नेतामा मात्रै नैतिकता खोज्ने हो र ?

A A- A+

✍️ डा. शान्तिकृष्ण अधिकारी

चुनावले सबैलाई छपक्कै छोपिसकेको छ । पत्रपत्रिका, टेलिभिजन, रेडियोका प्रकाशन र प्रसारणहरू समर्थन र विरोधमा रंगिएका छन् । जति चुनाव नजिकिँदै गएको छ उति नै नेताहरूका चरित्रका बारेका चर्चा छताछुल्ल हुने क्रम बढ्दै छ । उम्मेदवार बनेकाहरूका नैतिकताका सन्दर्भका चर्चा परिचर्चाहरू यत्रतत्र सुनिन्छन् । यो नेता सदाचारी हो भन्दै प्रशंसा गर्ने र यो नेता भ्रष्टाचारी भन्दै औँला ठड्याउनेहरू प्रशस्तै भेटिन्छन् । कतिपयले आँखामा पट्टी बाँधेर अनुहारभरि कालो पोतिएको नेतालाई समेत आफ्नो भविष्यको तारणहार भन्दै काँधमा बोकेर हिँडेको पनि देखिन्छ । जसले जे भने पनि र जे गरे पनि बोल्दा भने नैतिकवान नेता चयन गर्नु नै मतदाताको अहं दायित्व हो भन्न भने छुटाउने गरेका छैनन् ।

हुन पनि हो, नेता भनेको सत्चरित्र भएकै मान्छे हुनुपर्दछ । सदाचारी मानिसले मात्रै नेतृत्व गर्न सक्दछ । नैतिकताको पालना पूर्णरूपेण गर्ने व्यक्तिमात्रै असल नेता बन्न सक्दछ । मुखमा राम राम बगलीमा छुरा भएको मान्छेले नेतृत्व गरेमा न देशको विकास हुन्छ न जनताको कल्याण नै हुन सक्दछ । बोलीमा सदाचारका कुरा गर्ने र कर्ममा भ्रष्टाचारमा लिप्त हुने नेताहरू भए भने जनता निरिह बन्दै जान्छन् साथै देश ओरालो लाग्दै तलतल झर्दछ । अर्थतन्त्र डाँवाडोल हुँदै गएर अव्यवस्था र अराजकता सिर्जना हुन पुग्दछ । राष्ट्रलाई गरिबीले ढाकेर जनतालाई भोकमरीका कारण मर्न बाध्य हुने अवस्था आउँदछ ।

अहिलेको कतिपय पश्चिमा मुलुकहरूकै व्यवस्था हेर्ने हो भने पनि ठूलाले कानुन तोडे सर्वसाधारणलाई भन्दा बढी मात्राको कारबाही हुन्छ । जति ठूलो पदमा रहेको छ उति नै बढी जरिवाना लाग्दछ । जो जति माननीय छ ऊ उति नै कानुन पालनामा सतर्क हुनुपर्दछ ।

त्यसैले हाम्रा पूर्वजहरूका पालामा जनताबाट अनुमोदित भएका मात्रै राजा हुने गर्दथे । राजाले युवराज घोषणा गर्दा पनि जनप्रतिनिधिहरूको सहमति लिएरमात्रै आफ्ना छोरालाई उत्तराधिकारीका रूपमा अघि सार्दथे । त्रेता युगमा राजा दशरथले रामलाई युवराज घोषणा गर्नका लागि जनप्रतिनिधिहरूको सभामा प्रस्ताव पेश गरेको उदाहरण रामायणमा पाइन्छ । सभाले कतै रामलाई युवराज स्वीकार नगर्ने त होइन भन्ने चिन्ताले दशरथलाई सताएको थियो । भावी राजाको व्यवहार, आचरण आदि कुराहरु जनप्रतिनिधिहरूले मूल्यांकन गरिरहेका हुन्थे ।

राजाका चार छोराहरू छन् भने पनि जेठाले नै युवराज बन्न पाउने भन्ने हुँदैनथ्यो । चारै छोरा खराब भए राजाको छोरा भएकै कारण कुनै एक युवराज बन्ने भन्ने अवस्था पनि थिएन । महाभारत कालमै हेर्ने हो भने पनि जनताका छोरालाई ल्याएर राजा बनाएको दृष्टान्त पाइन्छ । सार के हो भने असल व्यक्तिले मात्रै शासन गर्न पाउँदथे ।

