पश्चिम नेपाललाई भूकम्पको ‘अलार्म’

सुदूरपश्चिम र कर्णाली प्रदेश भूकम्पको उच्च जोखिममा, डोटी भूकम्पमा परी ६ जनाको मृत्यु, १० घर भत्किए

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । मंगलबार राति सुदूपश्चिममा भूकम्पको धक्का महसुस गरियो । राति ९ बजेर सात मिनेटमा गएको भूकम्पले सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनीका केही जिल्लामा धक्का महसुस गरिएको थियो । डोटीको दीपायल केन्द्रविन्दु बनाएर ५.७ रेक्टर स्केलको भूकम्प गएको थियो । मंगलबार राति तर्साएको भूकम्प फेरि राति पनि गयो । जसले सुदूरपश्चिमका केही जिल्लामा जनधनको समेत क्षति गरेको छ । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका-३ को गैरा गाउँमा घर भत्किएर उनीहरूको ज्यान गएको हो । ज्यान गुमाउनेमा डोटी पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा, ४० वर्षीया भगवती बोहरा, १३ वर्षीया सीता बोहरा, आठ वर्षीय हर्क बोहरा, १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया तुलछी बोहरा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार अन्य ६ जना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गैरागाउँमा करिब १० घर भत्किएका छन् । भूकम्पको धक्का सुदूर र कर्णालीका अधिकांश ठाउँमा महसुस गरिएको थियो । डोटीका अन्य क्षेत्रमा पनि भौतिक संरचनामा असर परेको भए पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भोलाबहादुर रावलले बताउनुभयो । उहाँका अनुसार भूकम्पका कारण डोटीका छिमेकी जिल्लाहरू अछाम, बाजुरा र बझाङका विभिन्न ठाउँहरूमा घरहरू चर्किएका छन् । रातिको भूकम्पपछि पनि डोटीमा बुधबार बिहानसम्म निरन्तर भूकम्पको परकम्प गइरहेको स्थानीयले बताएका छन् ।

उद्धार र राहतमा खटिन सरकारको निर्देशन
भूकम्प प्रभावित डोटी लगायतका क्षेत्रमा उद्धार तथा राहतका काममा खटिन मातहतका निकायलाई सरकारले निर्देशन दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले घाइतेको उपचारको व्यवस्था मिलाउन पनि निर्देशन दिनुभयो । प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो । यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले डोटीको भूकम्पमा परी घाइते भएकाहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्न र घर भत्किएकाहरूलाई बासको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिनुभएको छ । उहाँले घाइतेको उपचारका लागि हेलिकप्टरको व्यवस्था गर्नुपर्ने भए तत्काल गर्न गृह प्रशासनलाई निर्देशन दिनुभएको हो । गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइतेको उद्धार तथा उपचारको प्रभावकारी व्यवस्था गर्न मन्त्री खाँणले निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ ।

दीर्घकालीन कार्ययोजना नबनाए पश्चिम नेपालले ठूलो क्षति व्यहोर्नुपर्छ : भूगर्भविद् डा. चौलागाईं
सुदूरपश्चिम र कर्णाली प्रदेश भूकम्पको उच्च जोखिममा रहेको छ । भूगर्भविद्हरूले सुदूरपश्चिम र कर्णाली भूकम्पको जोखिममा रहेको बताएका हुन् । भूगर्भविद् डा. दीपक चौलागाईंले सुदूरपश्चिममा भूकम्पको जोखिममा सबैभन्दा बढी बझाङमा रहेको बताउनुभयो । सुदूूपश्चिममा २०३७ सालमा बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको थियो । यस्तै, बैतडी, अछाम, डडेल्धुरा र कञ्चनपुरका चुरे पहाड पनि त्यतिकै मात्रमा भूकम्पको जोखिममा रहेको उहाँले बताउनुभयो । भूकम्पीय जोखिम न्यूनीकरणका लागि आपतकालीन, मध्यमकालीन तथा दीर्घकालीन कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले सुदूरपश्चिममा रहेका निजी आवासहरूलाई बेलैमा इञ्जिनियरिङ प्रविधि र प्रवलीकरणका प्रविधि प्रयोग गरेर बलियो नबनाए ठूलो जनधनको क्षति हुने बताउनुभयो ।

कर्णाली प्रदेशको चुरे तथा लेसर हिमालय क्षेत्र भूकम्पीय प्रकोपको उच्च जोखिममा रहेको पाइएको छ । विज्ञहरूले हिमालयको सबैभन्दा सक्रिय दरार पश्चिम नेपाल खण्डमा उत्पत्ति हुने बताएका छन् । डा. चौलागाईंले हिमालयको सबैभन्दा सक्रिय दरारको पश्चिम नेपाल खण्डमा भूकम्प उत्पत्ति हुने र चुरेको अग्रभागसम्म दरार उत्पन्न भई ८.५ म्याग्निच्युडको हुने परिदृश्य रहेको वैज्ञानिक अनुसन्धानले देखाएको बताउनुभयो । चौलागाईंका अनुसार कर्णाली प्रदेशका दैलेख, सल्यान, सुर्खेत र जाजरकोट उच्च भूकम्पीय प्रकोप भएका जिल्लामा पर्छन् । अनुसन्धानअनुसार नेपालमा सबैभन्दा बढी भूकम्पीय जोखिम रहेका जिल्लाहरूमा गुल्मी, बझाङ, प्युठान, बागलुङ, रोल्पा, अछाम, बैतडी, दैलेख, कालीकोट र धादिङ पर्दछन् । नेपालमा भूकम्पहरू प्रायः १० देखि ३० किमी गहिराइमा जाने गरेको छ । पछिल्लोपटक २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पले आठ हजार नौ सय ७० जनाको मृत्यु भएको थियो । नेपालमा पछिल्लो २२ दिनमा मात्रै ६ पटक भूकम्प गएको छ । यही कात्तिक २ गतेदेखि २३ गतेसम्म गरी बागमती र सुदूरपश्चिमका प्रदेशका विभिन्न ठाउँमा ६ पटक भूकम्प गएको हो ।

यता, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार २०३७ साउन १४ गते बझाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएयता सुदूरपश्चिम पहाडमा पहिलोपटक यति ठूलो भूकम्प गएको हो । मापन भएअनुसार बुधबार राति गएको, त्यो क्षेत्रमा रेकर्ड भएको (६.६ म्याग्निच्युड)को भूकम्प नेपालको पश्चिम (पोखराभन्दा पश्चिम) क्षेत्रमा अहिलेसम्म गएको सबभन्दा ठूलो भूकम्प हो । अधिकारी भन्नुहुन्छ, ‘२०३७ सालको भूकम्प मापन फरक थियो, त्यो भूकम्प अहिलेको भन्दा ठूलो थियो । २०३७ सालको भूकम्पमा १७० जनाको मृत्यु भएको थियो । एक हजारभन्दा धेरै घर भत्केका थिए । त्यसपछि २०५३ पुस २१ गते बैतडीलाई केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । भूकम्प तथा भूगर्भविद्हरूका अनुसार सन् १५०५ अर्थात् ५१७ वर्षयता नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प गएको छैन । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर गएको ७.८ म्याग्निच्युडको भूकम्प छुट्टै ‘टेक्टोनिक प्लेट’मा गएको थियो । त्यसकारण पनि पोखराभन्दा पश्चिम, भारतको देहरादून सम्मको भूभागमा कुनै पनि समय ठूलो भूकम्प जान सक्ने भूकम्पविद्हरू बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?