मध्यराति डोटीमा ६.६ म्याग्निच्यूडको भूकम्पले घर भत्किउँदा ६ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 3 mins

डोटी । डोटीमा मंगलबार मध्यराति भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका-३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भोलाप्रसाद भट्टले जानकारी गराउनुभयो ।

डीएसपी भट्टका अनुसार ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र सात वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ ।

यस्तै, सोही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको डीएसपी भट्टले बताउनुभयो । उनीहरू ६ जनाकै शव निकालिएको प्रहरीले जनाएको छ ।

भूकम्पले सोही वडाका पाँच जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा हुनुहुन्छ ।

उहाँहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिनुभयो । भूकम्पले ठाडागाउँका आठ वटा घर भत्काएको छ भने जिल्लाका अन्य स्थानमा पनि भौतिक क्षति भए पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर पाँच दशमलव सात म्याग्नीच्यूडको भूकम्प गएको थियो भने मध्यराति दुई बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?