निजी क्षेत्रलाई निर्वाचन आयोगको आग्रह

Read Time = 3 mins

काठमाडौं । निर्वाचन आयोगले निजी क्षेत्रलाई पनि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको माहोल बनाउन आग्रह गरेको छ । आयोगद्वारा मंगलबार आयोजित निजी क्षेत्रसँग अन्तरक्रिया कार्यक्रममा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले व्यावसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्रमार्फत् आयोगका सूचना तथा सन्देश प्रवाह गरिदिन आग्रह गर्नुभएको हो ।

उहाँले आयोगको सामाजिक सञ्जालमा आबद्ध भई मतदाता शिक्षा, आचारसंहिता पालना तथा निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देश आफ्नो सांगठनिक संयन्त्र तथा सामाजिक सञ्जालमार्फत् प्रवाहका साथै आफ्नो संस्थामा कार्यरत कर्मचारीलाई मतदान गर्न पाउने गरी सहजीकरण गरिदिनसमेत आग्रह गर्नुभयो ।

थपलियाले हाल मुलुकको अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा रहेको तथ्यहरू विश्लेषण गर्दै निर्वाचनपछि परिवर्तन हुने विश्वाससमेत व्यक्त गर्नुभयो । संसारभरिको अभ्यासबाट निर्वाचनमा गरिने खर्च अनुत्पादक हुने देखिएको भन्दै आयोगले निर्वाचनलाई मितव्ययी बनाउने क्रममा निजी व्यवसायीलाई असर परेको भए क्षमा गरिदिन पनि उहाँले आग्रह गर्नुभयो । मतदानका दिन अत्यावश्यक क्षेत्रका सवारीसाधनका साथै आवश्यकता र औचित्यताका आधारमा अन्य सवारीसाधन व्यवस्थित र नियन्त्रितरूपमा सञ्चालन गर्न दिने विषयमा गृहकार्य भइरहेको पनि थपलियाले जानकारी गराउनुभयो ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्वाचन सफल बनाउने सन्दर्भमा आयोगले निजी व्यवसायीलाई पनि सम्झिएकामा खुसी प्रकट गर्दै आयोगको आग्रह कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले मतदानका दिन व्यवसायीका सवारीसाधन प्रयोग गर्न दिन र आफूहरूलाई पर्यवेक्षकका रूपमा जिम्मेवारी दिन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष रमेश थापालगायत विभिन्न व्यावसायिक संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?