसरी १ मा एमाले र जसपा तालमेल गरेर अशोक राईलाई मैदानमा उतारेको छ । सत्तारूढ गठबन्धनको समर्थनमा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बा, स्वतन्त्रबाट मनोज मेन्याङ्बोलगायत उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । आसन्न निर्वाचन लक्षित धारणा सार्वजनिक गर्दै सामाजिक सञ्जालमा मेयर साम्पाङ राईले लेख्नुभएको छ, ‘मंसिर ४ गद्दार र भ्रष्टहरूको हार ∕ सम्पूर्ण न्यायप्रेमी नेपालीहरूले कसैको डर, धम्की, करकाप र लोभ लालचमा नपरी स्वविवेकले देशलाई चाहिने, देशभक्तहरूलाई चुन्नुहोला । गफ होइन काम गर्नेलाई ।’

निर्वाचनको सन्दर्भलाई नै जोडेर केही दिनअघि मात्रै फेरि सामाजिक सञ्जालमा मेयर साम्पाङले लेख्नुभएको छ, ‘कृपया, कोही कसैले मेरो नाम जोडेर भोट माग्ने काम नगर्नुहोला । मैले कसैलाई आफ्नो उम्मेदवार घोषणा गरेको छैन ।’ पछिल्ला दिनहरूमा भने निर्वाचन लक्षित गरेर मेयर साम्पाङले कुनै दलको विरोध वा समर्थनमा अभिव्यक्ति सार्वजनिक गर्नुभएको छैन ।

गोपाल हमाल
कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर गोपाल हमालले भने कुनै दल वा उम्मेदवारको समर्थन नगरे पनि काठमाडौंका मेयर साहको जसरी मौन बस्नुभएको छैन । मेयर हमालले स्थानीयको कुरा उठाउनेलाई साथ दिने बताउनुभएको छ । कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-५ का मतदातासमेत रहनुभएका हमालले आसन्न निर्वाचनको सन्दर्भमा भन्नुभएको छ, ‘हाम्रा जनप्रतिनिधि यस्तो हुनुपर्छ कि जसले स्थानीय कुरालाई पनि संसद्मा उठाओस् । खाली राजनीतिक कुरा मात्रै गर्नेलाई चुनाव जिताउनु हुँदैन भन्ने हो । हाम्रो धनगढी हामी बनाउँछौँ भन्ने अभियान चलाइरहेका छौँ । त्यस अभियानलाई साथ दिने नेतालाई चुनावमा सहयोग गर्न सकिन्छ । सांसदले स्थानीय तहको अधिकारको विषयमा खासै बोलेका छैनन् । अहिले केन्द्र सरकारले स्रोत नदिँदा स्थानीय तह चलाउन गाह्रो भइरहेको छ ।’ मेयर हमालले कैलालीको जिल्ला समन्वय समितिको चुनावमा सत्तारूढ गठबन्धनलाई मत दिएपछि नेकपा एमालेले हमाल सत्ता गठबन्धनतर्फ रहेको आरोप लगाउँदै आए पनि हमाल भने धनगढीमा आफूले स्वतन्त्र हिसाबले काम गरेको स्पष्टीकरण दिँदै आउनुभएको छ । मेयर हमालले आफ्ना समर्थकहरूलाई स्वविवेक प्रयोग गर्न अनुरोध गरेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?