अहिलेको कतिपय पश्चिमा मुलुकहरूकै व्यवस्था हेर्ने हो भने पनि ठूलाले कानुन तोडे सर्वसाधारणलाई भन्दा बढी मात्राको कारबाही हुन्छ । जति ठूलो पदमा रहेको छ उति नै बढी जरिवाना लाग्दछ । जो जति माननीय छ ऊ उति नै कानुन पालनामा सतर्क हुनुपर्दछ भन्ने मान्यता राखिएको छ । नो पार्किङमा सवारीसाधन रोकेकै कुरा गर्ने हो भने पनि कतिपय मुलुकमा सर्वसाधारणले तिर्ने जरिवानाभन्दा बढी जरिवाना मन्त्रीले तिर्नु पर्दछ । समग्रमा भन्नु पर्दा शासन गर्ने व्यक्तिले नैतिकताको पालना गर्नै पर्दछ र देशको नियम कानुनलाई अक्षरशः पालना गर्नुपर्दछ ।

हो पनि । मुलुकको सर्वोच्च व्यक्ति जनताको रोल मोडल बन्न सक्नै पर्दछ । देश हाँक्ने प्रधानमन्त्री सबैका निमित्त उदाहरणीय हुनै पर्दछ । प्रशासन चलाउने मन्त्री, सचिवहरूले सदाचारका माध्यमबाट आमनागरिकलाई नैतिकताको पाठ पढाउन सक्नै पर्दछ । जो अगुवा उही के भने जस्तो भयो भने न देश अगाडि बढ्छ, न जनता नै सुध्रिने अवस्था आउँछ । भाँडभैलो भएको देशमा झन् अव्यवस्था फैलने काम मात्र हुन जान्छ । गाँजा तान्दै गरेको जोगीले धूम्रपान स्वास्थ्यका लागि हानीकारक छ भनेर भक्तजनहरूलाई भन्नै सक्दैन ।

मुलुक सुधार्न नेताहरूमा मात्रै नैतिकता खोजेर कदापि पुग्दैन । आम जनताले पनि नेतामा आफूले जे खोजेको छ, त्यस्तै चरित्र प्रदर्शन गर्न सक्नै पर्दछ । भ्रष्टाचारको विरोध गर्ने सर्वसाधारण आफू पनि भ्रष्टाचारमा नमुछिएकै हुनुपर्दछ । अवसरका लागि पार्टी परिवर्तन गर्दै हिँड्ने नेतालाई औँला ठड्याउन जहिले पनि स्थिर राजनीतिको पक्षधरले मात्रै सक्दछ । सिद्धान्तहीन नेताहरूलाई प्रश्न गर्न सैद्धान्तिक विचलन नभएको नागरिकले मात्रै सक्दछ । आफैँमा कमजोर छ भने त्यस्तो मतदाताले सही नेता चयन गर्नै सक्दैन ।

नैतिकता भएको भनेको राम्रो आचरण भएको हो । नीतिअनुसार जो चल्दछ उसैलाई नै नैतिकवान भनिन्छ । त्यसैले नैतिकता अरूमा खोज्ने कुरो होइन, आफैँमा खोज्नुपर्दछ । सबैले आ-आफैँमा नैतिकता खोज्ने हो । यसो भएमात्र नेतादेखि सर्वसाधारणसम्म सबै सुध्रिने र सुधारिने अवस्था आउँछ । अरूमा मात्रै नैतिकता, सदाचार जस्ता विषय खोजियो भने त्यो सर्वस्वीकार्य हुन सक्दैन । त्यसैले नेतामा नैतिकता खोज्ने जनता आफैँ नैतिकवान हुन जान्नु पर्दछ ।

