पञ्चेश्वर र पश्चिम सेती परियोजना बारे ओलीको बोली पच्छ्याउँदै देउवा : काम आगामी सरकारले सुरू गर्छ

हिमालय टाइम्स
Read Time = 4 mins

बैतडी । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत परियोजना निर्माण प्रकृया अघि बढिसकेको र पञ्चेश्वर परियोजना निर्माण सुरू भइसकेको बताउनु भएको छ ।

बैतडीको पाटनमा बुधबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

सेती र महाकाली नदीमा उत्पादन भएको विद्युतले देशको अर्थतन्त्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । पञ्चेश्वर बहुउदेश्यीय परियोजनाका लागि भारत सरकार सकारात्मक देखिएकाले उक्त बहुउदेश्यीय परियोजनाको काम आगामी सरकारले सुरू गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले विकास निर्माणका लागि आगामी ४ मंसिरमा हुने निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवाहरूलाई विजयी गराउन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी सरकार पनि वाम लोकतान्त्रिक गठबन्धनको बने सुदुरपश्चिमको विकासलाई प्राथमिकता दिने बताउनु भयो ।

उहाँले बैतडीमा रहेको कृषि विज्ञान कलेज र भीमदत्त पोलिटेक्निकल कलेजको स्तरोन्तीका लागि पहल गर्ने बताउनु भयो । यसका साथै दोगडा केदार गाउँपालिकामा रहेको फस्फोराइड खानी उत्खनन्, नेपाल–भारत सीमा नदी झुलाघाटमा पक्की पुुल तथा पाटन नमुना सहर निर्माणका लागि पहल गर्ने बताउनु भयो ।

यसको केही दिन अघि यही मन्चमा चुनावी आमसभा सम्बोधन गर्नु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि यिनै आयोजना निर्माण गर्ने पार्टीको योजना रहेको बताउनु भएको थियो ।

दार्चुलामा दीप प्रज्वलन गरेर एमालेको प्रचार अभियान सुरुवात गर्दै बैतडी पुग्नुभएका ओलीले एमालेको आगामी योजना सुदूरपश्चिममा विकासको मूल फुटाउने रहेको बताउनु भएको थियो । ओलीले बैतडीवासीलाई विकास निर्माणका विभिन्न आयोजना पुरा गर्ने विचार व्यक्त समेत गर्नुभएको थियो । साथै ओलीले नपाल–भारत सिमानदी झुलाघाटमा पक्की पुल, महाकाली कोरिडोर आयोजना सम्पन्न, गोकुलेश्वरमा रहेको कृषि विज्ञान कलेज र पाटनमा रहेको भिमदत्त पोलिटेक्नीकल शिक्षालयको स्तरोन्नती, दशरथचन्द प्रतिष्ठान लाई राष्ट्रिय प्रतिष्ठान बनाउने, खनिज पदार्थको उत्खनन् तथा बैतडीमा रहेको फस्फोराईड खानी सञ्चालन गर्ने बताउनु भएको थियो ।

बैतडीमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) संयुक्तरूपमा गठबन्धन गरेर चुनावी मैदानमा छन् । गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा रहनुभएको छ । प्रदेशसभा (१) मा नेपाली कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (२) मा नेपाली कांग्रेसका शिवराज भट्ट चुनावी मैदानमा हुनुहुन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?