हलेसीमा ६२ जनाको मोतिविन्दुको शल्यक्रिया

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालन भएको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा ६२ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । शिविरमा १४ जनाको आँखामा मासु पलाएको सामान्य शल्यक्रिया गरिएको छ ।

नेत्र ज्योति संघ दिक्तेल, हलेसी तुवाचुङ नगरपालिका र आँखा तथा कान उपचार केन्द्र हलेसीको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा शनिबारदेखि आईतबारसम्म भएको शिविर ७ सय ६५ जनाले आँखा परीक्षण गराएका छन् । आवश्यकता अनुसार सुफथ मुल्यमा चश्मा र निःशुल्क औषधि वितरण गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

२७ असोजमा अन्तर्राष्ट्रिय विश्व दृष्टि दिवसका अवसरमा च्यास्मिटारमा मोतिबिन्दुको पहिचान भएका १४ जना, ७ असोजमा ज्येष्ठ नागरिकका लागि आयोजना गरिएको निःशुल्क चश्मा वितरण तथा आँखा जाँच शिविरमा मोतिबिन्दुको पहिचान भएका ११ जना, घरदैलो कार्यक्रम गर्दा मोतिबिन्दुको पहिचान भएका १८ जना, दैनिक ओपिडीमा आएर मोतिबिन्दु पहिचान भएका १९ जना तथा तीनदिने शिविरमा मोतिबिन्दु पहिचान भएकोको शल्यक्रिया गरिएको श्रेष्ठले बताउनुभयो ।

शिविरमा हलेसी तुवाचुङ नगरपालिकासँगै छिमेकी नगरपालिका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेंशी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, उदयपुर, ओखलढुंगा, सोलुखुम्बुका बिरामीहरु आएका थिए । मोतिबिन्दुको शल्यक्रियाका लागि सगरमाथा चौधरी आँखा अस्पताल लाहानबाट १४ जनाको विज्ञ टोली आएको थियो ।

शिविरको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला राई र उपप्रमुख रमेशकुमार राउतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । घरायसी कामकाजका क्रममा धुवामा बस्दा सामान्य रुपमा आँखा समस्या देखिदै गए पनि आर्थिक अभाव र भौगोलिक रुपमा अस्पताल जान नसकेकाले शिविरले नयाँ जुनी दिएको बताएको नगरप्रमुख राईले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?