तनहुँ-१ : सातौं पटक चुनावी मैदानमा रामचन्द्र पौडेलः अगाडि चुनौतीका चाङ

हिमालय टाइम्स
Read Time = 14 mins

-नारायण खड्का

तनहुँ । मौसम चिसिदै गएपनि यतिबेला आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले तताउँदै लगेको छ। निर्वाचन लक्षित प्रचारप्रसार तथा उम्मेदवारहरुको घरदैलो अभियानले अहिले सबै जसो क्षेत्र निर्वाचनमय बन्दै गएको छ। चियाँ, चौतारो, पाटीपौवा, घर तथा कृषकको खेतबारीसम्म चुनावको चर्चा चल्न थालेको छ।

तनहुँ पनि चुनावी माहोलबाट अलग हुन सकेको छैन। विशेष गरी तनहुँ क्षेत्र नं. १ सबैको चसो र चर्चाको विषय बन्न पुगेको छ। प्रधानमन्त्री पदको दौडमा रही सातौ पटक चुनावी मैदानमा उत्रिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र उहाँका परम्परागत प्रतिस्पर्धी गोविन्दराज जोशीका कारण पनि तनहुँ–१ को निर्वाचन अहिले सबैको चासो र चर्चाको विषय बन्दै गएको छ।

यति मात्र होइन् सत्ता गठबन्धनका साँझा उम्मेदवार पौडेल, नेकपा एमालेका उम्मेदवार एक बहादुर राना र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीबीच भइरहेको त्रिपक्षीय चुनावी भिडन्त सबैको चासो र चर्चाको विषय बनेको छ। यी उम्मेदवारहरु मध्य कस्को पक्षमा पल्लाभारी हुन्छ त्यो भने मतदाताले मंसिर ४ गते फैसला गर्ने नै छन् तर, जितहारका विषयमा भने हरेक कोणबाट जोड घटाउँ हुन थालेको छ।

तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यका लागि यी सहित १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यो क्षेत्रमा समाजवादी पार्टीका पासाङ थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्ती, नेपाल मजदुर किसान पार्टीका रामकृष्ण त्वायना, हाम्रो नेपाली पार्टीका प्रविण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कृष्णप्रसाद पौडेल, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापा, नेश्नलिष्ट पिपल्स पार्टीका ताज महमद मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका हस्तबहादुर किचिम थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देल चुनावी मैदानमा हुनुहुन्छ। स्वतन्त्रतर्फ कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, रामचन्द्र कार्की, बेलबहादुर दरै र पृथ्वीनारायण श्रेष्ठ चुनावी मैदानमा हुनुहुन्छ।

एकबहादुर राना

वि.सं. २०७४ को निर्वाचनमा पराजित वरिष्ठ नेता पौडेल यो पटक जसरी पनि चुनाव जित्ने दाउमा हुनुहुन्छ। न्याय, निष्ठा, लोकतन्त्र रक्षा र समग्र तनहुँको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै मैदानमा उत्रिनु भएका पौडेलका अगाडि भने चुनौतीका चांगहरु देखा पर्न थालेका छन्। वरिष्ठ नेता पौडेल ‘हेभिवेट’ नेता भएको र सत्तारुढ गठबन्धनको साथ रहेकाले चुनाव जित्न सहज रहेको पनि विश्लेषण गर्न थालिएको छ।

यता नेकपा एमालेका उम्मेदवार एकबहादुर राना पुराना नेता हुनुहुन्छ। अहिलेका उम्मेदवार मध्ये तनहुँका जनतालाई आफुले जति अरु कसैले पनि नचिनेको र जनताले मलाई भारिमतले विजयी गराउने उहाँको दाबी छ। तनहुँका जनताको सुखदुखमा आफू जति अन्य उम्मेदवार कोही पनि प्रत्यक्ष रूपमा सहभागी नभएको भन्दै रानाले आफूलाई एकपटक तनहुँका मतदाताले न्याय गर्नुपर्ने बताउनु हुन्छ।

