मधेसमा स्थानीय सरकारले व्यहोर्नुपर्ने केही समस्या

Read Time = 12 mins

✍️ मनोजकुमार कर्ण

मधेसका स्थानीय जनप्रतिनिधिले गत वैशाख ३० गतेको निर्वाचनपछि जनताको विकासको चाहना तथा पुराना प्रतिनिधिहरूको अधिकांश ठाउँमा तुष्टीकरणको व्यक्तिगत छणिक लाभहानीको विरोधका बीच चेपुवामा परेका छन् । यो सत्य हो कि सबै निर्वाचित प्रतिनिधि नयाँ वा पुरानाहरू आर्थिक-चारित्रिक भ्रष्ट नै हुँदैनन् अर्थात्, कोही-कोहीले धमाधम विकास पनि पुरानै बजेटले गरिरहेका छन् तर चाहना र दृश्य-अदृश्य अवरोधहरूका बीच एउटा नमुनाको सहायताले सकारात्मक पक्षवाला मधेसका स्थानीय निकायको छोटो अध्ययन गरौँ जुन प्रायः मधेसका अन्य करिब ९० प्रतिशत गाउँ, वडाहरू समस्या झेलिरहेका छन् ।

महोत्तरीको मनरा–शिश्वानगरपालिकाको वडा नं.३ सोनौलमा नवनिर्वाचित गठबन्धन नहुँदा एउटै दलबाट मेयरसँगै वडाध्यक्ष दुवै जना युवा जितेका हुन् भने निकटतम प्रतिद्वन्द्वी दुवै ठाउँमा जसपाका उम्मेदवारहरू थिए । जोकोहिले देख्ने र हेर्ने भनेको अन्यसँगै यी दुवैजना धमाधम विकास गरिरहेका छन् । तर, समस्या र अवरोधहरू यस्ता कि मानौँ अन्धकार युगबाट उज्यालोतर्फ बल्ल ती ठाउँलाई लगिँदैछ । मधेसका गाउँतिर जतिसुकै खुला दिसापिसाबमुक्त घोषित भए पनि गाउँका प्रवेश सडकहरू सबै दिसापिसाबले दुर्गन्धित हुन्छन् । घरमा शौचालय राख्न सरकारी कार्य गराउनलाई अनिवार्य गरिएको छ तर शौचालयमा गोबरले पोतिएको गोड्हा-चिपडी अर्थात् दाउरा सुरक्षित पार्न प्रयोग गरिएको कति घरको शौचालय देखिन्छ भने महिलाहरू अँध्यारोमा तथा पुरुषहरू दिनको उज्यालोमा पनि बीच सडकमा बसेर दिसा गरिरहेको देखिन्छ । हिँड्नेले उल्टै मुख, कान, नाक छोप्ने अवस्था हुन्छ भने महिलाहरू एक्लै वा परिवारसँगै पनि पैदल हिँड्ने अवस्था हुँदैन ।

त्यस्तै, सडकमा देखिने अरू समस्या भनेको सडकमै पशुचौपाया बाँधिएका हुन्छन्, लामखुट्टे धपाउनलाई बेलुका आगो बालिएको हुन्छ, जानी जानी बाख्राहरू छोडिएका हुन्छन् । (ताकि गाडीले च्यापिएर मरून् र दोब्बर-चौब्बर ‘दण्ड’ तिराइयोस् जसले नपालिकन नै मोटो रकम कमाउन पाइयोस्, प्रष्ट आफैँले सुनेको र देखेको हुँ यसपालिको दशैंमा), गोबर थुपारिएको हुन्छ, ट्य्राक्टर तथा हलो, बालुवा, इट्टा, गिट्टी, बेच्ने सामानहरू बाँसका बत्ता वा कर्ची (ली) ले बनेका टाट (पर्खालजस्तो) उभ्याइएका आदि हुन्छन् । ऐलानी, पर्ती जग्गा खाली तथा सडककै निर्माण र विस्तारको सवाल भने अझै कठिन छ हाम्रो वडा सोनौल, नगरपालिका तथा समग्र मधेसमा । वडाका पूर्वप्रमुखकै पनि ऐलानीमा खेत छ भने गाउँका अधिकांश अनैतिक मान्छेले गाउमा घर, खेत वा विदेशमा कोही कमाउने सदस्य छँदाछँदै पनि ऐलानी, पर्ती जग्गा हडप्ने, सडक मासेर सुकुम्बासीमा नाम लेखाउनेहरू छन् । यस्तो अवस्थामा माटाको सडकलाई विस्तार गरी वा नयाँ सडक बनाउन खोज्दा चालबाज केही नेताहरूले अरूले विकास कार्यको क्रेडिट लिइदेलान् भन्ने डरले ‘तिम्रो घर भत्काउला’ भनी असत्य कुरा गरी माहोल बिगार्छन्, जबकि घरहरू सडकमा त्यतिकै रहेको देखिन्छ । अनि सरकारी ऐलानी जग्गा रीतपूर्वक खाली नगर्दा उपाय के त ?

