फाल्गुनन्दले देखाएको बाटो विश्वशान्ति

हिमालय टाइम्स
Read Time = 9 mins
A A- A+

✍️ डा. चन्द्रकुमार सेर्मा

किरात धर्म-दर्शनका मार्गदर्शक फाल्गुनन्दलाई महागुरु र सत्यहाङ माका नामले पनि सम्बोधित गरिन्छ । सनातन किरात वाङमयमा येहाङ, लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ, सिरिजंगापछिको छैटौं अवतारका रूपमा महागुरू फाल्गुनन्द राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा पूजनीय छन् । महागुरू फाल्गुनन्दको जन्म पल्लो किरात लिम्बुवान्को इलाम जिल्ला इभाडको चुक्चिनाम्बा डाँडागाउँ हाल-माङसेवुङ गापामा १९४२ कात्तिक २५ मा भएको थियो ।

पिता जगनबाज लिङदेन र माता हंसमतीको कोखमा जन्मेको नवजात शिशुलाई खटिरा निस्केका कारण कालो बाख्रीको दूध खुवाउँदै उनको पालनपोषण भयो । केही दिनमै आमा परलोक भइन् । विमाता र पिताको साथ हुर्कन बाध्य शिशुको जीवन दुःखमय थियो । जन्मैदेखि माछामासु, जाँडरक्सी नखाएका बालकको ज्योतिष नाम नरधोज भए पनि रक्षाबन्धनका रूपमा फलामको चुरा लगाएपछि फलामसिं भनिन् थाल्यो र कालान्तरमा फलामे फाल्गुनन्दका नामले प्रख्यात भए ।

उनी नाबालक छँदा अचानक बिमार परे । त्यही अवस्थामा एक मध्यरात्रि अलप भए, अदृश्य हुन पुगे । बिरामीको खोजी सुरु भयो । उनी भोलिपल्ट बिहान देवमाई र माई दोभान, फुल्लुंगी खत्रक्पामा भेटिए । उनले रातभरि देवदर्शन, ईश्वरसँग आत्मासाक्षात्कार गरेको वर्णन गरे, पुण्य भूमि, पवित्र देवभूमिमा रात्रिभर जलसमाधि लिई आत्मदर्शन, धर्म दर्शनका महाज्ञानहरू लिन पाएको सुनाए । यो सुनेपछि उनी युगपुरूष, महात्मा, महान् तपस्वी, ज्ञानात्मा, पुण्यात्मा, सिद्धात्मा हुने अनुमान गर्दै निवासमा ल्याइए । यसपछि उनी दैविक शक्ति, ईश्वरभक्तिका दूत भनी चिनिन थाले ।

सिद्धात्मा, त्रिकालज्ञ, विश्व शान्ति र मानव एकता गराई पृथ्वीलाई स्वर्गमय बनाउने देवविद्या, राजविद्या, ब्रहृमविद्या र योगविद्याका ज्ञाता, महान् दार्शनिकलाई राज्यले सोह्रौं राष्ट्रिय विभूति घोषणा गरी जन्मजयन्तीमा सार्वजनिक बिदा दिन थालेको छ । हुलाक टिकट प्रकाशन गरेको छ ।

मोक्षदाता फाल्गुनन्दलाई छोडेर बुबाआमा भुटान बसाइँ गए । उनी काकाकाकीका साथमा बस्न थाले । उनी बेलाबेला अदृश्य हुने, वनजंगलमा जत तप गर्न अलप हुने घटना बारम्बार दोहोरिन्थे । समयक्रममा काकाकाकीको घरमा आहारविहार, विचार र व्यवहार मिल्न छाड्यो । उनी भिन्न बस्न बाध्य भए । बालतपस्वीले माटाको हाँडी खुर्पा, हँसिया र कोदालो, दुई माना पीठो, पाँच झुत्ता मकै, कराही र खोल्साखोल्सीछेउ तीन रोपनीको लेछुबङ बारी अंश लिई बनिबुतो गरी जीवन निर्वाह गर्न थाले ।