अहिले कतिपय राजनीतिक दलहरूका कार्यकर्ताका गतिविधि नै आश्चर्यजनक छन् । सक्रिय दलीय राजनीतिमा संलग्नका क्रियाकलाप नै अत्यन्त सन्देहास्पद देखिएका छन् । सरसर्ती हेर्दा कतै सबैले आफ्नो सामान्य नैतिक मूल्यमान्यतालाई पनि कायम गर्न नसकेका त होइनन् भन्ने प्रश्न उठ्न थालेको छ । नेताहरूलाई प्रश्न उठाउन पर्नेहरू आफैँ नै उत्तर दिनुपर्ने अवस्थामा उभिन थाले जस्तै देखिन्छ ।
नेपाली कांग्रेसको क्रियाशील सदस्य बिहानै उठेर गठबन्धनको भोट माग्न हिँडेको घरदैलो कार्यक्रममा सरिक हुन्छ । दिउँसो घरमा गएर सामाजिक सञ्जालमा आफ्नै पार्टीका विरुद्धमा सामग्री पोष्ट गर्दछ । साँझ चियापसलमा बसेर स्वतन्त्र उम्मेदवारको पक्षमा भोट माग्दै गरेको भेटिन्छ जबकि क्रियाशील सदस्य भनेको नेपाली कांग्रेसको प्रतिबद्ध अनुशासित कार्यकर्ता हो । उसले पार्टीको नीतिविपरीतको कार्य गर्न कुनै पनि नैतिकताले मिल्दैन । यदि नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयविपरीत गई अर्कै पार्टीका नेताको प्रचारप्रसारमा संलग्न हुने हो भने क्रियाशील सदस्यबाट राजीनामा दिनै पर्दछ जस्तो लाग्दछ । एउटा पार्टीको क्रियाशील सदस्य हुँदाहुँदै अर्कै दलका उम्मेदवार या स्वतन्त्रको प्रचारप्रसार गर्न कुन नैतिकताले मिल्छ र ?

नेपाली कांग्रेसका क्रियाशील सदस्यले मात्रै होइन, नेकपा एमालेका संगठित सदस्यले पनि यस्ता कार्य गर्न नमिल्नुपर्ने हो । नेकपा माओवादीका हुन् या नेकपा एसका वा अरू जुनसुकै पार्टीका भए पनि पार्टीको नीतिलाई मान्नै पर्ने हुन्छ । यदि असहमति छ भने त्यहाँबाट बाहिरिनु नै उत्तम विकल्प हो भन्ने कुरालाई मान्नुपर्दछ । अन्यथा सर्वसाधारणले चियापसलमा गफ गर्दा उडाइने पात्र आफैँ हुनुबाहेक केही हात लाग्दैन ।

निर्वाचनमा पार्टी चयन गर्ने स्वतन्त्रता जो कोहीलाई हुन्छ । पार्टीभित्रको असल मान्छे छान्ने र गलतलाई बहिष्कार गर्ने सुविधा जनतालाई छ । कुनै पनि पार्टी मन नपरे स्वतन्त्र उम्मेदवारलाई मतदान गर्ने अधिकार पनि मतदातासँग रहन्छ । मतदानै नगरी घरैमा बसे कसैले केही भन्न पाउँदैन । मतदान गर्ने ठाउँमा गएर आफ्नो मतलाई रद्द हुनेगरी खसाल्दा कसैले गाली गर्दैन । व्यक्तिगत स्वतन्त्रताको अधिकार संविधानले नेपाली नागरिकलाई दिएको छ तर आममतदाता र पार्टी कार्यकर्ताका बीचमा भने तात्विक अन्तर छ भन्ने ध्यान दिइए जस्तो लाग्दैन ।

पार्टीको सदस्यता लिएर आफ्नै पार्टीको बेइज्जत गर्दै हिँड्नु त्यति सुहाउने काम होइन । भोलि पार्टी सत्तामा गयो भने कुनै अवसर पाउँछु कि भन्ने आशा राख्दै पार्टीको सदस्यता कायम गर्ने र त्यही पार्टी हराउन हिँड्ने काम भने कुनै नागरिकका निम्ति उपयुक्त देखिँदैन । आफ्नो नैतिकता आफैँले जोगाउने धर्म नेताको मात्रै होइन, सबैको हो भन्ने ध्यान दिन जरुरी छ । नत्र भोलि नेतामाथि उठेका औँलाहरू असुहाउँदिला हर्कत गर्नेहरू माथि त तेर्सिन सक्दछ ।

