सुर्खेतमा शीर्ष नेताबीचको चुनावी भिडन्त रोचक

हिमालय टाइम्स
Read Time = 8 mins

मानबहादुर वली/हिटा
सुर्खेत । आसन्न निर्वाचनका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत निर्वाचनमय भएको छ । मंसिर ४ गते हुने निर्वाचनमा सुर्खेतसँग जिल्लाको विकासका अतिरिक्त कर्णाली प्रदेशको विकास र समृद्धिका योजनाहरू जोडिएको कारण पनि चुनावी माहोल तातिएको हो । पार्टीका शीर्ष नेताहरू नै सुर्खेतको निर्वाचनमा प्रतिस्पर्धी भएका कारणसमेत उहाँकोे निर्वाचनको चर्चा देशव्यापी भएको छ ।

सुर्खेतका मतदाताहरूका अपेक्षा र उम्मेदवारहरूको प्रतिबद्धताबीच तालमेल भए पनि आसन्न निर्वाचनको मत परिणामका बारे मतदाताहरूबीच फरक फरक आँकलन छन् । यहाँका मतदाताहरूले सुर्खेत-कोहलपुर १३३ केभी विद्युत् प्रसारण लाइनको निर्माण र कोहलपुर–सुर्खेत चार लेनको बाटो विस्तार गर्ने मागलाई जोडतोडका साथ उठाएका छन् । जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दा विकाससँगै रोजगारीको मागलाई पनि सशक्त रूपमा उठाएका छन् । सुर्खेतको पश्चिम भागमा सडक, सञ्चार, विद्युत्लगायत पूर्वाधारको समस्या छ भने पूर्वी भागमा भेरी किनाराका बासिन्दालाई सिँचाइको समस्या छ ।

उम्मेदवार घरदैलो गरिरहेको मौकामा मतदाताहरूले उनीहरूसमक्ष आफ्नो भनाइ राखिरहेका छन् । तर, नेताहरूले गरेका प्रतिबद्धता मतदाताले छिट्टै पत्याइहाल्ने अवस्था भने छैन । पटक पटक निर्वाचनमा प्रतिस्पर्धा गरेका अनुभवी नेताहरूलाई मतदाता रिझाउन उति गाह्रो त देखिँदैन तर मतदाताका नयाँ आकांक्षा सम्बोधन गर्ने विषयमा उनीहरू घोत्लिन बाध्य छन् । अर्कोतिर पुराना प्रतिबद्धता पूरा गरी नयाँ योजना ल्याउने प्रणसहित उम्मेदवारहरू सहरदेखि ग्रामीण बस्तीमा प्रचारप्रसारमा जुटेका छन् ।

शीर्ष नेतामा केन्द्रित
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत-१ बाट छैटौँपटक निर्वाचनमा होमिनुभएको छ । अघिल्ला निर्वाचनहरू मध्ये एकपटक मात्र पराजय व्यहोर्नुभएका खड्का नेपाली कांग्रेसका प्रभावशाली नेता मानिनुहुन्छ । सुर्खेत-१ मा खड्काको प्रतिस्पर्धा एमालेका ध्रुवकुमार शाहीसँग छ । शाहीले अघिल्लो निर्वाचनमा खड्कालाई पराजित गर्नुभएको थियो । अहिले निर्वाचनमा सत्ता गठबन्धनबाट माओवादी केन्द्र, नेकपा समाजवादी र जनमोर्चाको साथ खड्कालाई छ । यहाँ नेपाली कांग्रेस पुरानो शाख फर्काउने रणनीतिमा छ भने एमाले आफ्नो शाख जोगाउन लागिपरेको छ ।

सुर्खेत-१ मा ५ पालिकासहित वीरेन्द्रनगरका दुई वटा वडा रहेका छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसले दुई र एमालेले तीन पालिका जितेका छन् । उक्त क्षेत्रमा पर्ने वीरेन्द्रनगरका दुईवटा वडामध्ये एउटामा एमालेले र अर्कोमा कांग्रेसले जितेको छ । वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतको आधारमा गठबन्धनसँग करिब ४० हजार मत छ । एमालेसँग झण्डै ३४ हजार मत छ ।

त्यस्तै, सुर्खेत-२ बाट नेपाली कांग्रेसका नेता हृदयराम थानी छैटौँपटक वाम-लोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदानमा हुनुहुन्छ । यसअघि तीनपटक विजयी हुनुभएका कांग्रेस नेता थानी एमालेका अमृत बिसीबीच निकट प्रतिस्पर्धाको अनुमान गरिएको छ । प्रचण्डले नेतृत्व गरेको सरकारमा सहकारी मन्त्रीसमेत बन्नुभएका नेता थानी सहकारी अभियन्ता बिसीसँगको प्रतिपस्र्धालाई निकै चासोका साथ हेरिएको छ ।

सुर्खेत-२ मा चौकुने, बराहाताल गाउँपालिका र पञ्चपुरी, वीरेन्द्रनगर नगरपालिकाका १४ वडा पर्छन् । गत ३० वैशाखमा भएको स्थानीय निर्वाचनमा चौकुने माओवादीले जितेको छ । पञ्चपुरी नगरपालिका र बराहाताल गाउँपालिका कांग्रेसले जित्दा वीरेन्द्रनगर एमालेले जितेको छ । स्थानीय निर्वाचनमा वडाध्यक्ष उम्मेदवारले पाएको मतका आधारमा कांग्रेसको ३० हजार ६१२ मत छ । एमालेको मत ३१ हजार ४०७ रहेको छ । माओवादीले ११ हजार ७३१, राप्रपाले तीन हजार ५२७, एकीकृत समाजवादीले दुई हजार ९१ मत पाएको छ ।

सुर्खेतका प्रदेशसभाहरूमा पनि पार्टीका प्रभावशाली नेताहरू चुनावी मैदानमा छन् । सुर्खेत १ (क) मा गठबन्धनका तर्फबाट कांग्रेसका सुर्खेत सभापति खड्कप्रसाद पोखरेल र एमालेका ठम्बर विष्टबीच मुख्य प्रतिस्पर्धा देखिएको छ भने सुर्खेत १ (ख) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कृष्ण जिसी र एमालेका डण्डीप्रसाद शर्माबीच प्रतिस्पर्धामा हुनुहुन्छ ।

सुर्खेत २ (क) मा एमाले नेता यामलाल कँडेलसँग कांग्रेसका कालिप्रसाद शाक्य प्रतिस्पर्धामा हुनुहुन्छ भने २ (ख) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका विन्दमान विष्ट र एमालेका ताराकेशर गौतमबीच मुख्य प्रतिस्पर्धा छ ।

सुर्खेत २ मा अर्को रोचक पक्ष के छ भने प्रतिनिधिसभाको उम्मेदवार थानीलाई सहयोग गरेको नेकपा समाजवादीले सुर्खेत–२ का दुईवटै प्रदेशसभामा भने अलग्गै उमेदवार उठाएको छ । यो समीकरणको प्रभाव कस्तो पर्ला भन्ने कौतुहलता पनि सुर्खेतका मतदाताहरूमा छ । यसले सुर्खेत २ को निर्वाचनको गणितलाई हेरफेर गर्न सक्ने यहाँका मतदाताहरू बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?