निर्वाचन क्षेत्रका विभिन्न स्थानमा चुनावी अभियानमा रहनुभएका रानाले मतदाता समक्ष तनहुँका जनताको पीडा र समस्यालाई नजिकैबाट चिनेको भन्दै उहाँले जनताका ती समस्या समाधान गर्न आफूले कुनै कमी बाँकी नराख्ने प्रतिवद्धता जाएका छन्। विगतमा निर्वाचित भएकाहरुले जस्तो झुटो आश्वासन आफुले नदिने रानाले बताउनुभयो।

विगतका उम्मेदवारले झुटा आश्वासन दिएका कारण अहिले जनताले सबैलाई त्यस्तै दृष्टिले हेर्ने गरेको उहाँको भनाई छ।

यस्तै, आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा तनहुँमा पार्टीका आधिकारिक उम्मेदवारलाई स्वतन्त्रले चुनौती थपेका छन्। तनहुँ १ मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता पौडेल अंकगणितमा अघि देखिए पनि उहाँको जितमा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी र एमाले उम्मेदावार एकबहादुर राना मुख्य चुनौतीका रुपमा देखिएनु भएको छ।

यी तीनै जना उम्मेदवार यतिबेला जनताको मन जित्ने दाउमा छन्। आ–आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन यतिबेला राजनीतिक दलका नेता तथा कार्यकर्ता, समर्थकहरु घरदैलोमा व्यस्त भएका छन्। कांग्रेसका पूर्वनेता जोशीलाई मिलाउन नसक्दा गठबन्धनका साझा उम्मेदवार पौडेल आफैं कमजोर बनेको आंकलन गर्न थालिएको छ।

लगातार पाँचपटकसम्म संसदीय निर्वाचन जित्ने पौडेलले २०७४ मा एमालेका कृष्णकुमार श्रेष्ठसँग पराजित हुनुभएको थियो। श्रेष्ठ अहिले एकीकृत समाजवादीमा हुनुहुन्छ। उहाँचाहिँ चुनाव लड्न बारातिर लाग्नुभयो। तनहुँ कांग्रेसको गढ भनेर चिनिने भए पनि पौडेल र जोशीको द्वन्द्वका कारण कांग्रेस कमजोर बन्दै गएको जिल्लास्थित नेता तथा कार्यकताहरू बताउँछन्।

२०७४ मा जोशीले पौडेलको विरुद्धमा उम्मेदवारी दिएपछि पार्टीले जोशीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। यी दुई नेताको विवादले गर्दा केही हदसम्म एमालेलाई फाइदा पुग्ने देखिएको छ। सातौँपटक निर्वाचनमा होमिनुभएका पौडेलले एमालेका रानासँग प्रतिस्पर्धा त गर्नैपर्छ त्यसमाथि यसपटक जोशीसँग पनि सामना गर्नुपर्ने भएको छ। यति मात्र होइन अन्य दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार पनि पौडेलका बाधककै रुपमा देखिएका छन्।

गोविन्दराज जोशी

पौडेलको चुनाव जित्ने चाहनामा जोशीले ‘ब्रेक’ लगाउने गरी यतिबेला मैदानमा उत्रिनुभएको छ। जोशी पनि मतदाताको घरदैलोमा हुनुहुन्छ। जोशीले गठबन्धनको विरुद्ध उम्मेद्वारी दिएको बताउनु हुन्छ। उहाँ भन्नुहुन्छ, ‘नेपाली राजनीति अहिले विघटनको बाटोतिर गाको छ। यो गठबन्धनको राजनीति पुर्णतया अप्रजान्त्रिक र व्यक्तिको अधिकारलाई हनन गर्नेतर्फ अगाडी बढेको हुनाले यो गठबन्धनको राजनीतिलाई अन्त्य गरेर प्रत्येक नागरिकले आफुले इच्छाएको व्यक्तिलाई मतदान गर्न पाउने आफ्नो अधिकार अथवा पार्टीको उम्मेद्वारलाई मतदान गर्न पाउने प्रणालीलाई कायम गर्नुपर्छ। अहिलेको गठबन्धन केबल सिमित व्यक्तिहरुको स्वार्थ पुरा गर्नका लागि अगाडी बढेको हुनाले यसलाई समाप्त पार्नुपर्छ र प्रजातन्त्रलाई पुनस्स्थापित गर्नपर्छ भनेर उम्मेद्वारी दिएको हो।’

