काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गर्दै विजय हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पुलिसले मधेश प्रदेशलाई १९१ रनले पराजित गर्दै विजय हासिल गरेको हो ।
खेलमा दुवै टोलीले सेमिफाइनल यात्रा तय गरेका छन् । जितसँगै पुलिस समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने मधेश प्रदेश समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । खेलमा जितका लागि पुलिसले मधेश प्रदेशलाई २७४ रनको लक्ष्य दिएको थियो । जवाफमा मधेश प्रदेश २९ दशमलब तीन ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो ।
मधेश प्रदेशका लागि मोहमद आदिल आलमले सर्वाधिक ४२ रनको योगदान दिनुभयो । त्यसैगरी रत्न रौनकले ११ तथा कप्तान हरिशंकर साहले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । मधेश प्रदेशलाई सस्तैमा समेट्ने क्रममा पुलिसका कुलश भुर्तेल एक्लैले पाँच विकेट लिनुभयो भने करण केसीले तीन तथा राशिद खानले दुई विकेट झार्नुभयो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ दशमलब एक ओभरमा सबै विकेट गुमाउँदै २७३ रनको योगफल बनाएको थियो । पुलिसका लागि आरिफ शेख, अमित श्रेष्ठ र कप्तान दीपेन्द्र सिहं ऐरीले अर्धशतक प्रहार गर्नुभयो । आरिफले सर्वाधिक ७३ रनको योगदान दिनुभयो भने अमितले ६५ रनको योगदान दिनुभयो ।
त्यसैगरी, दीपेन्द्रले ५१ रन जोड्दा दीलिप नाथले ४० तथा सुनिल धमलाले ११ रन बनाउनुभयो । बलिङतर्फ मधेश प्रदेशका रूपेश सिंह र राजेश यादवले समान तीन-तीन विकेट लिनुभयो भने आदिल आलमले दुई विकेट झार्नुभयो । जितसँगै पुलिसले चार खेलमा अपराजित रहँदै आठ अंक जोड्यो भने समान चार खेल खेलेको मधेश प्रदेशले पाँच अंक बनायो ।
यस्तै, विभागीय टोली त्रिभुवन आर्मी क्लबले पनि मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई १४० रनले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।
आर्मीले दिएको २५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले २८ ओभर तीन बलमा नौ विकेट ११४ रनमात्र बनाउन सक्यो । कर्णालीका विपिन रावलले सर्वाधिक ४८ रन बनाउनुभयो । अर्जुन घर्तीले १७ तथा प्रकाश जैशी र सन्दीप शाहीले समान ११-११ रन बनाउनुभयो । आर्मीका रोहित पौडेलले तीन तथा हरि चौहान र शाहब आलमले दुई-दुई विकेट लिनुभयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाएर २५४ रन बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले अविजित रहँदै सर्वाधिक ३७ रन बनाउनुभयो । कुशल मल्ल र रोहित पौडेलले समान ३५-३५ रन जोड्नुभयो । हरि चौहानले ३१ रन जोड्दा अर्जुन साउदले २० रन बनाउनुभयो । राजेश पुलामी २८ रनमा अविजित रहँदा अनिल मण्डल १७ रनमा आउट हुनुभयो । कर्णालीका प्रकाश जैसीले तीन विकेट लिनुभयो ।
यस जितसँगै आर्मीले समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो । आर्मीले चार खेलमा ६ अंक जोड्यो । यस समूहबाट एपिएफ सात अंक जोडेर समूह विजेताका रूपमा अन्तिम चारमा प्रवेश गरिसकेको छ । आर्मीको जितले गण्डकी भने बाहिरिएको छ । कर्णाली पनि अंकविहीन रहँदै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।
आयोजक नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रधानमन्त्री कपको विजेताले १० लाख र उपविजेता टोलीले पाँच लाख पाउनेछन् । सेमिफाइनलमा पुग्ने टोलीले ५०-५० हजार पाउनेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको उत्कृष्ट ब्याटर र बलरले समान २० हजार पाउनेछन् । प्रतियोगिताको उदीयमान खेलाडीले १० हजार प्राप्त गर्नेछन् । प्लेयर अफ द म्याचले पाँच हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको अनुमानित कुल बजेट एक करोड ५० लाख छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ६० लाख सहयोग गर्नेछ भने बाँकी रकम क्यानले जुटाउनेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका