निर्वाचन व्यवस्थापन सामग्रीको सम्पूर्ण तयारी पूरा

निर्वाध रूपमा प्रचारप्रसारको उपयुक्त वातावरण निर्माण गर्न निर्देशन

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा प्रयोग हुने आवश्यक सामग्री व्यवस्थापनको तयारी पूरा गरेको छ । मंगलबार आयोगका उपसचिव कमल ज्ञवालीले ७७ वटै जिल्लामा निर्वाचनमा आवश्यक सम्पूर्ण सामग्री ढुवानी गरिसकिएको जानकारी दिनुभयो । उपसचिव ज्ञवालीका अनुसार सातवटा प्रदेश निर्वाचन कार्यालय र ७० वटा जिल्ला निर्वाचन कार्यालयमा ती सामग्री पठाइएको छ । उहाँका अनुसार केही जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मतदानका सामग्री पुगिसकेका छन् भने केहीमा पुग्ने चरणमा छन् ।

अहिले मतदान केन्द्रमा सामग्री ढुवानी गर्नका लागि पोको पार्ने काम भइरहेको छ । आयोगले जिल्ला र केन्द्रबाट निर्वाचन सामग्रीको जोहो गरेको हो । जिल्लाबाट १५ प्रकारका छपाइ सामग्री खरिद गरिएको हो भने बाँकी केन्द्रबाट खरिद गरिएको हो । निर्वाचनका मतदान हुनुभन्दा तीन दिनअघि मतदान केन्द्रमा पुर्‍याउनुपर्ने हुन्छ । मतदान केन्द्रमा आयोगले तीन चरणमा सामग्री पुर्‍याउने तयारी गरेको छ । जसमा दुर्गम हिमाली जिल्लामा पहिलो चरण, पहाडी जिल्लामा दोस्रो चरण र बागमती र मधेशका जिल्लामा तेस्रो चरणमा सामग्री पठाउने जनाइएको छ ।

यसैगरी, आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाध रूपमा प्रचारप्रसार गर्न तथा निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदाताहरूलाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई नेपाल सरकार, गृह मन्त्रालयमार्फत निर्देशन दिएको छ ।

डडेल्धुरालगायत विभिन्न जिल्लाहरूमा उम्मेदवारहरूले निर्वाध रूपले प्रचारप्रसार गर्ने कार्यमा अवरोध भएको भन्ने सम्बन्धमा विभिन्न सञ्चार माध्यमबाट प्रकाशित समाचार तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका विषयहरूप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले सो निर्देशन दिएको हो । आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाउने जनाएको छ । आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाण पुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको हो ।

निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको/नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो । मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको एकैचरण निर्वाचन हुँदै छ । जसका लागि उम्मेदवारहरू गाउँगाउँमा प्रचारप्रसारका लागि पुगेका छन् । आयोगले निर्वाचन तयारी धमाधम भइरहेको जनाएको छ ।

विद्युत् नियमन आयोगका अध्यक्ष सिंहलाई आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई निर्वाचन आचारसंहिता उल्लंघनको विषयमा स्पष्टीकरण सोधेको छ । अध्यक्ष सिंहले ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसालविरुद्ध सामाजिक सञ्जालमा पोष्ट गरेको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो ।

सिंहले ऊर्जामन्त्री भुसालले जलविद्युत् क्षेत्रमा गलत क्रियाकलापहरू भनी १० वटा बुँदा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेको भन्ने सूचना आएको र त्यही विषयमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?