असम्भव प्रलोभन चुनावी अभियान

निर्वाचन अभियान किसानहरूको असारको पन्ध्रजत्तिकै चटारो बनेर आएको छ । अब बाह्र दिनमा आमनिर्वाचन हुँदै छ । केही सीमित गैरराजनीतिक व्यक्तिहरूलाई बाहेक राजनीतिक चासो सबैमा छ । गैरराजनीतिक व्यक्ति पनि अधिकांश त मतदाता छन् । तिनलाई पनि कसलाई मत दिने भन्ने चासो त छँदै छ । त्यस अर्थमा सबै नेपाली निर्वाचनको चटारोमै छन् । नेपालीहरूको संलग्नता भन्नु नै नेपाल राष्ट्रको संलग्नता हो । अहिले नेपाल र नेपालीहरू सबै निर्वाचनमा तल्लीनताका साथ लागिरहेका छन् । सामान्य मतदाताहरूलाई त गहिरो चासो भइरहेको यस अवस्थामा नेताहरू राजनीतिमा तल्लीन नहुने कुरै भएन । रातदिन उनीहरूको संलग्नता यही कार्यमा छ । उनीहरूलाई यो बाध्यता पनि हो ।

राजनीति भनेको हार्नका लागि कसैले पनि गर्ने होइन सबैले जित्नकै लागि गर्ने हो । राजनीतिक विजय भनेको पहिलो हुनेको मात्र हुन्छ । दोस्रो, तेस्रो वा त्यसपछिको स्थानमा रहेकाहरू विजयी हुँदैन । एक मतले मात्रै पनि हारजित हुनसक्छ । अझै भन्ने हो भने बराबरी मत आउँदा गोलाप्रथाबाट हारजितको निर्धारण गरिन्छ । विपक्षीको कहीँ मत कटाउन सक्नु भनेको आफ्नो मत बढाउनु हो । यस अर्थमा निर्वाचनमा एकदुई मत पनि अमूल्य मानिन्छ । यसैका लागि उम्मेदवारहरू मरिमेटेर लागिपर्नु स्वाभाविक हो तर आफू विजयी हुनैका लागि उम्मेदवारहरूले मतदातालाई असम्भव सपना बाँड्ने काम भने गर्नु हुँदैन । यस्ता असम्भव सपना तिनले पूरा गर्न सक्दैनन् भन्ने मतदाताले पनि बुझेका हुन्छन् ।

यस्ता आश्वासन पूरा गर्न सकिँदैन भन्ने नेताहरूलाई थाहा हुन्छ हुन्छन् । उम्मेदवारलाई यस्ता सपना बाँडेर मतदातालाई झुक्याउन सकिन्छ कि भन्ने लागेको हुन्छ । जनतालाई एकपटक झुक्याउन सकियो भने पाँच वर्षका लागि आपूm नेतृत्वमा पुगिन्छ भन्ने तिनले सोचेका हुन्छन् । यस अर्थमै हो राजनीति भनेको झुटको खेती हो भनिएको । यो सबै ठाउँको समस्या होइन हाम्राजस्ता केही देशको मात्र समस्या हो । पश्चिमी देशहरूमा राजनीतिप्रति हाम्रोभन्दा अलिक विश्वास छ । सही र गलत छुट्याउने क्षमता त्यहाँका मतदातामा हाम्रोभन्दा बढी छ । हाम्रा ठूला दलका शीर्ष नेताहरू नै मतदातालाई असम्भव सपना बाँड्ने कार्यमा अगाडि छन् ।

उनीहरू जे जसरी यस्ता सपना बाँड्दै छन् कि उनीहरूले कुन कुरा भन्नुहुन्छ र कुन भन्नु हुँदैन भनेर नबुझेर हो भन्नुपर्ने हुन्छ कि चाहिँ मतदातालाई यसरी नै भ्रममा पार्न सकिन्छ भनेर नेताले यसो भनेका हुन् भनेर बुझ्नुपर्ने हुन्छ । नेताहरूले आफ्नो ठाउँमा गएर मतदातासँग मत माग्दा आपूmलाई मत दिन धम्कीपूर्ण दबाब दिएका केही प्रसंग चर्चामा आइरहेका छन् । बजेट दिने, निःशुल्क भिसा मिलाइदिएर विदेश पठाउने, हेलिकप्टर चढ्न सक्ने नेतालाई मत दिन आग्रह र मतदाताहरूलाई पनि हेलिकप्टर चढ्न सक्ने हैसियतमा पु¥याउने जस्ता धेरै कुरा चर्चामा आएका छन् । यस्ता आश्वासनहरूले नेताका बोलीप्रति जनताको अविश्वास पैदा गराइरहेको छ ।

बोलेको केही सीमित नेताहरूले हो तर एउटाले बिरायो शाखा पिरायो भने जस्तो हुने गर्छ । कुनै ठाउँमा कुनै पार्टीको नेताले बोलेको यस्ता कुराको सफाइ अर्को ठाउँको त्यही पार्टीको नेताले त दिनुपर्छ नै साथै त्यस पार्टीको मात्र नभएर अरू पार्टीका नेताहरू समेत यसको प्रष्टीकरणमा पर्छन् । बाठाटाठा नेताहरूले भने यसलाई भोट बटुल्ने माध्यम बनाउलान्, विपक्षीले भनेका कुराको खण्डन गरी मतदाता प्रभावित बनाउन सक्लान् तर सोझासाझा र इमानदार नेताहरू भने अर्काको भनाइको प्रष्टीकरणमा पर्छन् ।

त्यसकारण पहिलो कुरा त नेताहरूले यस्तो पूरा गर्नै नसकिने आश्वासन जनतालाई दिनु हुँदैनथ्यो, तर उनीहरूले दिइहाले, जनताले उनीहरूलाई केही गर्न सक्दैनन् । जनताले गर्ने भनेको उनीहरूलाई मत नदिनेमात्र हो, त्यसो गर्न सक्छन् । त्यसका लागि जनतालाई कारबाही गर्न कसैले सक्दैन । यी यावत् कुरालाई ध्यान दिएर नेताले जेजस्ता कुरा भनून् त्यो भनाइ सही हो वा गलत, त्यो सम्भव असम्भव के हो त्यससमेतलाई हेर्ने, बुझ्ने, विश्लेषण गर्ने र त्यसैलाई आधार बनाएर मत दिने वा नदिने काम मतदाताबाट हुनसक्छ र हुनु पर्छ । यति गर्न सकेका खण्डमा जनता जनार्दन बन्न सक्छन् र नेताहरू पनि जनतालाई जनार्दन मान्न बाध्य हुन्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?