उमेर छँदा बाबुआमा नपाल्ने छोराले बुढो भएपछि छोराछोरीबाट पालिने आशा ग¥यो भने त्यो बेकार नै हुन्छ । बैंसमा सासू कुट्ने बुहारीले बुढेसकालमा आफ्नी बुहारीबाट सेवा पाउने आशा गर्नु मूर्खता सिवाय के नै हुन्छ र ? त्यस्तै चुनावका बेलामा मतदाताले असल उम्मेदवारलाई मत नदिने र विभिन्न प्रलोभनमा फसी गलतलाई छान्ने हो भने भावी पुस्ताको भविष्यमा खेलबाड गरेभन्दा अरू केही हुने छैन । आफ्नो विवेक प्रयोग गर्नुको सट्टा अनैतिक कार्यमा फस्ने हो भने चुनावपछिका दिनमा रुनु सिवाय ऊसँग अर्को के नै विकल्प बाँकी रहन्छ र ? यो समय अत्यन्त सचेत हुनुपर्ने बेला हो ।

आफ्नो नैतिकता आफैँले जोगाउने धर्म नेताको मात्रै होइन, सबैको हो भन्ने ध्यान दिन जरुरी छ । नत्र भोलि नेतामाथि उठेका औँलाहरू असुहाउँदिला हर्कत गर्नेहरू माथि पनि त तेर्सिन सक्दछ ।

पार्टीको सदस्यै भए पनि एउटा कुरामा भने सचेत हुनै पर्ने देखिन्छ । भ्रष्टाचारमा नाम कमाएर चर्चित भएकालाई त कसरी जिताउनु ? संविधानलाई धुजाधुजा पार्न उद्यतहरूलाई त के आधारमा मत दिनु ? चुनाव जितेपछि जनताप्रति पूर्णरूपमा उदासीन भएकालाई त कसरी फेरि समर्थन जनाउनु ? अपहरण आदि कार्यमा संलग्न भएका पनि उम्मेदवार छन् भने पार्टीकै मान्छे भए पनि के गर्नु ?

हिजोसम्म एउटा पार्टीको सदस्य थियो र आज सिर्फ अवसरकै लागि आफ्नो पार्टीमा आएर उम्मेदवार बनेको छ भने त कसरी सम्मान प्रकट गर्नु र ? जनसेवीभन्दा धनसेवी या डनसेवीलाई पार्टीले योग्य ठानेको छ भने त कार्यकर्ता नै पनि विवेकको बन्धक कसरी हुन सक्ला र ? अन्यथा आफ्नो नाम परेन या आफ्नो निकटकाले टिकट पाएनन् भनेर ठुस्सिनुमा कुनै अर्थ देखिँदैन ।

पैसा मागेर भोट बिक्री गर्ने मतदाता पनि छन् भन्ने सुनिन्छ । बिहान बेलुकाको मासु चिउरामा आफ्नो भोट बन्धकी राख्नेहरू पनि भेटिने गरेका छन् भन्ने जानकारीमा आएको छ । यसो गरियो भने आफूलाई त बेचियो नै भोलि नेताका गलत क्रियाकलापमा आवाज उठाउने अधिकार पनि गुम्दछ । त्यसैले यस्ता कार्यहरू पूर्णतः अनैतिक हुने हुँदा यदि कोही नेताले यस्तो अफर गर्छ भने त्यस्तालाई खेद्नु मतदाताको कर्तव्य हो भने नैतिकतापूर्ण राजनीतिको जग बसाल्न प्रतिबद्ध रहनु दलहरू र नेताहरूको धर्म हो ।

बाढीका पछि लाग्ने बेला होइन यो । लहर त जसको जुनबेला पनि आउँन सक्दछ । चर्चाको शिखरमा जो कोही विभिन्न कारणले पुग्न सक्दछ । बाढी र खहरे आउने र तत्काल हराउने हुन्छन् । नदी र खहरेका बीचका अन्तर थाहा पाउन सक्नुपर्दछ । अरूका हौवापछि लागेर एक मत दिइयो भने आफ्नै भोलि बिग्रन सक्दछ । त्यसैले आउँदो मंसिर चार गतेको निर्वाचनमा देशका लागि लडेको, जनताका लागि संघर्ष गरेको, आमनागरिकको स्वतन्त्रताका लागि क्रियाशील, नागरिक अधिकारका लागि सक्रिय, संविधान, ऐन र कानुनको रक्षार्थ जनउत्तरदायी नेता चयन गर्न सक्नु नै आममतदाताको सफलता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?