चेतन कार्कीको सम्झना

Read Time = 3 mins

काठमाडौं । प्रसिद्ध चलचित्रकर्मी, गीतकार तथा संस्कृतिविद् चेतन कार्कीको सम्झना गरिएको छ । कार्कीको ८५औं जन्मजयन्तीका अवसरमा उहाँको चलचित्र र सांस्कृतिक क्रियाशीलतालाई काठमाडौंमा एक कार्यक्रमबीच चर्चा गरिएको हो ।

चेतन कार्की प्रतिष्ठानको आयोजनामा मंगलबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले चेतन कार्कीसँगका केही स्मरण सुनाउँदै कार्की स्वाभिमानी भएको उल्लेख गर्नुभयो । राहुल सांकृत्यायनले ‘भागो नही दुनियाको बदलो’ भन्ने गरेको उल्लेख गर्दै कार्कीको स्वभाव त्यस्तै रहेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘देहरादूनका लैन छोकडा चेतन कार्की आर्मी कप्तानका छोरा थिए । तर उनले सेनामा जागिर खाएनन् । बरू कला, साहित्य, संस्कृति र सिनेमासँग जोडिएर एउटा उँचाइ कायम गरे ।’

चेतन कार्की प्रतिष्ठानकी संरक्षक कार्की पत्नी गंगा कार्कीले एउटा सर्जक कहिल्यै नमर्ने भन्दै चेतन कार्की आफ्नो पतिमात्रै नभएर गुरु पनि भएको सुनाउनुभयो । कार्यक्रममा नृत्य स्रष्टा भैरवबहादुर थापाले चेतन कार्कीलाई पहिलो पटक सन् १९५८ मा देहरादूनमै भेटेको स्मरण गर्दै कार्कीले आफू काठमाडौं आउने र नेपालमै काम गर्ने कुरो सुनाएको बताउनुभयो । चलचित्र निर्देशक लक्ष्मीनाथ शर्माले चलचित्रसर्जक कार्की हरेक विषयका ज्ञाता रहेको उल्लेख गर्नुभयो ।

यसैगरी सस्थाका उपाध्यक्ष वरिष्ठ कलाकार मोहन निरौलाले स्वागत मन्तव्य, सदस्य राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश र महासचिव मुरारी सिग्देलले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा राधेश्याम लेकाली, मिथिला शर्मा, प्रा.डा.सुरेन्द्र केसी, मुरारी सिग्देलले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।

उक्त अवसरमा गायक कलाकारहरू विमला राई, नारायण ओली, रितु कँडेलले चेतन कार्कीद्वारा रचित गीतहरू गाएर सुनाउनुभएको थियो । चेतन कार्कीको २०७८ जेठ २ गते कोरोना संक्रमणका कारण निधन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?