मधेसका गाउँतिर जतिसुकै खुला दिसापिसाबमुक्त थन घोषित भए पनि गाउँका प्रवेश सडक सबै दिसापिसाबले दुर्गन्धित हुन्छन् । घरमा शौचालय राख्न सरकारी कार्यहरू गराउनलाई अनिवार्य गरिएको छ, तर शौचालयमा गोबरले पोतिएको गोड्हा-चिपडी अर्थात् दाउरा सुरक्षित पार्न प्रयोग गरिएको कति घरमा देखिन्छ ।

कति ठाउँमा त गलत कुरा र मनसाय राखेर अदालतसम्म जनप्रतिनिधिविरुद्ध मुद्दा हाल्न गएको पाइयो (पछि मुद्दाहरू क्यान्सिल भए) । कतिसम्म भने सडक सिमेन्ट ढलान गर्दा बालुवा, गिट्टी, इट्टाहरू राति गायब पारिदिने र ढलान भइसकेको सडकको मुन्तिरबाट आफ्नो खेततिरबाट माटो खन्ने ताकि सडक फुटेर ढलोस् । सरकारी विद्यालयको फिल्डलाई घेरेर नयाँ भवन बनाउन खोज्ने तर निजी पोखरीवालाले डिल भत्कन दिई पूरै स्कुलको फिल्ड वा ढलान भएको सडक नै कब्जा गर्न चाहने । गाउँमा रहेका धार्मिक डिल बार तथा ब्रहृमबाबास्थान र हेल्थपोष्टको व्यथा त झन कहालीलाग्दो छ । धार्मिक यी दुईस्थलहरूको जिर्णाेद्धार गर्न जरुरी छ भने गाउँका अचेत वा विकास विरोधी बदमास सचेतहरूले ब्रहृमबाबाको मन्दिरसँगै रहेको नवनिर्मित हेल्थपोष्ट भवनको छतमा चढेर शौच गरिदिने समस्या कस्तो भने नवनिर्वाचित स्थानीय प्रतिनिधिहरूले नयाँ बजेट पाइसकेका छैनन्, पुराना बाँकी झारझुर बजेटले नै सडक बनाउने तथा ढलान गर्ने काम गरिसके ।

एकै चोटि कुनै काम जस्तै हेल्थपोष्ट बनाएर घेर्ने काम भएको देखिँदैन अर्थात्, योजनाविना नै सडक वा सरकारी घर बनाइएका छन् नत्र पहिलाका ढलान भएका सडकका दुवै वा कम्तिमा एकातिर चापाकल वा भान्छाको पानी निकासको लागि नाली बनाउँथे होलान् तर प्रायः छैन र ढलानमाथि नै पानी बाह्रैमास जमेर लामखुट्टे जन्माइरहेका हुन्छन्, जुन बोर्डर पारि बेला-नोचाका गाउँमा हामी देख्छौँ अर्थात्, बिहारी विकास मोडल हो । गत वैशाख ३० गतेसम्म कुशासन कस्तो भने तेज विद्यार्थीले पाउने छात्रवृत्ति वा ज्येष्ठ नागरिकले पाउने वृद्धभत्ता बैंकखातामा नपठाएर मालिकले मन लागे जति दिने र जति बढी रकममा हस्ताक्षर गर्न लगाउने, केही पनि पूर्जा नदिने हाम्रो वडालगायत समग्र मधेसको साझा समस्या हुन् । अर्का के के हुन् भने दशैंभरि एकाहा सीताराम नाम २४ सै घण्टा ठूलो लाउडस्पिकरमा मुसलमानको मस्जिद जस्तो हुने जसले गर्दा आफ्नो घरबीच बाजारमै परेकोले बलजफ्ति रातिको एकाध घण्टा सुत्नुबाहेक कहिल्यै कीर्तन नसकुञ्जेल सुत्नै पाइएन जसले आँखा राता हुने भने निद्रा नपुगेर विभिन्न रोग लाग्ने, झर्काे लाग्ने ।