उनले बोनीबुतो गरी कुखुराका चल्ला ल्याई पाल्न थाले । हुर्काई-बढाई खुँगीभरि पारिएका अण्डा र चल्ला सर्प, स्याल र पशुपक्षीले मारिखाने गरिदिनाले नोक्सान हुन्थ्यो । धेरै भएका कुखुराहरू खुँगीमा राखी बेच्नलाई एकचोटि उनी दार्जिलिङतिर हिँडे । जाँदै गर्दा नाम्सालिङमा चिप्लिएर लडे, खुँगीभरिका कुखुरा आफ्नै जीउले मिचिँदा उनलाई विरक्त लाग्यो । सम्हालिएर दार्जिलिङसम्म पुगे । गुन्द्रीबजारमा कुखुरा बेचे । त्यहीँबाट त्यस बेलाको बेलायती भारतीय सेनाको कुल्ली भई तिब्बत सिमाना नाथुङ धावातिर गए । हिउँपहिरोले गर्दा फर्केर घर आए ।

कालान्तरमा पल्टनियाँ दाजुलाई भेट्न गएका बेला उत्तै पल्टनमा भर्ना भए । तपस्वीका रूपमा चिनिँदै हवल्दारसम्म भए । सात वर्षपछि सैनिक जीवन त्यागी घर फर्किए । अनि किरात धर्म, ज्ञानकाण्ड र कर्मकाण्डको उत्थानमा जीवन समर्पण गरे । महागुरु फाल्गुनन्दकै अगुवाइमा १९८८ वैशाख २४ मा नेपालमा प्रथम धर्मसभा भयो । पाँचथरको लब्रेमा १० लिम्बुवान, १७ थुमका चुम्लुङमा सात बुँदे लिखित सत्यधर्म मुचुल्का खडागरी सात-सात ठाउँमा मन्दिर, सात शास्त्र र सात अस्त्र निर्माण गरे । ज्ञानभूमि फुल्लुंगीदेखि कर्मभूमि लब्रे सिलौटी र तीर्थभूमि कुम्भकर्णसम्मका धार्मिक गतिविधिमा संलग्न महागुरुलाई राणाशासकले राजद्रोहको अभियोग लगाए । तर त्यो झुठ्ठा सावित भयो, सत्यको जित भयो ।

महागुरु फाल्गुनन्दले गुरुकुल सञ्चालनगरी आफ्नै मातृभाषा र लिपिमा शिक्षादीक्षाको सुरुवात गरेका थिए । उनका प्रमुख दीक्षा/उपदेश हुन्–बलिपूजा र मद्यमांस बन्द गरी नैवैद्य र धूपवत्तीले पूजा गर्नु, जीवहिंसा छोड्नु, जन्मेको दस दिनमा न्वारन गर्नु, मृत्यु संस्कारमा दशौं दिनमा चोखिनु, पिण्ड वा सबै कर्म/संस्कारमा शुद्ध जल र फलफूलमात्र चलाउनु, छोरी चेलीसित नगद लिनदिनमा प्रतिबन्ध लगाई छोराछोरीलाई अंश, वंश र पढाइमा समान व्यवहार गर्नु आदि । अहिंसाका पूजक एवं सत्य, दया, शान्ति र धर्मका उपासक महागुरुले सुन, चाँदी, तिल, जौ, कुश, दूबो र ढुंगाको जलले सम्पूर्ण कर्मकाण्ड गर्दै र पचास-साठी मुन्धुम लेख्दै निर्माण गरेका ज्ञानहरू किरात धर्म-दर्शनका अजेय शस्त्र-अस्त्र हुन् ।

सिद्धात्मा, त्रिकालज्ञ, विश्व शान्ति र मानव एकता गराई पृथ्वीलाई स्वर्गमय बनाउने देवविद्या, राजविद्या, ब्रहृमविद्या र योगविद्याका ज्ञाता, महान् दार्शनिकलाई राज्यले सोह्रौं राष्ट्रिय विभूति घोषणाग गरी जन्मजयन्तीमा सार्वजनिक बिदा दिन थालेको छ । हुलाक टिकट प्रकाशन गरेको छ । स्कुल पाठ्यक्रममा जीवनी पढाइन थालेको छ । जापानदेखि युरोप, अमेरिका र अष्ट्रेलियासम्म उनका नाममा संघ- संगठन, माङहिम मन्दिर र मूर्तिहरूको स्थापना गरिएको छ । किरात धर्मको गति, मति, प्रगति र परम गतिले दिन दुईगुणा रात चौगुनाणा दरले तीव्रता लिएका बेला महागुरु फाल्गुनन्दले १३८औं जन्मजयन्ती राष्ट्रिय एकताका रूपमा मनाऔं । बुद्ध भगवान्पछिका अर्का भगवान् फाल्गुनन्दलाई सम्मान गरौँ । महागुरू फाल्गुनन्द-अमर रहुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?