बारामा कांग्रेसका तीन बागीमाथि कारवाही हुँदा किसान श्रेष्ठविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका बाग्लेलाई छुट

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 5 mins

बारा । नेपाली काँग्रेसले मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारको प्रस्तावक तथा समर्थक बसेका ७४ जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

यसैबीच काँग्रेस केन्द्रीय अनुशासन समितिले मङगलबार बाराका काँग्रेस पार्टीका पूर्व सभापति राधेचन्द्र यादवको भतिजा र वर्तमान सभापति राजेश राय यादवको भाइ महाधिवेशन प्रतिनिधि रवीन्द्र प्रसाद यादव (रौशन यादव), महाधिवेशन प्रतिनिधि अरुण ज्ञवाली र महाधिवेशन प्रतिनिधि प्रभु पटेल सहित देशभरका ७४ जनालाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न निर्देशन दिएको छ ।

काँग्रेसबाट निष्कासित हुने अन्यमा पर्साका पूर्व सभापति अजय कुमार द्विवेदी, क्रियाशिल सदस्य सुधिर पटेल, क्षेत्रिय प्रतिनिधि चन्द्रकिशोर चौधरी, चितवनका केन्द्रीय सदस्य दिनेश कोइराला, सर्लाहीका अमरेश सिंह, कास्कीका महादेव गुरुङ लगायत हुनुहुन्छ ।
उहाँहरुको नाम काँग्रेसको साधारण सदस्यको अभिलेखबाट हटाउन पनि काँग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले निर्देशन दिनुभएको छ ।

तर, बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट गठबन्धनको उम्मेदवार कृष्ण कुमार श्रेष्ठ (किसान) विरुद्ध प्रतिनिधि सभामा उम्मेदवारी दिनुभएका इच्छाबहादुर वाग्लेलाई भने कारवाही गरिएको छैन ।

पार्टी र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ७४ काँग्रेसका नेतालाई कारबाही गरेको भएपनि गठबन्धनका उम्मेदवार बिरुद्ध उम्मेदबारी दिनु भएका बारा क्षेत्र नम्बर. ४ का नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि समेत रहनुभएका बाग्लेलाई भने कारबाही नगरेको कारण अहिले चर्चाको विषय बनेको छ ।

बारा क्षेत्र नम्बर ४ मा गठबन्धनबाट प्रतिनिधि सभाका लागि कृष्ण कुमार श्रेष्ठ किसान उम्मेदबार हुनु हुन्छ । नेकपा एकीकृत समाजवादीको भागमा निर्वाचन क्षेत्र नम्बर ४ परेपनि बाग्ले स्वतन्त्रबाट उम्मेदबारी दिनु भएको छ ।
यसैगरी बारा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिनु हुने रवीन्द्र प्रसाद यादव र अरुण ज्ञवालीलाई भने पार्टीले कारवाही गरेको छ । त्यसैगरी क्षेत्र न. २ ख प्रदेश सभामा उम्मेदवार बन्नुभएका प्रभु पटेल पनि कारवाहीमा पर्नु भएको छ ।

आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले जारी गरेको विज्ञप्तिमा आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ३४ को उपधारा ४ क बमोजिम ५ पाँच वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिएको कुरा उल्लेख गरिएको छ ।

यस्तै कांग्रेसले बागी उम्मेदवार, प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरुको नामावलीहरु समेत अभिलेखबाट हटाइएको जनाएको छ । कांग्रेसले बागी उम्मेदवार तीनका प्रस्तावक एवं समर्थकको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन पनि निर्देशन दिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?