सबभन्दा ठूलो छ ती विद्यालयका विद्यार्थी जो बिहान-बेलुका पढाइमा हुन्छन् तर अभिभावक र ती निरीह विद्यार्थीको आवाज कि सानो स्वरमा लाउडस्पिकरको भोल्युम राख्नुस् वा विनालाउडस्पिकरको गर्नुस् तथा सुत्ने बेला स्पिकर नबजाउनुस् भन्दा कसले सुन्ने, जहाँ मनमौजी जंगलराज चल्छ । गाउँतिर फेसबुक, टिकटकले यतिसम्म प्रभाव पारेको छ कि छाडा शब्दहरू उच्चारण गरेको सामुमै सुन्नुपर्छ कि लडाइँ झगडा देख्नुपर्छ । सचेत वर्गका केहीलगायत अन्यमा एउटा भयंकर रोग के देखियो भने अरूको आली, खेत, घरको जग्गा बिस्तारै सालसालै, सिमाना सार्दै वा उखेलेर फाल्दै कब्जा गर्दै जाने, जुन फर्छ्यौटको समय बर्बादी नै वडाध्यक्षको बढी समय लिन्छ । यस्ता कब्जा गर्ने बद्नियतवालाले लालपुर्जा र नक्शासहितको जग्गा नापी गर्न छरछिमेक र वडाध्यक्ष तयार रहेको अवस्थामा लुकिदिने अनि नजाने विवाद खडा गरेको ठाउँमा, सुटुक्क एक्लै नापेर साँधसिमान हाल्न खोज्ने । यस्ता असमाजिक कुतत्वहरूलाई तह लगाउनु तत्काल आवश्यक देखिन्छ किनकि यिनीहरूले अरूको लालपूर्जावाला जमिन कब्जा गर्नेगर्छन् भने सार्वजनिक जमिन छोड्ने तथा घरको चापाकलको पानी अरूको घरमा रसायन भएर पस्न दिनेसम्मका हर्कत गर्ने गरेका छन् ।

यसरी एकातिर सडकमा पानी अर्काेतिर नाला नहुने र सडकमाथि माटो हालेर ढलान गर्ने परिपाटीले आज महँगो र कुर्सी उच्च पारेर बनाएको घरजम्मा १५-२० वर्षमा सडकको सतहभन्दा तल पुगेर उल्टै सडकको र वर्षातको पानी पस्ने अवस्थामा पुग्ने भइसकेका हुन्छन् । यो समस्याले यो स्तम्भकार आफैँ पीडित छ । यी समस्याका अलावा अझै गाउँमा बिजुली बत्ती हुकिङ गरी चोरेर बाल्ने, एनटिसी-एनसेलको एउटै टावर नहुँदा फोन, डेटा केही नचल्ने, चापाकलको समस्यालगायत थुप्रै छन् । धेरै समस्या समाधानतर्फ नवनिर्वाचित हाम्रा मेयर तथा वडाध्यक्षहरू लागेका पनि छन् तर बजेट अभाव, जनतामा चेतना अभाव, गलत इरादाका पुराना जनप्रतिनिधि केहीको बहकाउ तथा अवरोध, मिडियाको अभाव आदिले गर्दा अझै कति युग ‘जंगलराज’ मा हामीले बस्नुपर्ने हो, रामजाने । (कर्ण उपप्राध्यापक हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?