छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

प्युठानको प्यूठान नगरपालिका-५ पूर्णगाउँस्थित सडकमा लु.१ ज ३७०७ नम्बरको फोर्स गाडी गएराति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गाडीमा सवार प्युठान नगरपालिका-५ पूर्णगाउँ बस्ने ५० वर्षीया मैमा घर्तिसहित ३ जना छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य १२ जनाको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचार भइरहेको छ ।

गाडीका सहचालकलाई नियन्त्रणमा लिनुका साथै हाल फरार गाडीका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

महोत्तरीको महोत्तरी गाउँपालिका-३ र ४ को सिमास्थित रानी रतवारा र मरैको बिचमा बिआर ३० एएफ २०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरी गाउँपालिका-६ बस्ने २२ वर्षीय शंकर पासवान छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।

चितवनको राप्ती नगरपालिका-४ लक्ष्मी नारायण चोकमा ना.२ ख ८५२१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष छन् । उनको मंगलबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको बुढिगंगा गाउँपालिका-२ ढार्डस्थित सडकमा को.७ प ८२०७ नम्बरको मोटरसाइकललाई प्रदेश १-०२-०४२प १९३७ नम्बरको मोटरसाइकले मंगलबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रदेश १-०२-०४२प १९३७ नम्बरको मोटरसाइकल चालक सुनसरी दुहवी नगरपालिका-१० बस्ने ३८ वर्षीय रिकेशराज ढकाल छन् ।

दुर्घटना हुँदा गम्भीर घाइते भएका रिकेशराजको बिराट मेडिकल कलेज टिचिङ अस्पताल गंगाचौकमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार को.७ प ८२०७ नम्बरको मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?