तनहुँमा आफु सत्तामा हुँदा सुरु गरेका काम पुरा गर्नलाई पनि उम्मेद्वारी दिएको उहाँको भनाइ छ। १० साउन २०७६ मा नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी सदस्य समेत नरहने गरी पाँच वर्षका लागि जोशीलाई कारबाही गरेको थियो। कांग्रेस वरिष्ठ नेता पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गर्न भूमिका खेलेको आरोपमा जोशीलाई कारबाही गरिएको हो। पूर्व गृहमन्त्री जोशीले अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रमा उम्मेद्वारी दिनुभएको थियो। तर, अयोग्य ठहर गर्दै निर्वाचन आयोगले उनको उम्मेद्वारी रद्ध गरेको थियो।

पाँचदलीय सत्तागठबन्धनका चुनावी कमान्डर पौडेल अहिलेको चुनावमा भने आफैं ढुक्क देखिनुभएको छैन। पौडेल अहिले दिन रात नभनि मतदाताको घरआँगनमा पुगेर हातजोड्दै आफ्नो पक्षमा भोट माग्न व्यस्थ हुनुहुन्छ। केन्द्रमा राम्रो पकड भएका पौडेलले निषेधको राजनीति गरेर जोशीलाई फसाएको आरोप जोशी पक्षधरले लगाउने गरेका छन्। त्यसको बदला लिन जोशीले उम्मेदवारी दिएको बताइन्छ।

यसैगरी तनहुँ क्षेत्र नम्बर १ प्रदेश १ तर्फ बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ, नेकपा (एमाले) का रामबहादुर गुरुङ, जनता समाजवादी पार्टी नेपालका अर्जुन गुरुङ, मौलिक जरोकिलो पार्टीका चिजकुमार श्रेष्ठ भन्ने बाबुराम आले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका विजयकुमार शाही, मङ्गोल नेशनल अर्गनाइजेशनका भिमबहादुर लामा, नेकपा (एकीकृत समाजवादी) का विद्यानाथ ढकाल, राप्रपाका विवेक न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीका भुवनसिं थापा, स्वतन्त्र हरिराज जोशी र रामबहादुर थापा चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ।

तनहुँ क्षेत्र नं १ प्रदेश २ तर्फ बाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमान, नेकपा (एमाले) का पूर्णबहादुर गुरुङ, जनता समाजवादी पार्टी नेपालका किसन भुजेल, मङ्गोल नेशनल अर्गनाइजेशनका रनबहादुर खवास, राप्रपाका राजु गोतामे र राष्ट्रिय जनमुक्ति पार्टीका खेमबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।

तनहुँ क्षेत्र नं १ अन्तर्गत पाँच वटा पालिका पर्दछ। व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दिपुर गाउँपालिका यो क्षेत्रमा पर्छन्। यसमध्ये नेपाली कांग्रेसले व्यास, भानु र देवघाट गाउँपालिकामा विजय हासिल गरेको छ भने नेकपा (एमाले)ले बन्दिपुर तथा नेकपा (माओवादी) केन्द्रले आँबुखैरेनीमा विजय हासिल गरेको छ। क्षेत्र नं. १ तर्फ एक लाख २३ हजार ४९० मतदाता छन्। तनहुँ क्षेत्र नम्बर १ प्रदेश सभा १ मा ६७ हजार १४४ र प्रदेश सभा २ मा ५६ हजार ३४६ मतदाता छन्।

 

  • श्रोत : आइएनएस-स्वतन्त्र समाचार

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?